तमुल्होसार पर्वका अवसरमा सभामुख र अध्यक्षद्वारा शुभकामना – Nepal Press

तमुल्होसार पर्वका अवसरमा सभामुख र अध्यक्षद्वारा शुभकामना

काठमाडौं । सभामुख देवराज घिमिरेले तमुल्होसार पर्वले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवद्र्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले आज तमुल्होसार, २०८१ को पावन अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको काममा गर्दै उक्त शुभकामना व्यक्त गरेका हुन् ।

“नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, संविधानको मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएकोबारे हामी सबै जानकार नै छौँं”, सन्देशमा भनिएको छ, “हाम्रा पर्वहरूले नागरिकस्तरमा पनि विविधतामा एकता कायम गर्न र सामाजिक सद्भावलाई सुदृढ बनाउन सहयोग गरेका छन् ।”

यो पर्व गुरुङहरूको नयाँ वर्षको आगमनलाई सङ्केत गर्ने दिनको रूपमा मनाइन्छ । गुरुङ समुदायले १२ वर्षमा १२ वटा जनावरको नामबाट ल्हो (वर्ष) चक्र निर्धारण गरेका छन् ।

यो नयाँ ल्होको स्वागत गर्ने पर्व हो । यस पर्वले गुरुङ समुदायको सांस्कृतिक पहिचान, एकता र परम्परालाई जीवन्त राख्न भूमिका खेलेको छ ।

सभामुख घिमिरेले तमुल्होसार पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ । तमुल्होसार गुरुङ समुदायको प्रमुख पर्व हो ।

यस्तै, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको रूपमा मनाउने ल्होसाररल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

तमु ल्होसारले आफ्नो समुदायको परम्परागत संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा विशिष्ट भूमिका खेलेको छ । यस पर्वमा तमु समुदायले आफ्नो भेषभुषा, पहिचान र संस्कारसहित जमघट हुने, गोष्ठी, प्रवचनका साथै नाचगान गर्ने र विभिन्न परिकार बनाएर खाने प्रचलन छ ।

संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतालाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

सबै जातजाति र समुदायका नेपाली जनताबीच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन तमु ल्होसारले प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर