किरण बज्राचार्यको अवकाशसँगै प्रहरीमा दुई एआईजी रिक्त, तीन प्रतिस्पर्धी दौडधुपमा – Nepal Press

किरण बज्राचार्यको अवकाशसँगै प्रहरीमा दुई एआईजी रिक्त, तीन प्रतिस्पर्धी दौडधुपमा

काठमाडौं । आज राति १२ बजेपछि नेपाल प्रहरीमा एआईजी दर्जाको थप एक दरबन्दी रिक्त हुँदैछ । त्यसपछि एआईजीमा दुई दरबन्दी खालि हुनेछ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख किरण बज्राचार्य ५६ वर्षे उमेर हदका कारण आज रातिबाट अवकाश भएसँगै रिक्त संख्या दुई पुग्न लागेको हो ।

यसअघि पुस ४ गते एआईजीको दर्ज्यानी चिह्न (फुली) लगाएका भरतबहादुर बोहरा उमेर हदकै कारण ११ गतेदेखि अवकाश भएका थिए ।

दुई एआईजी रिक्त भएपछि उक्त दर्जामा बढुवाका लागि मुख्यतः तीन प्रतिस्पर्धी तयार छ । चैत ४ गते रातिबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने वर्तमान आईजीपीका तीन व्याचीबीच बढुवाको प्रतिस्पर्धा चलेको हो । त्यसमा रवीन्द्र केसी, कुवेर कडायत र जनक भट्टराई छन् ।

केसी वरिष्ठताका आधारमा बढुवा निश्चित प्रायः अवस्थामा छन् । कडायत र भट्टराईबीच को छ्नौटमा पर्ने हुन् भन्ने कुरा शक्तिकेन्द्रमा कसको बढी पहुँच छ भन्नेमा निर्भर हुन्छ ।

पीडामा पोषराज

व्याचीहरु अवकाशको मुखमा बढुवा हुँदै घर गइरहँदा एआईजी सिफारिस भएर पनि बढुवा नपाएका पोषराज पोखरेल अदालतमा मुद्दा धाइरहेका छन् ।

उनी असार १० गते बढुवाका निम्ति सिफारिस भएका थिए । तर, सिफारिस गर्ने सरकार एक सातामै ढलेका कारण उनको बढुवा स्वीकृत हुन पाएन । २० गते रातिबाट उनले उमेर हदका कारण अवकाश पाए ।

उनले बढुवा स्वीकृतिको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । त्यसको पेसी फागुन ८ गते तोकिएको छ । ‘म अन्यायमा परेको छु, न्याय पाउने आश छ’, पोखरेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर