नागार्जुनका मेयर बस्नेत स्वतः निलम्बित, उपमेयर सुशीला अधिकारी बनिन् कार्यवाहक मेयर – Nepal Press

नागार्जुनका मेयर बस्नेत स्वतः निलम्बित, उपमेयर सुशीला अधिकारी बनिन् कार्यवाहक मेयर

काठमाडौं । नागार्जुन नगरपालिकामा दुईपटक निर्वाचित भएका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि मेयर पदबाट स्वतः निलम्बन भएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका प्रभावशाली नेता बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी पङ्क्तिमा तरंग उत्पन्न भएको छ । मेयर बस्नेत निलम्बनमा परेसँगै नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ ।

नागार्जुनको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी छिन् । मेयर निलम्बनमा परेसँगै उपमेयर अधिकार स्वतः कार्यवाहक मेयर बनेको नगरपालिका प्रवक्ता महेश रिमालले बताए । अधिकारी पनि दोस्रो पटक उपमेयर निर्वाचित भएकी हुन् ।

गत स्थानीय तह निर्वाचनमा कांग्रेसले ५ दलीय गठबन्धनबाट मेयरसहित ५ वडाध्यक्ष जितेको थियो भने एक्लै लडेको एमालेले उपमेयरसहित ४ वडाध्यक्ष जितेको थियो । राप्रपाबाट निर्वाचित वडाध्यक्ष रिमाल भने नगरपालिकाको प्रवक्ता छन् ।

मेयर बस्नेतमाथि २२ करोडभन्दा माथि बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर