सिन्धु एमालेमा ७ महिनादेखि भद्रगोल, नेताका हिसाब नमिल्दा कार्यकर्ता अन्योल
सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशन सकिएको सात महिना पुरा भए पनि हालसम्म कुनै विभाग नै गठन हुन सकेको छैन । केही दिनअघि सम्पन्न जिल्ला कमिटीको बैठकले विभाग,सचिवालय लगायत उप समिति गठन गरेर एमालेलाई चलायमान बनाउने अपेक्षा कार्यकर्ताहरूले गरे पनि बैठक आरोप प्रत्यारोपमा नै सकिएको छ ।
जिल्ला इन्चार्ज र अध्यक्ष एउटा टिम र उपाध्यक्ष सहित पदाधिकारीको टिम बिचमा समन्वय हुन नसक्दा एमाले सिन्धुपाल्चोकमा भद्रगोलको अवस्था बनेको कार्यकर्ता बताउँछन् । जिल्ला अधिवेशनमा दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।
जिल्ला अध्यक्षमा केन्द्रीय सदस्य सरेश नेपाल प्यानलबाट होमनारयण श्रेष्ठ निर्वाचित भएका थिए भने उपाध्यक्ष, सचिव र दुई उप–सचिव अर्को प्यानलबाट निर्वाचित भएका थिए ।
अधिवेशनपछि नयाँ नेतृत्वले एमाले सिन्धुपाल्चोकलाई एकताबद्ध बनाएर लैजान नसकेको बागमती प्रदेश कमिटी सदस्य निमफुञ्जो शेर्पाले बताए । जिल्ला नेतृत्व र इन्चार्जले पार्टी भित्र फरक मत राख्नेहरूलाई कत्लेआम गरेर कारबाहीका लागि माथिल्लो कमिटीमा सिफारिस गर्ने, नेतृत्वको आलोचना गर्दा बैठकमा नै नबोलाउने जस्ता प्रवृत्ति मौलाएको उनको आरोप छ ।
अधिवेशन सकिएपछि हालसम्म तिन वटा मात्रै जिल्ला कमिटीको बैठक बसेको छ । नेकपा एमालेको विधानको धारा ७० अनुसार प्रदेश तथा जिल्लाको दुई महिना र सो मातहतका कमिटीको बैठक एक महिनामा नबढाई गर्नुपर्ने व्यवस्था छ । तर सिन्धुपाल्चोकमा भने अधिवेशन पछि जम्मा तिन पटक मात्रै बैठक बसेको एमाले जिल्ला सचिव कृष्णगोपाल तामाङले जानकारी दिए ।
२०८० चैत १, १६ र १७ मा जिल्ला अधिवेशन सम्पन्न भएपछि पहिलो बैठक २०८१ वैशाख २ गते भएको थियो । त्यतबेला बैठक भन्दा पनि नयाँ निर्वाचितहरूको शपथ कार्यक्रम थियो । शपथ सकिएपछि जिल्ला कमिटीको बैठक पनि बसेको जिल्ला सचिव तामाङले बताए ।
दोस्रो बैठक साउन ११ र १२ गते भएको थियो भने तेस्रो बैठक पुस १० गते भएको थियो । दोस्रो बैठकमा जिल्ला अधिवेशनमा उपाध्यक्ष,सचिव र उप-सचिवमा उम्मेदवारी दिएर प्रत्याशी भएका तीन जनालाई मनोनीत गर्ने अध्यक्षले प्रस्ताव गरे पनि निर्णय भएको थिएन ।
तर अध्यक्ष श्रेष्ठले सर्कुलर पठाउँदा तिनै जनालाई मनोनीत गरेको भनेर पठाएको जिल्ला सचिव तामाङले जानकारी दिए । ‘अध्यक्षज्यूले सर्कुलर पठाउँदा तीनजना मनोनीत भनेर पठाउनु भएको रहेछ, तर माइन्युटमा निर्णय भने भएको छैन’ सचिव तामाङले भने- ‘जिल्लाले निर्णय गरेको माइन्युट प्रदेशमा नपठाएपछि प्रदेशबाट पनि मनोनीतको कुनै निर्णय भएको छैन ।’
अध्यक्ष र अरू पदाधिकारीको कुरा कहाँ मिलेन ?
जिल्ला कमिटीको बैठकमा उपाध्यक्षसहित पदाधिकारीहरूले विधि बनाएर कार्य विभाजन गरेर जान अध्यक्ष होमनारायण श्रेष्ठसँग प्रस्ताव राखेका छन् । अध्यक्ष श्रेष्ठ भने मनोनीत गरिएका भनिएका तीन जनालाई सचिवालयमा ल्याएर विभागीय जिम्मेवारी दिने पक्षमा छन् ।
सकेसम्म सचिवालयमा बहुमत हुने गरी ल्याउने कसरतमा अध्यक्ष श्रेष्ठ भए पनि पदाधिकारीहरू भने त्यसो गर्न नदिने पक्षमा छन् । अध्यक्षसहित पदाधिकारीहरू र यसअघि जिल्ला सचिवालयमा भएकाहरूलाई सचिवालयमा ल्याएर सानो आकारको सचिवालय बनाउनु पर्ने पक्षमा अन्य पदाधिकारीहरू छन् ।
जिल्ला अधिवेशनमा उपाध्यक्षका प्रत्याशी भएका विजयकृष्ण श्रेष्ठ,सचिव यज्ञराज सापकोटा र उप–सचिव शोभा कार्कीलाई जिल्ला कमिटीमा मनोनीत गरेर सचिवालयमा ल्याउने तयारी अध्यक्ष होमनारयण श्रेष्ठ र जिल्ला इन्चार्ज सरेश नेपाल रहेको एमाले स्रोतले जनाएको छ ।
अहम नराखी खुरूक्क मिल ।तिमीहरूले गर्दा तस्कर, गुण्डा काँग्रेस माओवादीहरूको चुरीफुरी सहिनसक्नु भैसक्यो ।
जात्रा नदेखाए नि हुने नि । तिमिहरु सबै एमाले बनन हो । गुटिया राजनिती गरेउ भने पत्तासाफ हुने छौ । गुटका लागि जे पनि गर्न लागेउ भने जनता तथा कार्यकर्ता तिम्रा पछि लागिरहन्छन भन्ठानेको होलाउ ।