वसन्तपुरमा प्राणी शास्त्र अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन
पारिस्थितिक प्रणालीको संरक्षण मुख्य सवाल : मुख्यमन्त्री आचार्य
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरणीय सन्तुलन कायम राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताएका छन् ।
पाल्पाको वसन्तपुरमा प्राणी शास्त्र सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सोमवार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताए ।
‘वातावरणीय सन्तुलन जरुरी छ । पारिस्थितिक प्रणालीलाई जोगाउन छ । यसका लागि लुम्बिनी प्रदेशमा यहाँहरूले गर्ने खोज अनुसन्धानबाट प्राप्त नतिजालाई आधार मानेर सरकारले आफ्ना नीति, कार्यक्रम बनाउँछ’ उनले भने, ‘लुम्बिनी प्रदेश जैविक विविधताले धनी छ । यसलाई बचाइराख्न जरुरी छ । लोपोन्मुख जीवजन्तुको संरक्षण जरुरी छ । मानिस जीवनको अस्तित्व जोगाउन पनि पारिस्थितिक प्रणाली संरक्षण गर्न जरुरी छ ।’
विकास र समृद्धिको आधारको रूपमा वातावरणीय क्षेत्र रहेको, यसको संरक्षण र मितव्ययी सदुपयोगबाट दिगो विकासको आधार निर्माण गर्न सकिने बताउनु बताए ।
प्राणी शास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा नेशनल कंग्रेस अफ जोलोजी सुरु भएको छ । प्राज्ञिक, वैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरुलाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निश्कर्ष प्रस्तुत गरिएको नेपाल जोलोजिकल सोसाइटिका अध्यक्ष प्राध्यापक प्रा।डा। महेन्द्र महर्जनले बताए ।
सम्मेलनमा जैविक विविधता र पारिस्थितिक प्रणाली, मानव वन्यजन्तु द्वन्द्व र न्यूनीकरण लगायतका विषयमा छलफल भइरहेको छ । सम्मेलनमा देशभरबाट १५० भन्दा बढी प्राणी शास्त्रीहरुको सहभागिता रहेको छ ।
प्राणीशास्त्री र अनुसन्धानकर्ताहरू लुम्बिनी केबलकारको यात्रा मार्फत माथिल्लो स्टेशन वसन्तपुरमा सम्मेलन गरी प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर दर्शन समेत गरेका छन् ।