च्यास्मिटारको तासको खाल, एक हजार युवाको भविष्यको सवाल
घामको झुल्कोसँगै फैलन्छ जुवाडेको कहानी- शैक्षिक स्तर खस्कँदो, चर्च र मन्दिरमा लगानी
बिहानको घाम कलिलै थियो । खुल्ला आँखाले सीधा हेर्न सकिन्थ्यो । पटुकीमा पोकापाकी पारिएको एक टुक्रा रोटी खुवाएर सन्तान हुर्काएकी मेरी आमाले निधारको बीच्चमा लगाएको रातो टीका जत्रो मात्रै देखिएको थियो घाम । अनिकालले बटारेको आन्द्रालाई साक्षी राखेर स्तनपान गराएकी मेरी आमाको फुटेको कुर्कुच्चाले बनाएको गोलो-गोलो डोब जत्रो मात्रै देखिएको थियो घाम ।
म उभिएको पृथ्वीलाई आफू वरिपरि अरबौं वर्षदेखि फनफनी घुमाइरहेको घाम आगोको रातो डल्लाजत्रो मात्रै देखिएको थियो । मेरो ८१ वर्षीय उपो (बाजे) ले ङासी (जाँड) पिउने डबकाभन्दा ठूलो देखिएको थिएन घाम । केही वर्षअघि गाउँमा आइपुगेको बिजुलीको रातो बल्ब जस्तो मात्रै देखिएको थियो ।
घडीको सुईले बिहानको सवा छ बजाएको थियो ।
म काठमाडौं जाने तरखर गर्दै थिएँ । काठमाडौंका लागि कान्छी आमाले भुटेको मकै भटमास, फर्सीको बियाँ, बिमिरा, सुठनी लगायत खानेकुरा बोरामा पोको पारिदिएकी थिइन्, बोरालाई बोकेर हिँड्न मात्रै बाँकी थियो । अलि अगाडि आहालमा काठमाडौं ल्याइपुर्याउन विद्युतीय गाडी तयारी अवस्थामा थियो, गाडीको ढोका खोलेर कुर्सीमा बस्न मात्रै बाँकी थियो ।
अलि तल जल्केनीबाट खानेपानी लिएर आएकी कान्छी आमाले गाउँको ब्रेकिङ समाचार सुनाइन्, ‘अलि परको गाउँ छोर्दिपामा फलानोले एक रातमा ३५ हजार तासमा हार्यो अरे !’
जुन गाउँमा जुवाघरको साटो सानै भए पनि लाइब्रेरी हुनुपर्ने थियो । जुन गाउँमा मान्छेहरूका हातमा तासका पत्तीहरु होइनन्, किताबका पन्नाहरू हुनुपर्ने थियो । जुन गाउँमा तासको खेल हेरेर ताली पिट्ने दर्शकहरूले कुनै बच्चाको प्रतिभाको प्रदर्शनी हेरेर ताली पिट्नुपर्ने थियो ।
जब कि नेपालीहरूको वार्षिक प्रतिव्यक्ति आम्दानी चानचुन एक लाख ९० हजार हो । अर्थात् नेपालको कूल राष्ट्रिय आयलाई नेपालको जनसंख्याले भाग लगाउँदा प्रतिव्यक्ति आम्दानी निस्कन्छ । यसको मतलव हो राष्ट्रिय आय अनुसार मासिक १५ हजार ८०० रूपैयाँले एक नेपाली बाँच्नुपर्छ । तर, एक रातमै ३५ हजार रूपैयाँ हान्नु भनेको पैसा धेरै भएर होइन, आर्थिक ज्ञान नभएर हो ।
एउटा गाउँमा दुई-चार जनाबीच जुवातासमा भएको हारजीतको खबर कसरी अक्षर नछिचोलेकी एक महिलाले थाहा पाइन् ? पान र सुरत भनेको के हो भनेर थाहा नपाउने महिलाले कसरी यस्तो खबर थाहा पाइन् ? अचम्म लाग्यो ।
रातै कटाएर जुवाडेहरूले खेलेको तास खेलको खबर घाम उदाउनुअघि नै पँधेरो हुँदै गाउँभरमा फैलिएको थियो ।
यो घटनाको घटनास्थल हो,- हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार । पूर्वमा हलेसी महादेव, उत्तरमा दूधकोशी, पश्चिममा भुम्जु डाँडा र दक्षिणमा सुनकोसीले घेरिएको च्यास्मिटारमा हरेक दिन घट्ने घटनामध्ये एक प्रतिनिधि घटना रहेछ यो । घटनाबारे सुन्दाखेरि नै अचम्म लाग्यो ।
सुरुवातमा त यो घटनालाई मैले सामान्य रूपमा लिएँ ।
तर, जति जति यो घटना दिमागमा खेल्दै गयो, उतिउति म घटनाबारे सोचमग्न हुँदै गएँ । यो घटनाले मेरो अवचेतनमा भने नराम्रोसँग हिर्काएछ । अहिलेसम्म पनि म यही घटनाको वरिपरि रुमल्लिएको छु ।
अहो ! जुन गाउँमा जुवाडेहरूको हारजीतको खबर कलिलो घामलाई साक्षी राखेर ‘हटकेक’ बन्छ । खबरसँगै दिनको सुरुवात हुन्छ । अनि खबरसँगै फैलन्छ, ‘फलानोले यति हान्यो रे !’ ‘फलानोले ३ वर्षमा यति जित्यो रे !’ यस्तो खबर फैलने गाउँ शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडि नपरेर कस्तो गाउँ पछाडि पर्छ त ?
एउटा गाउँमा दुई-चार जनाबीच जुवातासमा भएको हारजीतको खबर कसरी अक्षर नछिचोलेकी एक महिलाले थाहा पाइन् ? पान र सुरत भनेको के हो भनेर थाहा नपाउने महिलाले कसरी यस्तो खबर थाहा पाइन् ? अचम्म लाग्यो ।
जुन गाउँमा ‘फलानोले यो विषयमा डिग्री हासिल गर्यो रे’ भन्ने खबर फैलनुपर्ने थियो । जुन गाउँमा ‘फलानोको छोरा नाति प्राध्यापक भयो रे, डिग्री गर्नेहरूलाई पढाउँछ रे’ भन्ने खबर फैलनुपर्ने थियो । वा जुन गाउँमा ‘फलानोले कृषि र पर्यटनमा यस्तो प्रगति गर्यो रे’ भन्ने खबर फैलनुपर्ने थियो !
जुन गाउँमा जुवाघरको साटो सानै भए पनि लाइब्रेरी हुनुपर्ने थियो । जुन गाउँमा मान्छेहरूका हातमा तासका पत्तीहरु होइनन्, किताबका पन्नाहरू हुनुपर्ने थियो । जुन गाउँमा तासको खेल हेरेर ताली पिट्ने दर्शकहरूले कुनै बच्चाको प्रतिभाको प्रदर्शनी हेरेर ताली पिट्नुपर्ने थियो ।
तर, जुन गाउँमा गाउँकै गन्नेमान्य मान्छेहरू हरेक दिन तुवातासको खालमा भेटिएपछि त्यो गाउँ पछाडि नपरेर कुन गाउँ पछाडि पर्छ त ? गाउँकै आदर्श मानिएका व्यक्तित्वहरू (जसलाई हेरेर बच्चाहरूले भविष्यमा के बन्ने भनेर निर्णय लिन्छन्) नै त्यस्तो हालतमा भेटिएपछि त्यो गाउँ नबिग्रेर कुन कुन गाउँ बिग्रन्छ त ?
कान्छी आमाले पधेँरोबाट पानीसँगै लिएर आएको हारजीतको खबरमा मुख्य पराजित खेलाडी मेरो स्कुले साथी थियो । जोसँग हातमा किताब च्यापेर हतारहतार स्कुलको पिटी भ्याउन दगुरेको स्मृति तजोताजा छ । ४, ५, ६ हुँदै नौ, दश कक्षा सँगै पढेका थियौं । हाम्रो कक्षाकोठामा विद्यार्थीभन्दा किताबको संख्या धेरै, किताबको संख्याभन्दा होमवर्कको सूचि धेरै हुन्थ्यो ।
हुँदाहुँदा हामीले २०६७ सालमा एसएलसी दियौं ।
८४ जनाले एसएलसी दिएका थियौं । यसपछि धेरै साथीहरूले दुःख र बाध्यताका कारण थप पढ्न पाएनन् । धेरै साथीहरु पढाइको महत्व नबुझेर पढ्न सकेनन् । धेरै साथीहरुलाई पढाइको महत्व नबुझाइएकाले थप पढ्न सकेनन् । धेरै साथीहरूलाई गाउँको माहौलले थप पढ्नलाई रोकिदियो ।
खासमा सपना देख्नलाई पनि चेतना चाहिने रहेछ । सपना देख्नका लागि घर र समाजको वातावरण राम्रो हुनुपर्ने रहेछ । पढ्नुपर्छ, पढेको मान्छे समाजमा चाहिन्छ भन्ने चेतनाले गाउँको हरेक ढोका नढकढकाएसम्म गाउँको सिंगो भविष्य तासका पत्तीहरुमा फिटिने रहेछ ! बाटो देखाउने मान्छेहरु नै गलत बाटोमा भएपछि सिंगो गाउँ नै अँध्यारोतर्फको यात्रामा निस्कँदो रहेछ ।
किशोरहरुले पढाइको साटो गाउँका गन्नेमान्यसँग ‘पार्टनर’ बनेर जुवातास खेल्न पाए, त्यसैमा मख्ख भए । सानै उमेरमा गाउँकै प्रतिष्ठित व्यक्तित्वहरूसँग बसेर तास खेल्न पाएपछि सायद उनीहरुको किशोर मनोविज्ञानमा पर्यो, ‘ठूला मान्छेहरूसँग संगत भएकै छ, अब थप किन पढ्नुपर्यो !’ जब कि कथित् ठूला व्यक्तित्वहरूसँगको तासघरको संगत र अनुभव वास्तविक जीवनमा कतै पनि काम लाग्दैनथ्यो । तर, यसरी सम्झाउने कसले ? गनिएका/चिनिएका मान्छेले नै तास खेल्न प्रोत्साहन गर्ने रहेछन् । तिनैले खेल्नका लागि वातावरण बनाइदिने रहेछन् । तास खेल्नका लागि सहजै ऋण पनि पाइने रहेछ ।
भनिन्छ नि, बच्चाहरू भनेको काँचा माटा जस्तै हुन्, उनीहरूलाई जे बनायो त्यही बन्छन् । अनि काँचा माटालाई भाँडो बनाइदिने कुमालेहरूले बच्चाहरूलाई तासको खालमा ताससँगै फिटिदिएपछि उनीहरु जुवाडे बाहेक के बन्छन् त !
मेरो ब्याचका अधिकांश साथीहरू आज नेपालमा छैनन् । अधिकांश खाडीमा छन् । नेपालमा भएकाहरू पनि शारीरिक मजदुरको रूपमा ज्यालादरीमा काम गरिरहेका छन् । पढलेखको क्षेत्रमा एकदमै नगण्य छन् । मेरै ब्याजका ८४ जनामा सायद एक/दुई जना मात्रै पढेलेखको क्षेत्रमा छन् ।
२०६७ सालको मेरो ब्याजका साथीहरू मात्रै होइनन्, यसपछि आउने ब्याचहरूले पनि पढाइलाई निरन्तरता दिएनन् । च्यास्मिटार उच्च माध्यामिक विद्यालयबाट अहिलेसम्म मसहित १५ ब्याचले एसएलसी र एसईई दिइसके । १५ ब्याचबाट कम्तीमा एक हजार विद्यार्थीले एसएलसी र एसईई दिए ।
यो एक हजार संख्या भनेको सानो संख्या होइन । अबको १५ देखि २० वर्षको अन्तरालमा यो पुस्ताले आफूले छनोट गरेको पेशागत क्षेत्रमा नेतृत्व लिनेछन् । कर्पोरेट दुनियाँदेखि ब्युरोक्रेसीको नेतृत्वको दौडमा यही पुस्ता हुनेछ । सुरक्षा निकायदेखि राजनीतिक क्षेत्र यही पुस्ताको निर्णयमा भर पर्नेछ । व्यवसायदेखि शैक्षिक क्षेत्रको भविष्य यही पुस्ताले आफ्नो काँधमा बोकेर हिँड्नेछ ।
तर, च्यास्मिटारमा भने यही पुस्ताको भविष्य तासको खालमा सकिँदै गएको रहेछ । ज्ञानको क्षेत्रमा गर्नुपर्ने लगानी म्यारिज र फलाँसमा गरिएको छ । यसैको परिणति हो, हरेक दिन न्यूनतम पारिश्रमिकमा अरब उड्ने जहाजमा मेरो गाउँको एक न एक युवा भेटिनु । एक हजार बढीले एसएलसी/एसईई दिए पनि गाउँमा ब्याचलर्स पास गरेको मेरो पुस्ता भेटिन गाह्रो छ । शिक्षाको क्षेत्रमा सक्रिय रहेकाहरू त हातका दश औंलाभन्दा कम छन् ।
बितेको डेढ दशकको समीक्षा गर्ने हो भने मेरो वडाको शैक्षिक स्तर दिनदिनै खराब हुँदै गइरहेको तथ्यांकले नै देखाउँछ । अनि यही खराबीमा राजनीतिकर्मीहरू खुलेआम खेलिरहेको प्रमाण प्रशस्तै भेटिन्छन् । मन्दिरका नाममा लाखौं बजेट पालिकाले वार्षिक रूपमा छुट्याएको तथ्यांक छ । चर्चका नाममा लाखौं बजेट छुट्याइएको छ । यसरी बजेट छुट्याइनुको नियत सबैले बुझ्छन्,- भोटका लागि !
चालू आर्थिक वर्षमा वडामा आउने ३५ लाख बजेटकै विनियोजनमा मुख्य प्राथमिकतामा देवीका थान र चर्चहरू छन् । बलिदान मण्डली व्यवस्थापन भनेर एक लाख ५० हजार छुट्याइएको छ । इमानिसी मण्डली भवन निर्माण भनेर दुई लाख ५० हजार बजेट छुट्याइएको छ । मन्दिरतिर सेतीदेवी र मकालीदेवी घेराबार शिर्षकमा एक–एक लाख गरेर दुई लाख बजेट छुट्याएको छ । चर्च र मन्दिरका नाममा मात्रै छ लाख बजेट छुट्याइएको छ ।
छ लाख भनेको ३५ लाख बजेटको १७ दशमलब १४ प्रतिशत हो । शिक्षाको नाममा शौचालय निर्माण र विद्यालयको भवन मर्मत भनेर चार लाख बजेट छुट्याइएको छ । जब कि विगत डेढ दशकदेखि शैक्षिक स्तर भने निरन्तर खस्कँदो छ । च्यास्मिटारको शैक्षिक अवस्था किन यस्तो छ ? न जनप्रतिनिधिलाई चासो छ, न समाजका अगुवा भनाउँदाहरूलाई !
जुन ठाउँमा शिक्षामा गर्नुपर्ने लगानी मन्दिर र चर्चजस्ता अनुत्पादक ठाउँहरूमा गरिन्छ, त्यो ठाउँ कसरी चेतनशील बन्न सक्छ ? ‘बच्चा जन्मनु भनेको जैविक प्रक्रिया हो’ भनेर बुझाउनुको साटो ‘भगवानले दिएको उपहार हो’ भन्ने चेतनामा मान्छेहरुलाई बाँच्न बाध्य पारिने गाउँ कसरी आर्थिक रुपमा अगाडि बढ्न सक्छ ? आकाशमा बादल छाउनु, पानी पर्नुमा वैज्ञानिक कारणहरु छन् भनेर बुझाउनुको साटो ‘परमेश्वरले पानी पारिदिएको हो’ भन्ने अन्धविश्वासमा गुज्रिरहेको गाउँ कसरी शैक्षिक रूपमा अगाडि बढ्न सक्छ ?
उल्लेखित च्यास्मिटारको बजेट वितरण त प्रतिनिधि घटना मात्रै हो । सिंगै पालिकाभरि ‘भोट ब्यांक’ को रूपमा मन्दिर, चर्च लगायत ठाउँमा बजेट छुट्याइएको छ । जनताले आ-आफ्नो स्वविवेकले दिन नसकेको भोट पनि के भोट !
चालू आर्थिक वर्षमा वडामा आउने ३५ लाख बजेटकै विनियोजनमा मुख्य प्राथमिकतामा देवीका थान र चर्चहरू छन् । बलिदान मण्डली व्यवस्थापन भनेर एक लाख ५० हजार छुट्याइएको छ । इमानिसी मण्डली भवन निर्माण भनेर दुई लाख ५० हजार बजेट छुट्याइएको छ । मन्दिरतिर सेतीदेवी र मकालीदेवी घेराबार शिर्षकमा एक–एक लाख गरेर दुई लाख बजेट छुट्याएको छ ।
जनताको अन्धविश्वासमाथि खेलेर यसरी जनप्रतिनिधिले अनुत्पादक क्षेत्रमा मनलाग्दी बजेट छुट्याउनुको आन्तर्य एकै हो,- जनतामा भएको अज्ञानता ! यसरी जनताको अज्ञानतामाथि खेल्दै टाठाबाठा भनाउँदाले सिंगो पुस्ताकै भविष्यमाथि डरलाग्दो जुवा खेलिरहेका छन् । विद्यालयलाई पाखा लगाएर चर्च र मन्दिरहरुमा बजेट छुट्याइनुको नियत स्पष्ट छ । तर, जनप्रतिनिधिको यस्तो नियतमाथि प्रश्न गर्ने कसले ? जब कि प्रश्न गर्ने चेतना नै तासको एक्का र गुलामका पत्तीहरुमा हरेक दिन फिटिन्छ ।
खासमा सपना देख्नलाई पनि चेतना चाहिने रहेछ । सपना देख्नका लागि घर र समाजको वातावरण राम्रो हुनुपर्ने रहेछ । पढ्नुपर्छ, पढेको मान्छे समाजमा चाहिन्छ भन्ने चेतनाले गाउँको हरेक ढोका नढकढकाएसम्म गाउँको सिंगो भविष्य तासका पत्तीहरुमा फिटिने रहेछ ! बाटो देखाउने मान्छेहरु नै गलत बाटोमा भएपछि सिंगो गाउँ नै अँध्यारोतर्फको यात्रामा निस्कँदो रहेछ ।
यस्तै यस्तै सोच्दै म काठमाडौंका लागि गाडी चढेँ ।
गाडीमा मेरै गाउँको भूपिन भाइ पनि थियो । हामी घुर्मीसम्म सँगै आयौं । त्यसपछि ऊ पूर्वतिर लाग्यो । ऊ पूर्व हुँदै भारतको मिजोराम, नागाल्याण्डतिर कोइला काट्न हिँडेको छ । सानैदेखि ऊ कलाकारितामा रुचि राख्थ्यो । यदि उसले राम्रो वातवरण पाएको थियो भने यसबेला कोइलाखानीको साटो काठमाडौंमा संघर्ष गरिरहेको हुन्थ्यो ।
प्रिय भूपिन, तिमीले पढ्न नसक्नुमा तिम्रो केही दोष छैन । दोष त ती तासघरमा रातभर कचहरी गर्ने गन्नेमान्येहरूको छ, जसले तिमीजस्तो प्रतिभावान युवालाई तासघरमै अलमल्याइदियो । जसले विद्यालयको ढोका होइन, तासघर ठीक हो भन्ने भ्रम बालमस्तिष्कमा भरिदियो । प्रिय भूपिन, आउँदो पुस्ताको सुन्दर भविष्यको खातिर अब तासघर र तास खेलाडीहरूलाई सदाका लागि गाउँबाट सफा गर्नुपर्ने समय आएको छ ।
Nice!
प्रिय नबिनकाजी राई ज्यु
तपाइको कलम ले यथार्थ लेख्नु भयो धेरै धन्यबाद ।अचेल गाउँ बिगृयो समाज बिगृयो स्कुल हरु बिगृए । ती बिग्रेको मा आवाज उठाउने पुराना मान्छे पनि बिगृए ।सगसगै तिनिहरुले नया पुस्तानी बिगारे । कस्ले धेर बिगार्ने भन्ने मा होडबाजी छ सुधानु भन्दा ।अब तपाईं जस्ता युवा र यतिको कलम चलाउने हरुले गाउँ बनाउने सुधारने हो । गाउँ को बिकृती को बारेमा आवाज उठाउनु भो धेरै राम्रो हो गाउँ बिगृदा समाज र त्यहाको भबिस्य बिग्रेको हुन्छ ।सुधार गर्न आफै पोखरिमा पस्नु पनि अनिबर्य छ है ।धन्यबाद
-अलि तल हातिबने दाइ देबेन्द्र पौड्याल
समाजको कालो पर्दालाई उघार्ने प्रयास गर्दै सामाजलाई सभ्य र शिक्षित हुनुपर्छ भन्ने भावले सुसज्जित यस रचना प्रति सम्मान व्यक्त गर्दछु,तपाईंको यस रचनाले,न्याय पाओेस🙏❣️