पुर्खाले सुम्पिएको संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ: उपप्रधामन्त्री सिंह (भिडिओ) – Nepal Press

पुर्खाले सुम्पिएको संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ: उपप्रधामन्त्री सिंह (भिडिओ)

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै उनले नेपाल कला, संस्कृति र परम्पराका हिसाबले अत्यन्त समृद्ध रहेको भन्दै त्यसलाई संरक्षण गर्न जागरुक हुनुपर्ने बताए ।

महोत्सवले गुरुङ समुदाय आफ्नो पहिचानका लागि अत्यन्त जागरुक रहेको देखाएको उनले बताए।

देशमा प्रजातान्त्रिक व्यवस्था आइसकेपछि बहुजातीय, बहुभाषिक, बहुधार्मिक नेपाली समाजमा रहेका सबै धर्म, भाषा, संस्कृतिले स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित राख्दै अझ समृद्ध गर्न पाएको उपप्रधानमन्त्री सिंहले सुनाए ।

उनले भने, ‘तपाईंहरुको महोत्सवमा यस वर्ष सहभागिता उल्लेख्य देखिएको छ । यसले आफ्नो भाषा, धर्म-संस्कृति, रहनसहन, पुर्खाले छाडेर गएका रीतिथिति, परम्परा जोगाउन वर्तमानमा सक्रिय भए जोगिनेरहेछ भन्ने देखाउँछ । पुर्खाले हामीलाई सुम्पिएको अत्यन्त समद्ध संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । जुन अधिकार प्राप्त गरेका छौं, त्यसलाई संरक्षण र संवर्द्धन गर्न जिम्मेवार तवरले हामीले आफ्नो अधिकार प्रयोग गर्दा कसैलाई अप्ठेरो नहुनेगरी प्रयोग गर्दा त्यसले राम्रो गर्छ भन्नेमा ध्यान दिन जरुरी छ ।’

महोत्सवमा गुरुङ समुदायको उपस्थिति, कला, संस्कृति, परम्पराको प्रस्तुतिले आफ्नो पहिचान कायम गर्न अत्यन्त जागरुक देखिएको भन्दै उनले नयाँ पिँढीलाई परम्पराको हस्तान्तरण गरिरहेकोमा बधाई ज्ञापन गरे ।

राष्ट्र र समाजलाई उन्नत, सम्पन्न बनाउन सबैले आफ्नो शक्ति लगाउन पनि उपप्रधानमन्त्री सिंहले आग्रह गरे । गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा महोत्सव आयोजना गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर