एमाले अछामको अधिवेशन कहिले, के भन्छन् नेताहरु ?
डोटी । सुदूरपश्चिमका आठ जिल्लाको अधिवेशन भइसक्दा नेकपा एमाले, अछामको जिल्ला अधिवेशन हुने विषयमा भने अझै अन्यौलता रहेको छ ।
पुस १० गते एमालेबाट निष्काशनमा परेको एमाले पूर्व उपाध्यक्ष डा भिमबहादुर रावलको गृहजिल्ला समेत रहेको अछामको अधिवेशन कहिले हुने भन्ने आधिकारिक निर्णय अझै भएको छैन । गत वर्ष चैत्र मसान्तभित्र अधिवेशन गरिसक्नु पर्ने भनी एमाले केन्द्रले अन्तरपार्टी निर्देशन जारी गरेको थिये ।
सोअनुसार अधिवेशन हुने सकेन । त्यसपछि अधिवेशन नभएका जिल्लाहरुमा गत मंसिर मसान्तभित्रै अधिवेशन गर्नु पर्ने सर्कुलर भएको थियो । त्यो अवधीमा पनि अधिवेशन हुन सकेन ।
पार्टी केन्द्रमा देखिएको बिवादका कारण जिल्लामा अधिवेशन हुन नसकेको एमाले जिल्ला नेताहरुको बुझाई छ । ‘भिम रावल कमरेडमाथी कारवाही हुने भन्ने हल्ला थियो, यसले गर्दा यताको अधिवेशन पनि समयमै हुन सकेन’ एक जिल्ला नेताले भने ‘अन्ततः उहामाथी कारवाही पनि भईछाड्यो, अव झन अन्यौल भयो ।’
ति नेताका अनुसार अव भिम रावलले आफ्नो राजनीतिक बाटो क्लियर गरेपछि मात्रै अधिवेशन हुने सम्भावना छ । उनी थप्छन्, ‘कारवाहीमा परेपछि अव उनी पनि चुप बस्दैनन् होला, कुनै न कुनै बाटो लिन्छन् होला । उनले आफ्नो बाटो तय गरेपछि उनीसंग जाने कार्यकर्ताहरु एमालेबाट छुट्टिन्छन्, त्यसपछि बाँकी रहेकाहरुले अधिवेशन गर्छन् ।’
अछाम एमालेभित्र भिम रावलको लाईनमा उभिने कार्यकर्ताको संख्या २० प्रतिशत नाघ्ने वताउँछन् एक एमालेका अर्का जिल्ला नेता । ‘उहाँका केही कार्यकर्ताहरु पहिलेनै एकिकृत समाजवादीमा गईसकेका छन्, त्यसैले धेरै त अब उहाँसंग जाँदैनन् होला’ तर २०, २२ प्रतिशतको हाराहारीमा नेता कार्यकर्ताहरु व्यक्तिगत सम्वन्धका आधारमा पनि उहाँसंग जान्छन् ।’
रावलको व्यवहार र शैली नजिकबाट चिनेका धेरै नेता कार्यकर्ताहरु एमालेमै बस्ने उनको अनुमान छ । उनी थप्छन्, ‘क्षमता भएका नेता त हुन् तर के गर्नु आफूलाई मन नपरेका कार्यकर्तामाथि केपी ओली भन्दा बढी निरंकुश भइदिन्छन् ।’
रावलसँग वैचारिक बहस गर्न खोज्ने साधारण कार्यकर्ताले पनि राजनीतिबाट साइड लाग्नु परेको उनको दाबी छ । भिम रावलको लाइन क्लियर भएपछि मात्र एमालेको अधिवेशन सम्पन्न हुनेमा उनको पनि भनाइ छ ।
तर, एमाले अछाम जिल्ला अध्यक्ष चन्द्र बोहरा यो कुरा सोझै अस्वीकार गर्छन् । ‘केन्द्रीय नेताहरुको बिवाद वा कुनै व्यक्तिको कारण भन्ने कुरा सव झुटा हो’ नेपालप्रेससंग फोनमा कुरा गर्दै बोहराले विभिन्न परिस्थितिका कारण जिल्ला कमिटीको बैठकले आधिकारिक निर्णय गरि अधिवेशन सारिएको हो ।’
विभिन्न कारणहरु भनेको के हो ? भन्ने प्रश्नको जवाफ दिँदै बोहरा भन्छन् ‘पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान, संकल्प यात्रा, विभिन्न जनवर्गीय संगठनका भेला अधिवेशन आदिका कारण केही समय त्यतातिर व्यस्त हुनु पर्यो । यसबाट जिल्ला पार्टीलाई आर्थिक दायित्व पनि सिर्जना भयो, आर्थिक रुपमा पनि हामीलाई तयार हुन अलि समय लागेको हो ।’ उनी अन्य तयारी गर्ने समय पनि कम भएका कारण ढिला भएको बताउँछन् ।
‘कात्तिक महिना कटिसकेपछि अव नयाँ सदस्यहरुलाई समेत अधिवेशन प्रक्रियामा समावेश गराएर जाने भन्ने योजनाका साथ मंसिरमा अधिवेशन हुन नसकेको हो’, बोहराले भने, ‘यसलाई अन्य कुनै घटनासँग जोड्नु पर्ने वा अन्य कुनै अनुमान गर्नु पर्ने जरुरी छैन ।’
उनले २०८१ सालका लागि पार्टी सदस्यता नविकरण भईसकेको र नयाँ सदस्यता पनि थपिईसकेकोले अधिवेशन गर्ने आधार तयार भएको बताए ।
उनी भन्छन्, ‘यस वर्ष हाम्रो सदस्य संख्यामा वृद्धि भएको छ, २०८० मा सदस्य संख्या ४ हजार ८७२ रहेकामा यस पटक नयाँ समेत गरी कुल ६ हजार ३ सय १२ सदस्य पुगेका छन् ।’ उनले एमाले छोडेर नेकपा एकिकृत समाजबादीको जिल्ला उपसचिव भएका डवल चलाउने सहितका केही नेता कार्यकर्ताहरु पनि एमालेमा फर्कि सदस्यता नविकरण गरेको दावी गरे ।
अब कहिले गर्नु हुन्छ त अधिवेशन ? अध्यक्ष बोहरा भन्छन्, ‘पुस मसान्तभित्र जिल्ला कमिटीको बैठक बसी मिति तय गर्छौं, माघको अन्तिम साता वा फागुनको पहिलो साताभत्रि पार्टीको नवौं जिल्ला अधिवेशन हुन सक्छ ।’ उनी धेरै ढिलो भएपनि फागुन मसान्तभित्रै अधिवेशन सम्पन्न गर्ने बताउँछन् ।
फागुनभित्रै अछाम जिल्ला अधिवेशन हुने दाबी गर्छन् एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणवहादुर चन्द । उनी भन्छन्, ‘सुदूरपश्चिमका अरु सवै जिल्लाको अधिवेशन भईसकेको छ, अब अछामको मात्रै बाँकी छ, त्यो अधिवेशन पनि फागुन मसान्तभित्रै सम्पन्न हुने गरी तयारी भइरहेको छ ।’