ओली-देउवालाई प्यूठानबाट वर्षमानको सन्देश : राष्ट्रियतामाथि घात भएमा हामी सडकमा उत्रन्छौं – Nepal Press

ओली-देउवालाई प्यूठानबाट वर्षमानको सन्देश : राष्ट्रियतामाथि घात भएमा हामी सडकमा उत्रन्छौं

प्यूठान । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमालेको सरकारले सही काम नगरेमा माओवादी केन्द्र जनताको एजेण्डा बोकेर सडकमा जाने बताएका छन् । वर्तमान सरकार जनताको चाहाना पूरा गर्न भन्दा पनि विचौलिया, भ्रष्टाचारी र सुशासनका बाधकहरुको रुची अनुसार बनेको दावी गरेका उनले राष्ट्रियता र जनतन्त्रका मुद्दालाई नजरअन्दाज गरेमा सरकार विरुद्ध माओवादी सडकमा उत्रने चेतावनी दिए ।

माओवादी केन्द्र पूठान जिल्ला, नौबाहिनी गाउँपालिकाको तेस्रो अधिबेशनमा बोल्दै उनले भने, ‘देउवा बालकोट पुगेर नक्कली भुटानी शरणार्थी काण्डमा ‘जसरी हुन्छ बचाउनुस् प्रधानमन्त्री खानुस् भनेर ओलीलाई अफर गरे, बेचन झाहरु पक्राउ परेपछि जसरी हुन्छ हामीलाई बचाउनु प्रधानमन्त्री लिनु भन्ने अफर भयो । बालकोटमा पनि एउटा तरंग भइरहेको थियो । त्यसपछि राताराग गठबन्धन बन्यो । सुशासनको अभियान कमजोर बनाउन, विचौलियाहरुको डिजाइनमा सरकार बनाए ।’

पूर्व अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले सरकार छोड्दा आफूहरुलाई कुनै चिन्ता नभएको र ८४ सालसम्म माओवादी सरकारमा पनि नजाने बताए । ‘कतिपयले हामीलाई सरकार छोड्दाको पीडा पनि भने । तर होईन । नक्कली भुटानी शरणार्थी, गिरीबन्दु, बासबारी छाला जुत्ता जस्ता कुराको छानविन गर्न थालेपछि सरकार ढालियो । अहिले यी कुनैपनि विषयलाई सरकारले चासो दिएको छैन । जताले यो कुरा बुझेका छन् ।’

सुशासनको विपक्षमा गठबन्धन र सरकार बनाएकै कारण उपनिर्वाचनमा जनताले कांग्रेस–एमालेलाई दण्डित गरेको र आगामी चुनावमा यो अझ बढ्ने उनले दावी गरेका छन् । पत्रकार महासंघको चुनावमा देखिएको जनमतले पनि माओवादीप्रति आम जनता तथा बौद्धिक वर्गमा समेत आकर्षण देखिएको उनले विश्लेषण सुनाए ।

‘उपनिर्वाचनमा जनताले मतदान गरेका छन् । देशभर दोस्रो दल बनाए र हाम्रो सकारले अघि सारेका अभियान र विपक्षीमा हुदा जनताको पक्षमा उठाएका आवाजको अनुमोदन गराए जनताले, उनले भने, ‘कांग्रेस–एमालेको पुरानो कित्ता र माओवादीसहित परिवर्तन चाहानेहरुको नयाँ कित्ता बनेको छ । हामी समाजवादी गणतन्त्रको नयाँ विकल्पसहित एक्लै चुनावमा जाँदैछौं ।’

आगामी चुनावमा कांग्रेस एमालेसँग नभई जनताको एजेण्डा लिएर जनताकै कित्ताबाट एक्लै चुनाव लड्ने उनको भनाई थियो । वर्तमान उपनिर्वाचन र पत्रकार महासंघको चुनावले माओवादीलाई त्यो सन्देश दिएको र यो माओवादीको नीति र नेतृत्वको सफलता भएको उनले व्याख्या गरे ।

 


प्रतिक्रिया

One thought on “ओली-देउवालाई प्यूठानबाट वर्षमानको सन्देश : राष्ट्रियतामाथि घात भएमा हामी सडकमा उत्रन्छौं

  1. सुन तस्कर । बढी नबोल ? तिमीहरू भनेका भारतका टट्टु हौ । तिमीहरूलाई नलखेटी देशमा स्थिरता हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर