सीमान्तकृत महिला सांसद मञ्चको अध्यक्षमा विश्वकर्मा – Nepal Press

सीमान्तकृत महिला सांसद मञ्चको अध्यक्षमा विश्वकर्मा

काठमाडौं । सीमान्तकृत समुदायको हक अधिकार, संविधानिक कानूनी विमर्श र राजनीतिक पहल कदमीका लागि सीमान्तकृत समुदायका महिला सांसद संगठित भएका छन् ।

काठमाडौंमा एक कार्यक्रमका बीच संविधानसभा सदस्य र पूर्वसांसदले सीमान्तकृत महिला सांसद मञ्च गठन गरेका हुन् । मञ्चको अध्यक्षमा संविधानसभा सदस्य कमला विश्वकर्मा चयन भएकी छन् ।

उपाध्यक्षमा श्रीमाया थकाली, दुर्गा परियार र कौशल शाह, महासचिवमा तुलसा राना र सचिवमा पार्वतीकुमारी विशुंके चयन भएका छन् । मञ्चको सदस्यमा मिलन राजवंशी, उमा गोठे, आशा विक, निरा जैरु, राज्यलक्ष्मी श्रेष्ठ, बबिना मोक्तान, नमिता चौधरी र मणि खम्बु किराती रहेका छन् ।

त्यस्तै, भेलाले ओनसरी घर्ती, अष्टलक्ष्मी शाक्य, जयपुरी घर्ती, सीता गुरुङ, जयन्ती राई, टेकु नेपाली र मीना पुनलाई मञ्चको सल्लाहकारकोरुपमा चयन गरेको छ ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य समेत रहेकी नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जयन्ती राईले सत्ता गठबन्धनले अगाडि बढारहेकोमा संविधान संशोधनको मुद्दामा सीमान्तकृत समुदाय सजग र सतर्क हुनुपर्ने बताइन् ।

उनले संविधानले समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरे पनि त्यसबाट भइरहेको व्यवहारिक अभ्यास भने चित्तबुझ्दो नरहेको बताइन् । मञ्चकी अध्यक्ष विश्वकर्माले संविधान कार्यान्वयनका क्रममा समग्र महिलाको प्रतिनिधित्व वृद्धि भए पनि सीमान्तकृत महिलाको अर्थपूर्ण प्रतिनिधित्व हुन नसकेकोप्रति चिन्ता व्यक्त गरिन् ।

‘नेपाली महिलाको समग्र विकासको लागि सामाजिक, सास्कृतिक, राजनीतिक र आर्थिक सवलीकरणमा सबै पक्षबाट ध्यान दिनुपर्ने स्थिति छ । महिला भित्र पनि आदिवासी जनजाति, दलित, थारु, मुस्लिम लगायतका महिलाको अवस्था झन् कमजोर छ । तर सरकारले यसको अनुभूति गरेको देखिदैन,’ उनले भनिन् ।

मञ्चकी सचिव विशुंकेले महिलामध्ये पनि दलित महिलाको अवस्था सबैभन्दा कमजोर रहेको बताइन् ।

‘संविधानले अधिकार दिए पनि सीमान्तकृत महिलाले त्यसको अनुभूत गर्न सकिरहेका छैनन् । त्यसमा पनि दलित, मुस्लिम र मधेशी महिलाको अवस्था नाजुक छ, आदिवासी जनजाति महिलाको अवस्था पनि उही छ’, उनले भनिन् ।

उनका अनुसार लैङ्गिक सशक्तिकरण, न्यायमा पहुँच, सबै प्रकारका विभेद र हिंसाको अन्त्य गर्दै सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारीको अभिवृद्धि सहित शान्ति र समृद्धिका लागि आवश्यक पहल गर्ने उद्देश्यले आफूहरूमा सीमान्तकृत महिला सांसद मञ्चमा संगठित भएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर