भातको उत्पात !
कुनै दिन सम्मानपूर्वक सित्तैसस्तै जुम्ली मार्सी भातको सौगात पाएर हाँपझाँप गर्दै तीन थाल बजाउनु भा’थ्यो । चौरासी व्यञ्जनमाथि लोलोपोतो मिसिएको थप पचासी थरी थपुवा चिल्लोचापुल्लो पनि मनग्गे भ्याउनु भा’थ्यो । मह मिष्ठान्न, सलाद साथमा मीठा पानपरागको अनुरागमा पनि उत्तिकै रत्तिनु भा’थ्यो । जर्दा सुपारीका मुखसिद्धि खुराक पनि बुढो भालूले मकैका घोगा चपाए झैं बङ्गारा बङ्ग्याएर माक्लाकमुक्लुक पार्नु भा’थ्यो ।
खास कुरा त अझ थप टीकाटाला दानदक्षिणाका किस्ती बण्डल भेटेर सुटकेश, गोजीभरि अटेसमटेस कोच्नु भा’थ्यो र दशैंको दक्षिणा पाएका बालबालिका जस्तै खुशीले काँचो पिँडालु बिर्साउनेगरी कोक्किनु भा’थ्यो । अनि त्यही मानभाउको तीनपाने तुजुकले हो कि, केले चैं हो, आफ्नो औकात भुलेर मालसिरीमा डान्स पनि गर्नु भा’थ्यो । बगालिएको अर्ना छटाए झैं उछिल्लिएर पुच्छर उचाल्दै बुर्कुसी मार्नुभा’थ्यो र सीधै चन्द्रागिरीदेखि नीलगिरिसम्मका रिसोर्टमा पुग्नु भा’थ्यो । त्यहाँ पनि त झन् उसै बस्ने कुरै भएन, पात्तिँदै मनमोजी चर्तिकला पनि अजमाउनु भा’थ्यो । बिहान हिमाली दृश्यावलोकन र बेलुकीका क्याम्पफायरका मोजमस्तीमा गस्ती गर्दै मांस-मदिराका तोङ्बा बोतल पनि भेटे जति लडाउनु भा’थ्यो । गफका पर्रा छोडेर दशै दिशाभरि आफ्नै हात जगन्नाथ भएको गुड्डी हाँक्नसमेत भ्याउनु भा’थ्यो । ‘कठै ती दिन गै गए ।’ वनवासी राजारामकै चाल पो हुने भयो त अहिले आएर ।
अरुअरु पनि थुप्रै मार्सी धान प्रख्यात थिए यो कृषिप्रधान देशमा । परासीको तुलसीप्रसाद, कपिलवस्तुको कालानिमेक, पोखराको जेठोबुढो, गोकर्णको गौडियामार्सी, सीपाको छोटेमार्सी, दाङको तिल्की आदि इत्यादि मार्सीहरूको भर्मारै थियो र छ पनि, तर चिसो पानी लाग्ने, लेकाली प्रदेशमा फल्ने सौभाग्य पाएर होला, अनि चाहिँदो ख्याति कमाएर पनि होला, जुम्ली मार्सीले अरु सबै मार्सीलाई भारेभुरे बाथको कोटीमा पछाडि धकेलेको छ । आफ्नो अलग्गै पहिचान याने पेटेन्टको विश्वव्यापी गौरवगाथामा पनि उदरपीठ भएको छ । त्यसैले जुम्ली मार्सीको साख खास्सा वस्तु पो बन्न गएको छ देशभित्रै पनि ।
चिसो पानी लाग्ने, लेकाली प्रदेशमा फल्ने सौभाग्य पाएर होला, अनि चाहिँदो ख्याति कमाएर पनि होला, जुम्ली मार्सीले अरु सबै मार्सीलाई भारेभुरे बाथको कोटीमा पछाडि धकेलेको छ । आफ्नो अलग्गै पहिचान याने पेटेन्टको विश्वव्यापी गौरवगाथामा पनि उदरपीठ भएको छ ।
तर यताको समस्या अर्कै बल्झिदिएको छ यतिबेर । के तलबितल परेर हो कुन्नि, ती दिन अब रहेनन् । कमजोर पाचन शक्तिले गर्दा भात पचाउन नसकेर हो वा त्यसको रसायनले उन्माद जगाएर हो या अत्यधिक रसादि ग्रहण गरेर हो, दैव जानून् ! आज त्यही भात छड्किएर अन्धाधुन्द उत्पात मच्चाउन थालेको पो हो कि ! उसै त चिसो पानीको मार्सी धान, उसको पनि भात । त्यसलाई पनि अपच्तो भ्याएपछि के गरौं, कता जाउँको सन्निसर्पन भा’छ । पेटमा पगितो अपच पदार्थ परेर दिमाग छड्किएको थाहा पाएपछि पाहुना हजुर बल्ल ग्वाँ पर्नु भा’छ । भातले महँगो भाउ खोजेर छिर्के दाउ लगाएपछि हाउगुजीले हाराबारा पारेको छ ।
डोरीमा गोमन सर्पको आभास भएर भासमा दबिँदै गएको भान भा’छ । उठौं त उठ्न नसकिने, बोलौं त कसैले नसुन्ने र नपत्याउने झम्पाट खलपात्रको बेढंगी चालले ठाडो शिरमाथि तेर्सो पेलम्पेल भा’छ । रातमा बास बसेका महिला बुढाबुढीलाई अरिँगाल सेना पठाएर लखेट्ता पनि भातको आँत गलेको हैन, झन् झन् अरठिएको छ । आँट खस्किएको हैन, झन् झन् दरिएको पो छ । माइतीघर पराइघर बनाएर प्रतिबन्ध लगाउँदा पनि भातको आँट छाँटिएको हैन ! उल्टै बल्खुका चौराह चोकमा आगो बाल्न पुगेर वाटर क्याननका फोहोरा छोड्नु पर्या’छ । मकैबारीमा पसेका बाँदरलाई जस्तै टिन ठटाएर लखेटौं भन्दा ढेडु जस्तो भात उल्टै जमात खडा गरेर ङिच्च दारा देखाएर जिस्क्याउन थालेको छ । बन्दुकका कुन्दा खटट्ट चलाउँदै हर्काउँदा पनि उल्टै फर्कीफर्की ढुङ्गामुढाले जाइलागेर हैरान पार्या छ । महँगो अँश्रुग्यासका लोला पड्काएर जाइलाग्नु पर्या छ । थरीथरी जासुस, प्रहरी र पाल्तु अरिँगालका न्वाराने शक्ति र सामर्थ्य खर्चिएर दबेट्नु पर्या छ । तैपनि टसमस हुने हैन मोरो भात !
यता माइतीघर बन्दाबन्दी । उता भातले साँच्चै उत्पात मच्चाउने इरादाले मार्सी सेना बटुलेर बल्खुका सडक कब्जा गरेपछि टोक्नु न बोक्नुको चाल भा’छ । बन्दुक तोपको शक्ति प्रयोगको धमास दिएर लल्कार्दा पनि अटेरी भात भने झन् पो बाचाल भा छ । तथानाम गालीगलौजको मुख छोडेर हड्डी नै गाल्ने खालको अड्डी लिएको छ । कहिले गौशालाका चोक र थानाहुँदी ढुङ्गामुडाको वर्षाले सन्निसर्पन पारेर भन्नु नभन्नु भनेको सुन्नु पर्या छ । त्यो बेइज्जती खप्तै सहँदै गर्दा अचाक्ली भएपछि कतिबेर तिनै मार्सी सेनामाथि पुलिसका डण्डा भिडाउनु पर्या छ । डण्डा अँश्रुग्यासमाथि भिजिलान्ते खटाएर ढुङ्गामुढाको वर्षा पनि गराउनु पर्या छ ।
त्यति गर्दा पनि भात शान्त नभैदिँदा मेजमानीमा हसुरेका थरीथरी परिकारका थपुवा जस्तै झञ्झट झ्याउलो र सास्ती पनि अझै बढ्या छ । जवाफी फयार काम नलागेपछि बसीखप्नु भा’छैन ।
त्यति गर्दा पनि भात शान्त नभैदिँदा मेजमानीमा हसुरेका थरीथरी परिकारका थपुवा जस्तै झञ्झट झ्याउलो र सास्ती पनि अझै बढ्या छ । जवाफी फयार काम नलागेपछि बसीखप्नु भा’छैन । दुई दिन भए पनि तनावमुक्त हुने इरादाले कहिले यताउताका कुनाकाप्चातिर लुसुक्क लहसिनु परेको छ, कहिले विनाबित्थाँको जरुरी काम देखाएर विदेशका धामतिर नाम्सिँदै मुन्टो लुकाउनु पर्या छ । कतै शिर झुकाउनु पर्या छ । जता गए पनि भित्री कुरो लुकाउनु पर्या छ ।
के चैं भन्नू, के नभन्नू खै ! अग्नि मन्द भएर हो कि, निकासी ढोका बन्द गरेर हो, उतिबेर पेटमा पुगेको भात यतिबेर पाचनक्रियालाई धक्का दिँदै भाँडिएर भाडभैलो गर्न लाग्या छ । भन्नु पनि भन्छ, नभन्नु पनि भन्छ भतुवा भातले । कतिबेर आसनबाट खँगार्छुृ भन्छ, कतिबेर शासनबाट लघार्छु भन्छ । कतिबेर रासनपानी बन्द गर्छु भन्छ । बेला न कुबेला बल्खुका चोक चौबाटालाई बाउको बिर्ता बनाउँदै छोप्या छ । कहिले सातदोबाटोतिर पैयाँ ठोक्तै छातीमाथि गुलेली ताक्या छ । कहिले भागशान्ति पाइनँ भन्दै गौशालामा अशान्तिको बीउ रोप्या छ ।
मोफसलमा भए त तद्बिसेक भन्नुहुन्थ्यो, तर रजधानीमै आएर भातको बदला उत्पातले लिए झैं तमासै देखा’को छ । शान्ति सुरक्षामा सन्निसर्पन पारेपछि पुलिस लगाउनु पर्या छ । अनि तिनै भातका दातामाथि आँखाकैद याने नजरबन्द गर्नु पर्या छ । त्यसैले आज जे जे गर्नु नगर्नु मार्सी भातले गर्या छ । दारुको झुँगालो बिर्साउने यो मार्सी भातको उत्पातले बाफरे बाफ आतङ्क पो मच्चाको छ । ग्रहदशा पञ्छाए जस्तै कसरी पञ्छाउने हो अब यसलाई ? गतिलो ज्योतिषी खोजेर हेराइकोराई गर्नु पर्या छ । बस !