नेपाल फर्कनु अगाडि बीपी वाणी- हामी तिब्बती शरणार्थी भएर भारत आएका होइनौं
काठमाडौं । वि.सं २०३३ पुस १६ गते बीपी कोइराला ८ वर्ष लामो भारत प्रवास सकेर नेपाल आएका थिए । उनी नेपाल आएको प्रसंगलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलापको नीति मान्ने गर्छ । राजा र कांग्रेस मिलेर नेपालको राष्ट्रियता बलियो बनाउने बीपीको तर्क थियो । त्यसै भनेर उनी नेपाल आएका थिए ।
नेपाल आउनु अगाडि बीपीले आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए । सम्बोधनमा उनले भारत जानु र नेपाल फिर्ता हुनुको कारण सबै खुलाएका थिए । उनले भारतमा जानु र नेपाल आउनुको राजनीतिदेखि भूराजनीतिसम्मका कारण खोतलेका थिए ।
भारतको दरभंगा र गोरखपुरमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा बीपीले भारत जाने र नेपाल फर्कने कारणहरु खुलस्त पारेका थिए ।
‘भारत आउँदा सहयोगको आश थियो, तर असहयोग भयो’
बीपीले आफूहरु भारतमा तिब्बती शरणार्थी जस्तो भएर तथा ज्यान जोगाउन भनेर नआएको भन्दै भारतमा आउँदा प्रजातान्त्रिक देश भएकाले प्रजातान्त्रिक आन्दोलनमा सहयोग होला भनेर आएको, तर सहयोग नभएको अभिव्यक्ति दिए ।
बीपीले आफू सन् १९२७ देखि १९४६ सम्म भारतको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएको तथा भारतमा कांग्रेसदेखि समाजवादी र कम्युनिष्टसम्म सबै पार्टीको नाममा आफूलाई थुनिएको बताएका छन् । भारतीय कांग्रेस नेता देवकान्त बरुवा, कम्युनिष्ट नेता राजेश्वर राय सबै आफ्ना हितैषी मित्र भएको तथा डाक्टर राजेन्द्रप्रसाददेखि अनुग्रहनारायण पनि आफ्ना जेलमेट भएको भन्दै बीपीले भारत सरकारबाट नभए पनि भारतीय पार्टी, प्रेस र नागरिक तहबाट सहयोगको आशले भारत आएको बताए, तर त्यो आशा निराशामा परिणतभएको उनले खुलाएका छन् ।
बीपीले दरभंगाको भाषणमा भनेका छन्, ‘हामीलाई अप्ठेरो पार्ने, हाम्रो एकतालाई तोड्ने, हाम्रा मानिसलाई थुन्ने, समात्ने, हिन्दुस्तानमा हाम्रा साथीहरुलाई क्षेत्रबन्दमा राखेर सताउने इत्यादि कुराले यहाँ हामीहरु बसेको उनीहरुलाई ठीक लागेन भन्ने हामीलाई अनुभव भयो । उनीहरुले हामीलाई सबै कुरा भन्न नसके पनि अरु लक्षणबाट यो कुरा बुझियो ।’
दरभंगाकै भाषणमा बीपीले भारतको असहयोगको बारेमा खुलेर बोलेका छन् । उनले भनेका छन्, ‘हामी यहाँ आएको सात-आठ वर्ष हुनलाग्यो, तर हामीमा भएको आशा पूरा हुनसकेन । भारत सरकारको नीति सधैं राजालाई खुशी पारेर आफ्नो स्वार्थसिद्ध गर्न र आफ्नो उद्देश्य पूरा गर्न सकिएला भन्ने किसिमको भयो ।’
‘नेपालीहरु भारत, अमेरिकी र चीनका दलाल जस्ता भइरहेका छन्’
स्वदेश फिर्ता आउनुभन्दा अगाडि गोरखपुरको भाषणमा बीपी कोइरालाले नेपालीहरु सबै भारत, अमेरिका र चीनका दलाल जस्ता भएको बताएका छन् । भारतमा प्रवेश गर्दा पूर्वी पाकिस्तानको रुपमा रहेको बंगलादेश बीपी आउँदा स्वतन्त्र देश भइसकेको थियो । भारत जाँदा स्वतन्त्र देश रहेको सिक्किम नेपाल आउँदा भारतको २२औं प्रान्त भइसकेको थियो । यही मेसोमा बीपीले नेपालमा पनि राष्ट्रिय संकट आएको भाषणमा बताएका थिए ।
उनले गोरखपुरको भाषणमा भनेका छन्, ‘राजादेखि सबैले भन्न थालिसकेका छन्- हाम्रो राष्ट्रियतामाथि संकट उत्पन्न भइरहेको छ । म तिनीहरुको विश्लेषणसँग शत प्रतिशत सहमत छु ।’
देशमा संकट आएको तर्क गरेका बीपीले संकट समाधान गर्न भने राजाले नभएर राष्ट्रिय एकताले मात्रै हुने जिकिर गरे । उनले भनेका छन्, ‘राजाको पक्षबाट संकटको समाधान हुन सक्दैन । किनभने संकट हटाउन जुन राष्ट्रिय एकताको आवश्यकता छ, त्यो राष्ट्रिय एकता प्रजातन्त्रबाट मात्र हुनसक्छ । अहिलेको व्यवस्था (पञ्चायत) बाट राष्ट्रिय एकता हुनै सक्दैन ।’
नेपालको राष्ट्रिय संकटका बारेमा बीपीले भावुक कुरा गरेका छन् । देशको अस्तित्व संकटका बारेमा मिति तोकेरै उनले भाषण गरेका छन् । गणेशमान सिंह र आफ्नो मत सार्वजनिक गर्दै उनले गोरखपुरको भाषणमा भनेका छन्, ‘गणेशमानजी दुई-तीन वर्षभित्रै नेपालको अस्तित्वमाथि ठूलो खतरा हुने देखिरहनु भएको छ, भन्नुहुन्छ । म त एक-डेढ वर्षभित्रमै त्यो खतरा आउने देखिरहेको छु । यस्तो संकटको अवस्थामा हामीले एक हुनुपरेको छ ।’
सोही भाषणमा बीपीले सिक्किमको कुरा निकालेका छन् । उनले गोरखपुरको भाषणमा भनेका छन्, ‘सिक्किमको जनसंख्या एक लाख ३० हजार छ । झण्डै त्यति नै हिन्दुस्तानी पल्टन त्यहाँ थियो । त्यसैले त्यहाँ त्यस्तो कारबाही किन गर्नुपर्यो भन्ने मैले बुझिनँ ।’
त्यसमा बीपीले थपेका छन्, ‘हिन्दुस्तानले सिक्किममा त्यो कारबाही गरेर नेपालमा, बंगलादेशमा, यो पूरै क्षेत्रमा अस्थिरताको स्थिति उत्पन्न गर्यो । त्यसको केही दिनपछि बंगलादेशमा सैनिक ‘कू’ भयो । यो त मैले भविष्यवाणी गरेको जस्तो भयो, मानिसहरु छक्क परे ।’
सिक्किमको सवाल बीपीले दरभंगा भाषणमा पनि गरेका थिए । उनले भनेका थिए, ‘सिक्किमलाई अवैधानिक ढंगबाट गाभ्नुपर्ने अरु कारण भए मलाई थाहा छैन । जे होस्, मेरो उनीहरुसँग भनाइ थियो, भारतले त्यो कारबाही गरेर यस क्षेत्रलाई अप्रत्याशित रुपमा अस्थिर बनायो ।’