कैलारीको सामुदायिक वनमा शान्तीको उदाहरणीय नेतृत्व – Nepal Press

कैलारीको सामुदायिक वनमा शान्तीको उदाहरणीय नेतृत्व

धनगढी । १५३ घरधुरी सदस्य रहेको कैलारीको शिव सामुदायिक वनको अवस्था लथालिङ्ग थियो । वार्षिक साधारण सभाको कुरा त परै छाडौँ, नियमित हुनुपर्ने कार्यसमितिको बैठक पनि बस्दैन थियो । कतिसम्म भने वनको विधान, कार्य योजना र निर्णय पुस्तिका पनि हराइसकेका थिए ।

७२.७९ हेक्टर क्षेत्रफल भएको वनमा ११ वटा मात्रै सालका रुखहरू थिए । जसले जसरी मन लाग्यो वनबाट काठ दाउरा ल्याउन रोकटोक थिएन । वनको अवस्था दिन प्रतिदिन बिग्रँदै गइरहेको थियो ।

२०६३ सालमा स्थापना भएको कैलालीको कैलारी गाउँपालिकामा वार्ड नं ३ वर्कामुडामा रहेको यो सामुदायिक वनको नेतृत्व पुरुषहरूले गरिरहेका थिए । तत्कालिन नेतृत्वको समितिले वनलाई नियम अनुसार चलाउन नसकेपछि २०६४ सालमा सञ्चालनको जिम्मा स्थानीय युवाहरूलाई दिइयो । तर स्थानीय युवाहरूले पनि वनको व्यवस्थापन गर्न सकेन ।

यसैबीच तत्कालीन वन अधिकृत सुरेश केसीले महिलालाई सामुदायिक वन चलाउन दिने एउटा जुक्ती निकाले । तर नेतृत्व गर्ने कसले ? समूहमा छलफल हुँदा सबैले शान्तिदेवी चौधरीलाई अध्यक्षमा प्रस्ताव गरे । आफ्नो नाम मात्रै लेख्न जान्ने शान्तिको लागि यो काम सहज थिएन । तर सबैको हौसलाले उनले पद स्वीकार गरिन् । उनकै नेतृत्वमा ११ जनाको महिलाहरू मात्रै भएको कार्यसमिति गठन भयो ।

‘३०/३१ वर्षकी थिएँ म,’ उनले भनिन्, ‘घरको काम बाहेक अरू केही जानेकी थिइन् तर, साथीहरूले हौसला दिएपछि आँट आयो’ । सबैको हौसलाले नेतृत्व लिने साहस त जुटाइन तर वनको अवस्था सुधार्न उनका अगाडी चुनौती नै चुनौती थिए । सुरुका दिनमा अध्यक्षले कसरी काम गर्नू पर्छ भन्ने कुरा समेत उनलाई थाहा थिएन । तर उनले हिम्मत हारिनन् ।

‘इच्छा भए उपाय कसो फेला नपर्ला भन्ने सोचे । बिस्तारै काम गर्दै जाँदा सबै सिकिँदो रहेछ’, उनले भनिन्, ‘जसरी पनि सामुदायिक वनको अवस्था सुधार गरेरै छोड्ने अठोटका साथ उनी वनको संरक्षणमा पनि जुटिन् । उनलाई साथ दिने गाउँका अन्य महिलाहरू लामबद्ध भए ।’

अन्ततः उनले सबैको सहयोग लिएर सामुदायिक वनको अवस्था बदलेरै छोडिन् । तिनै शान्ति देवी १३ वर्षदेखि शिव सामुदायिक बनको अध्यक्ष बनेर नेतृत्व गरिरहेकी छन् ।

लथालिङ्ग अवस्थाको सामुदायिक वनको अवस्था ठिक पार्न उनको टिमले वर्ष दिनसम्म निकै संर्घष गर्नु पर्‍यो । समूहको महत्त्व, वन संरक्षणका फाइदाबारे गाउँका सबै मानिसहरूलाई बुझाउन पनि उनीहरूलाई हम्मे हुन्थ्यो । पहिला आफूले सिक्नु थियो, त्यही कुरा गाउँका मान्छेलाई सिकाउनु थियो ।

सुरुमा शान्तिको काम र नेतृत्वलाई समुदायलाई पनि विश्वास गर्न सहज भने थिएन । गाउँका केहीले त उनलाई नेतेनी (नेतृ) भई अब शान्ति भनेर पनि सुनाउने गर्थे । तर, यस्ता कुरालाई उनले बेवास्ता गर्दै अघि बढिन् । उनलाई यो कुरालाई पछि पार्दै आफ्नो जिम्मेवारी गर्नुपर्ने थियो ।

कसरी काम गर्ने सामुदायिक वनको अध्यक्ष भइसकेपछि जुन सुकै समयमा पनि जङ्गलको रेख देख गर्न जानू पर्ने, विभिन्न कार्यक्रममा जानुपर्ने हुन्थ्यो । शान्ति त नेता भई पुरुषसँग हिँड्छे, बोल्न आउँदैन के काम गर्ला र ? भन्ने खालका कुरा गर्दथे तर शान्तिले त्यस्ता कुरालाई बेवास्ता नै गर्ने गर्थिन ।

विद्यालय नै नगएकी गाउँमै प्रौढ शिक्षा पढेकी शान्तिको परिवारमा दुई छोरा, बुहारी श्रीमान् गरी पाँच जना रहेका छन् । उनका श्रीमान् पनि राज मिस्त्रीको काम गर्छन् । घरपरिवारबाटै शान्तिले निकै सहयोग पाइरहेकी छन् ।

‘मेरो श्रीमानले गर्दा नै आज म यहाँसम्म आएकी हु नत्र हाम्रो समाजमा एउटा महिलालाई कति गरो छ फेरि घर बच्चा सम्हाल्नु पर्ने अनि सामुदायिक वन पनि, श्रीमानले सहयोग नगर्नु भएको भए सम्भव नै थिएन उनले भनिन् ।’

उनी बिहान घरको सबै काम सकेर सामुदायिक वनको काम गर्नको लागि हिँड्छिन् । घरको काममा उनका श्रीमानले पनि सघाउने भएकाले शान्तिलाई अझै सहज भएको छ ।

‘एकवर्ष हामी हरेक कार्यक्रममा जान थाल्यौ, निरन्तर बैठक बस्ने गर्थ्यौं , विभिन्न तालिममा तालिममा गयौँ । चोरी सिकारी नियन्त्रण गर्नको लागि समिति गठन गर्‍यौ । तीन वर्ष सम्म वन नविकरण भएको थिएन । व्यक्तिगत पैसाले नविकरण गर्न लगायौँ ।’, उनले भनिन, ‘हाम्रो काम र मेहनत देखेर हाम्रो छाता संगठन सी एफ सिसी (बसान्ता वन क्षेत्र सामुदायिक वन उपभोक्ता समिति) ले उहाँहरूले काम गर्न सक्नुहुन्छ भनेर कालो सूचिमा रहेको हाम्रो वनलाई सञ्चालन गर्न सहयोग गर्नुभयो ।’

शान्ति सामुदायिक वनको अध्यक्ष बनिसकेपछि अहिले यस वनको मुहार नै फेरिएको छ । अहिले सालका रुख र कू-काठ गरी दुई हजार भन्दा बढी रुखहरू छन् । सालका रुखहरू रोपेर नहुने भएकाले त्यसका लागी आफै उम्रिएका बिरुवाहरूको नै संरक्षण, छाँटकाट गरी हुर्काउनु पर्ने भएकाले समूह सुरुमा सालका बिरुवा संरक्षण गर्न तर्फ लाग्यो ।

शान्ति भन्छिन्, ‘अहिले त सालको रुख सँगै कु काठहरू पनि प्रशस्तै छ, हामी आफैले पनि कुसुम, जामुन, सिसम, लिप्टिस, खयर, रुइनो लगायतका रुखहरू रोपेको छौ, एकदमै धेरै घना जंगल बनाएका छौ,सबैले घाँस दाउरा पाइरहनुभएको छ ।’

७२.७९ हेक्टरमा रहेको शिव सामुदायिक वनबाट १५३ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । वर्षमा २ पटक दाउराको लागि बन खोल्ने गरिएको छ । यहाँको सफाइ, कटाइ सबै काम शान्ति देवीको समूहले नै गर्छन् । सामुदायिक वनबाट पनि धेरै महिलाहरूको जीविकोपार्जन र आयआर्जन पनि भइरहेको छ ।

दाउरा सङ्कलन गरेर बेच्ने, पातबाट दुनाटपरी बनाउने, घर निर्वाण गर्न काठ ल्याउने, पशुपालन गर्न घाँस स्याउला ल्याउने गर्दछन् । अहिले यस वनको वार्षिक ७० देखि ८० हजार बराबरको आर्थिक कारोबार हुने गरेको छ भने समितिको खातामा समेत १६ हजार रकम रहेको छ जुन रकम सामाजिक कार्यमा खर्च गर्ने गरिन्छ ।

१३ वर्षको अनुभवले शान्तिलाई धेरै कुरा सिकाएको छ । वनको संरक्षण कसरी गर्ने उपभोग कसरी गर्ने र व्यवस्थापन सम्बन्धी थुप्रै जानकारी लिई सकेकी छन् ।

आफूले सिकेका कुरा समूहमा आएर सबैलाई सिकाउने गर्छिन् जसले गर्दा समूहका सबै जना वन उपभोग र संरक्षण कसरी गर्ने भन्ने विषयमा निकै जानकार भएका छन् ।

शान्ति आफ्ना सामुदायिक वन उपभोक्ता समिति र गाउँलेहरूसँग मिलेर वन व्यवस्थापनका लागि वनमा अग्निरेखा, काट्ने छाँट्ने, अट्लाउने पल्टाउने र छपानी आदेश लिएर पुराना काम नलाग्ने रुखहरूलाई काट्ने लगायतका काममा निकै सक्रिय भएर लाग्ने गर्दछिन् ।

कालराम चौधरी विगत आठ वर्ष देखि सबडिभिजन वन कार्यालय बसान्ता कैलारीमा जमदारको रूपमा कार्यरत छन् । सामुदायिक वन र शान्ति देवीको नेतृत्वलाई नजिक बाट नियाल्दै आएका छन् ।

कलराम भन्छन्, ‘उहाँले वन पनि जोगाउनु भएको छ,आफ्नो कार्य समितिमा सबै पदाधिकारीहरूलाई मिलाएर लैजानु भएको छ ,हामीलाई पनि अचम्म लाग्छ एउटा महिला भएर यतिका अहिले सम्म अध्यक्ष भएर काम गर्नू भएको छ, कसै सित बोल्न डराउनुहुँदैन एकदमै साहसी महिला हो शान्ति देवी ।’

सामुदायिक वनको छाता संगठन बसन्ता सि एफ सिसि (बसान्ता वन क्षेत्र सामुदायिक वन उपभोक्ता समिति) का सदस्य देव समझ चौधरी शान्ति शिव सामुदायिक वनको अध्यक्ष भए देखि नै संगठनमा हुनुहुन्छ शान्तिको नेतृत्वलाई निकै प्रशंसा गर्छन् । उनले भने, ‘शिव सामुदायिक वन समितिका मान्छेहरू धेरै मेहनती छन्, हामीले दिने कामहरू जसले राम्रोसँग गर्नुहुन्छ त्यस वन समितिलाई हामी सम्मान गर्ने गर्छौ त्यही काम गरेको भएर शिव सामुदायिक वनलाई हामीले चार पटक सम्मान गरिसकेको छौ, यसले उहाँहरुलाई अझ बढी काम गर्ने प्रेरणा दिन्छ, शान्ति देवीले यो वनको लागी धेरै मेहनत गर्नुभएको छ ।’

पछिल्लो समय सामुदायिक वन स्रोतबाट महिलाहरूको आर्थिक सशक्तीकरण र नेतृत्वमा समेत विकास भएको छ । महिलाले घर, भान्सा, बालबच्चा र परिवार व्यवस्थापन मात्र गर्न सक्छन् भन्ने समाजलाई चुनौती दिँदै उनीहरूले हाम्रो समाजको नै सोच बदलिदिएको छ ।

सामुदायिक वनमा जिम्मेवारी सम्हालेका कतिपय महिला अहिले नेतृत्वदायी भूमिकामा पुग्न सफल भएका मात्र नभई उनीहरू समुदायको विकास निर्माण, समाजमा हुने हिंसा न्यूनीकरण, सामाजिक समस्याको निराकरणका जस्ता विभिन्न काममा टेवा पुर्‍याउँदै आएकी छन् ।

उनी आफूलाई स्थानीय तहले बनका कार्यमा सहयोग गरेको बताउँछिन् । तर, अन्य कामको जस्तो पैसा आउने काम भने नहुँदा यसलाई आर्थिक रूपमा जोड्नलाई त्यस्ता कार्यक्रमहरू पनि ल्याउनमा सहयोग पुर्‍याउनुपर्ने उनको भनाई छ ।

यसका साथै यसै सामुदायिक बनबाट कसरी आर्थिक रूपमा आम्दानी पनि गर्न सकिन्छ भनेर स्थानीय तहले काम गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।

रेशु बराइली


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर