सूर्यदर्शन सहकारी प्रकरण : पक्राउ परेकाको बयान सकिँदै, आजैबाट थुनछेक बहस – Nepal Press

सूर्यदर्शन सहकारी प्रकरण : पक्राउ परेकाको बयान सकिँदै, आजैबाट थुनछेक बहस

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूको बयान अन्तिम चरणमा पुगेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा अघिल्लो सोमबारबाट जारी बयान अन्तिम चरणमा पुगेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

अहिले आरती गुरुङको बयान चलिरहेको छ । आरतीको बयान अन्तिम चरणमा रहेको र सकिएलगत्तै तत्कालै थुनछेक बहस सुरू हुने स्रेस्तेदार खनालले बताए ।

‘बयान अन्तिम चरणमा छ । उक्त बयान सकिएपछि थुनछेक बहस सुरू हुन्छ,’ उनले नेपाल प्रेससँग भने ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, पूर्वसांसद मीना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान लिइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध १ करोड ५१ लाखभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । गत कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *