विभेदविरुद्ध सुदूरपश्चिममा विद्रोहको तयारी, अभियानको नाममा बन्ला त क्षेत्रीय पार्टी ?

कैलाली । राज्यले सुदूरपश्चिम प्रदेशलाई विभेद गरेको भन्दै शालीन विद्रोहको तयारी सुरु गरिएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य नरेश शाहीको नेतृत्वमा ‘स्वाभिमान सुदूरपश्चिम’ नामक अभियान सुरु गर्ने तयारी गरिएको हो । उनी प्रदेशका पूर्वआर्थिक मामिलामन्त्रीसमेत हुन् ।
शाहीले प्रदेशमा रहेका विभिन्न पार्टीका नेता कार्यकर्ता, स्वतन्त्र व्यक्ति, नागरिक समाज तथा समाजका प्रबुद्ध व्यक्तिहरूसँगको निरन्तर छलफलपछि स्वाभिमान सुदूरपश्चिम अभियान सुरु गर्ने तयारी गरेका हुन् ।
‘सुरुबाटै सुदूरपश्चिम प्रदेशमाथि विभेद गरिएको छ । पूर्वको कुनै जिल्ला बराबरको बजेट पनि प्रदेशमा नआउनु विडम्बना हो’, शाही भन्छन्, ‘अब सुदूरपश्चिममाथि हामी विभेद गर्न दिँदैनौं । हामी विद्रोह गर्दैछौं । सशक्त विरोध गर्छौं । ’
स्वाभिमान सुदूरपश्चिम नामक अभियानमा सुदूरपश्चिमलाई विशेष प्रदेशको माग गरिएको छ । विशेषाधिकारसहित क्षतिपूर्ति दिइनुपर्ने, आर्थिक उत्पादनबाट रोजगारी सृजना गर्न लगानी प्रवर्द्धन गरी गरिबी निवारण गर्नुपर्ने, स्रोतको बाँडफाँटमा सुदूरपश्चिमले आफ्नो हिस्सा पाउनुपर्ने, राजनीतिक नियुक्तिमा प्रदेशको सम्मानजनक उपस्थिति हुनुपर्ने माग राखिएको छ ।
भ्रष्टाचार र अकुत सम्पत्ति कमाउने प्रवृत्तिमाथि अधिकार सम्पन्न आयोग बनाएर छानबिन गर्नुपर्ने मागसमेत गरिएको छ । यहाँको गरिबी निवारण, आर्थिक उत्पादन, रोजगारी सृजना र उद्योग क्षेत्रको लगानीका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने मागसहित शाहीले अभियान थालेका छन् ।
सुदूरपश्चिमबाट ठूलो संख्यामा सस्तोमा श्रम बेच्न भारत जानेहरू छन् । उनीहरुको न तथ्याङ्क राखिएको छ न त मृत्यु वा घाइते हुँदा राज्यले कुनै चासो दिएको छ । पुस्तौंसम्म भारत बस्दै आएकाबारे राज्य बेखबर जस्तै छ । नयाँ अभियानमा उनीहरुका माग मुद्दा पनि समेट्ने तयारी गरिएको छ ।
शाहीकै नेतृत्वमा अभियानको मूल समिति तयार गरिएको छ, तर त्यसलाई सार्वजनिक भने गरिएको छैन । त्यसलगत्तै प्रत्येक जिल्लामा समिति बनाउने तयारी गरिएको छ ।
‘हामीले आन्तरिक सबै तयारी गरिसकेका छौं । केही समयभित्रै आधिकारिक घोषणा गर्छौं’, उनले भने, ‘हाम्रो समूहमा समाजका विद्वानदेखि गन्यमान्य सबै समेटिनुभएको छ ।’
सुदूरपश्चिम प्रदेशका विषयलाई लिएर नयाँ अभियान थाल्ने तयारी गरे पनि अहिल्यै राजनीतिक पार्टीको रुपमा अगाडि बढाउने लक्ष्य नरहेको उनी बताउँछन् ।
अहिले अभियानको रुपमा अगाडि बढाएर आगामी निर्वाचनसम्म दलको स्वरूपमा जाने विषयमा अहिल्यै छलफल नभएको उनी बताउँछन् ।
तर अभियानमा खटिएकाहरू र शुभेच्छुकहरूको सुझावमा राजनीतिक दल बन्ने विषय पनि नकार्न नसकिने उनी बताउँछन् । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका शाही आफूले नयाँ अभियान सुरु गर्दा पार्टीले कारबाही गरे पनि स्वीकार गर्ने बताउँछन् ।
सुदूरपश्चिमबाट ठूलो संख्यामा सस्तोमा श्रम बेच्न भारत जानेहरू छन् । उनीहरुको न तथ्याङ्क राखिएको छ न त मृत्यु वा घाइते हुँदा राज्यले कुनै चासो दिएको छ । पुस्तौंसम्म भारत बस्दै आएकाबारे राज्य बेखबर जस्तै छ भन्नु भएछ अनि पैसा बाँडने मन्त्री हुँदा के गरेर बस्नु भएको थियो त ?
नरेश शाही सनकका भरमा ठूलो भाग खान नेकपा एसतिर गएका । अहिले त्यो पार्टीको बेहाल हुने देखे । एमालेमा जाउँ पहिला आफूले गरेको गालीले गर्दा जान पनि नैतिकताले दिंदैन । कम्युनिष्ट हुँ भन्नेले अब क्षेत्रीयताको सहारा लिएर नेता भईन्छ कि भनेर जनता झुक्याउन हिडेछन् । निश्चित छ जनताले यो पुरानो चोर नयाँ भेषमा ठग्न आयो भनेर खेदाउँछन् । अब सबै एसका नेताको हालत हुने नै यहि हो ।