पूर्वाधार विकास समितिको क्यालेन्डर बनाउन उपसमिति गठन
काठमाडौं । संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन भएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिमा नेपाली कांग्रेसबाट दिनेश यादव, नेकपा (एमाले) बाट ठाकुर गैरे, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निशा डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बिना लामा सदस्य छन् ।
समितिमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा गणपुरक संख्या नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन प्रस्ताव गरेका थिए ।
समितिका अन्य सदस्यले पनि सहमति जनाएपछि दलीय आधारमा उपसमिति बनाइएको हो ।