कर्णालीमा आर्थिक गतिविधिः उद्योगको क्षमता ४८ र कृषि उत्पादन ६.७९ प्रतिशतले वृद्धि – Nepal Press

कर्णालीमा आर्थिक गतिविधिः उद्योगको क्षमता ४८ र कृषि उत्पादन ६.७९ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) सार्वजनिक गरेको छ । राष्ट्र बैंकले कर्णालीका जिल्लाहरूका गैरस्थलगत अध्ययनबाट वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार पारेको हो ।

उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ उत्पादन उत्पादकको मूल्यमा ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ । आधारभूत मूल्यमा ३.५४ प्रतिशतले वृद्धि भएको अनुमान छ ।

त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ उत्पादन उत्पादकको मूल्यमा १.९५ प्रतिशत र आधारभूत मूल्यमा २.३१ प्रतिशतले वृद्धि भएको संशोधित अनुमान रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) ३.३९ प्रतिशत रहेको अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो वृद्धिदर १.९६ प्रतिशत रहेको संशोधित अनुमान छ । राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा यस प्रदेशको योगदान ४.२८ प्रतिशत छ ।

समीक्षा वर्षमा यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.९४ प्रतिशतले वृद्धि भएको छ । प्रमुख बालीमध्ये समीक्षा वर्षमा धान र मकै बालीले ढाकेको क्षेत्रफल क्रमशः ८.४८ प्रतिशत र २.१२ प्रतिशतले बढेको छ । गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफल क्रमशः ०.९७, २८.१६, ३३.३० र २३.०१ प्रतिशतले घटेको छ ।

त्यसैगरी तरकारी र बागबानी बालीले ढाकेको क्षेत्रफल ३६.४० प्रतिशत र ५.९८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन ६.७९ प्रतिशतले वृद्धि भएको छ ।

खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषि बालीमा धान र गहुँको उत्पादन क्रमशः १२.०४ र ०.४३ प्रतिशतले वृद्धि भएको छ । मकै, कोदो, जौ तथा फापरको उत्पादनमा क्रमशः ७.६१, १९.८७, १८.९८ र ८.४६ प्रतिशतले कमी आएको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा दूध उत्पादन ७.८२ प्रतिशतले बढेको छ । त्यस्तै मासु, माछा र अण्डा उत्पादनमा क्रमशः ६.५८, ३.३४ र ०.९० प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ९.१२ प्रतिशत हिस्सा ओगटेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा १.७१ प्रतिशतले घटेको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४८.५१ प्रतिशत रहेको छ । प्लास्टिकजन्य उत्पादनसम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शत प्रतिशत रहेको छ भने अन्न तथा पशु दाना उत्पादन गर्ने उद्योगअन्तर्गत पीठो उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम १५ प्रतिशत रहेको छ ।

समीक्षा वर्षमा औद्योगिक कर्जा गत वर्षको तुलनामा ३.३३ प्रतिशतले वृद्धि भएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६.९५ प्रतिशत हिस्सा उद्योग क्षेत्रले ओगटेको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा भित्रिने पर्यटकको सङ्ख्यामा २३.४० प्रतिशतले बढेको छ । भारत, चीन र तेस्रो मुलुकबाट भित्रिने पर्यटकको सङ्ख्या क्रमशः २३.४९, १५.७७ र २४.८४ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८३.९३ प्रतिशत सेवा क्षेत्रमा प्रवाह भएको छ । समीक्षा वर्षमा यस प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूको शाखा सङ्ख्या ४७५ तथा शाखारहित बैंकिङ सङ्ख्या ३० पुगेको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा कर्जा तथा निक्षेप अनुपात ७८.५० प्रतिशत रहेको छ । समीक्षा वर्षमा यस प्रदेशमा विद्युत प्रसारण लाइन २४१६.४७ किमि पुगेको छ । समीक्षा वर्षसम्म यस प्रदेशमा १७.४१ मेगावाट विद्युत उत्पादन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *