भीम रावलको ‘गैरकम्युनिष्ट’ यात्रा: रहर कि बाध्यता !
के वर्तमान राजनीतिक परिस्थितिले रावललाई गैरकम्युनिष्ट कित्तामा धकेल्दै गरेको हो ?
अहिले नेपाली राजनीतिक बजार अलि तातेको छ । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि ‘राष्ट्रवादी’ नेताको छवि बनाएका भीम रावललाई गत पुस १० गते नेकपा एमालेले संगठित सदस्यसमेत नरहने गरी निष्कासन गर्यो । एमालेबाट कारबाही भएपछि उनको ‘भविष्यको यात्रा’ कस्तो हुन्छ भन्ने प्रश्नले बजार लिएको छ । त्यसैमाथि उनले बुधबार पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भनेका छन् । जसले गर्दा राजनीतिक वृत्तमा रावलको पत्रकार सम्मेलन कौतुहलको विषय बनेको छ ।
रावलले उक्त पत्रकार सम्मेलनमा एमालेको, अझ विशेषगरी केपी शर्मा ओलीको बद्ख्वाइँ त गर्ने नै छन् । साथै भरसक नयाँ पार्टी नै घोषणा गर्ने अड्कल गरिएको छ । त्यो सम्भव भएनछ भने उनले नयाँ पार्टीको आउटलाइनसम्म सार्वजनिक गर्ने सम्भावना रहेको चर्चा छ । पछिल्लो समय सञ्चारमाध्यममा आएका खबरअनुसार अब रावलले ‘कम्युनिष्ट’ पार्टी बनाउने छैनन् । उनले ‘गैरकम्युनिष्ट’ पार्टी बनाउने संकेत गरेका छन् । झण्डै पाँच दशकदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहेको दाबी गर्दै आएका रावलका लागि जीवनको उत्तरार्द्धमा गैरकम्युनिष्ट राजनीतिक यात्रा कति सहज होला ? त्यो त भविष्यले नै बताउला, तर अहिलेको प्रश्न ‘गैरकम्युनिष्ट’ यात्रामा जानु उनको लागि रहर हो कि बाध्यता भन्नेबारे चर्चा केन्द्रित छ ।
कम्युनिष्टबाट गैरकम्युनिष्ट राजनीतिमा जम्प मार्ने भीम रावल पहिलो व्यक्ति भने होइनन् । नेपाली कम्युनिष्ट इतिहासमा यो यात्रा २०१७ सालदेखि नै प्रारम्भ भएको पढ्न पाइन्छ । नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव केशरजंग रायमाझीबाटै यो बाटो तय भएको थियो । तत्कालीन राजा महेन्द्रले गरेको पुस १ गतेको ‘कु’ लाई हेर्ने दृष्टिकोणमा मतभिन्नता भएपछि केशरजंग रायमाझीले दरबारलाई सहयोग गरे । पछि उनलाई ‘दरवारको कम्युनिष्ट’ भन्ने आरोपसमेत लाग्यो । उनी २०४६ सालको आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री भए र पछि राजसभा स्थायी समितिका सदस्यसमेत रहे ।
कम्युनिष्टबाट गैरकम्युनिष्ट राजनीतिमा जम्प मार्ने भीम रावल पहिलो व्यक्ति भने होइनन् । नेपाली कम्युनिष्ट इतिहासमा यो यात्रा २०१७ सालदेखि नै प्रारम्भ भएको पढ्न पाइन्छ । नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव केशरजंग रायमाझीबाटै यो बाटो तय भएको थियो ।
२०२८ सालको झापा विद्रोहदेखि नै नेपाली वामपन्थी राजनीतिको केन्द्र भागमै रहेका राधाकृष्ण मैनाली (आरके) र देवीप्रसाद ओझाले २०५९ साल असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रको शाही ‘कु’ लाई समर्थन गर्न पुगे र मन्त्री भए । कुनै बेला ‘उग्र कम्युनिष्ट’ को रुपमा आफ्नो पहिचान बनाएका अर्का कम्युनिष्ट नेता गोरेबहादुर खपाङ्गीको राजनीतिक यात्रा पनि अन्ततः ‘महाराज’ को कृपाबाट मन्त्री पदसम्म पुग्यो । चर्चामा रहेका यी र यस्ता कम्युनिष्ट नेताहरु जसले गैरकम्युनिष्ट बाटो अँगाले, उनीहरु कृपाबाट राजकीय पदमा त पुगे, तर जनतासँगको सम्बन्धका हिसाबले गैरकम्युनिष्ट राजनीति खासै फलिफाप भएन । राजनीतिक रुपमा उनीहरु गुमनाम नै भए ।
पछिल्लो समय गैरकम्युनिष्ट अभ्यासमा लागेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हाल गुमनामै त भएका छैनन्, तर उनको गैरकम्युनिष्ट यात्रा पनि फलिफाप हुने देखिएको छैन । १० वर्षे सशस्त्र संघर्षका क्रममा विभिन्न उपनामका साथ आफ्नो छुट्टै पहिचान बनाएका भट्टराई कम्युनिष्ट आन्दोलनबाटै देशको कार्यकारी प्रमुख हुन सफल भए, तर पछि उनले कम्युनिष्ट राजनीति छाडेर गैरकम्युनिष्ट बाटो रोजे । उनको त्यो गैरकम्युनिष्ट यात्रा फलामे च्यूरा सावित भएको छ । उनकै धर्मपत्नी हिसिला यमीको हविगत पनि उस्तै छ ।
माथि उल्लेख भएका वा नभएका अरु केही पात्र र नेपालको कम्युनिष्ट आन्दोलनको विषयमा राम्रो ज्ञान भएका भीम रावल पनि गैरकम्युनिष्टकै बाटोमा जाने तयारी गर्दैछन् । आफ्नो जीवनको करिब दुई तिहाइ हिस्सा मुट्ठी उठाउँदै लाल सलाम दिन र लिनमा व्यतित गरेका रावलले अब अभिवादनको नयाँ शब्द र संकेतमा अभ्यास गर्नेछन् । के उनको गैरकम्युनिष्ट राजनीतिक यात्रा सफल होला !
उनी कम्युनिष्ट दर्शनबाट वाक्कदिक्क भएर पक्कै पनि यो बाटो समात्दै छैनन् होला ! उनी कम्युनिष्ट दर्शनले समाज परिवर्तन हुन सक्दैन भन्ने टुङ्गोमा पुगिसकेका पनि हैनन् होला ! किनकि उनले कम्युनिष्ट दर्शनको अध्ययनमात्रै होइन, विश्लेषण पनि गरेका छन् । दुर्गम बस्तीका जनतालाई समाजवादको स्वर्णिम सपना देखाउँदै आधा शताब्दीसम्म त्यही दर्शन पढ्दै र पढाउँदै आएका छन् । वर्षौंदेखि अरुलाई पढाउँदै आएको दर्शन रावलले एकाएक छोड्लान् र ! प्रश्न स्वाभाविक रुपले उठ्छ । के वर्तमान राजनीतिक परिस्थितिले रावललाई गैरकम्युनिष्ट कित्तामा धकेल्दै गरेको हो ? नभए उनका बाध्यता पनि छन् होला । त्यसका केही कारणहरु पनि छन्ः
अमेरिका-नेपालबीच भएको एमसीसी सम्झौताको विरुद्धमा न्वारनदेखिको तागत लगाएर उनले गरेको भाषणका कारण उनलाई ‘राष्ट्रवादी’ नेता मान्नेहरुको जमात तयार भएको छ । त्यो जमातमा कम्युनिष्ट विचार राख्नेहरुभन्दा गैरकम्युनिष्ट विचार राख्नेको संख्या धेरै छ ।
१. कम्युनिष्ट नेताहरुप्रतिको जनअसन्तुष्टि
पछिल्लो समयमा सामाजिक सञ्जाल वा सार्वजनिक समारोहमा आफूलाई ‘कम्युनिष्ट’ दाबी गर्ने शीर्ष नेताहरुप्रति जनअसन्तुष्टि बढेको छ । एकातिर कम्युनिष्ट नामका नाङ्ले पसलहरु बढ्दै जानु, अर्कोतिर ती पसलेहरुको बानी व्यवहारप्रति जनता असन्तुष्ट बन्दै जानुले भीम रावल तर्सेका हुन सक्छन् । राजनीतिमा ‘बाठा पात्र’ मानिने रावललाई पनि कम्युनिष्ट नामको पुच्छर जोड्दै अगाडि बढेमा आफूलाई ‘राष्ट्रवादी’ ठान्नेहरुले सहयोग गर्दैनन् कि भन्ने भय भएको पनि हुनसक्छ ।
२. साइत चुकेको बेला
भीम रावलका लागि कम्युनिष्ट नामधारी पार्टी गठन गर्ने यो उत्तम साइत होइन । उनले त्यो साइत चुकाएका छन् । यो वा त्यो कोणबाट लामो समयदेखि नेपाली राजनीतिको केन्द्र भागमै रहेका रावल २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतले नेकपा टुक्र्याइदिएयता कमजोर हुँदै गएका छन् । अदालतले एमाले र माओवादी केन्द्रलाई आआफ्नै बाटोमा फर्कन आदेश गर्दासम्म पनि भीम रावल ‘हिरो’ जस्तै देखिएका थिए ।
एमालेभित्र मच्चिएको कोलाहलको क्रममा पनि उनी अग्र स्थानमै थिए । त्यो समय उनका लागि नयाँ पार्टी स्थापना गर्ने वा एमालेसँग सम्बन्ध बिच्छेद गर्ने उत्तम साइत थियो, तर उनले आफैसँग सम्झौता गरेर एमालेमै बसे । त्यसैबेलाबाट उनी कमजोर बन्दै गए । न उनले एमाले त्याग्न सके न त आफूलाई एमाले बनाउन सके । एमाले हुँ भन्दै एमालेलाई नै सराप्दै गए । उनको अनिर्णयले उनका कार्यकर्ताहरु कोही एमालेमै सोझिए, कोही एकीकृत समाजवादी वा माओवादीको यात्रामा निस्किए । अब रावललाई साथ दिने कम्युनिष्ट कार्यकर्ताको संख्या ज्यादै थोरै छ । त्यसैले उनका लागि यो गैरकम्युनिष्ट यात्रा बाध्यकारी बनेको हुनसक्छ ।
‘कम्युनिष्ट’ मात्रै भन्ने हो भने फेरि नाङ्लो भर्न सक्दैन कि भन्ने आफैंमाथि शंका छ उनलाई । त्यसैले उनी गैरकम्युनिष्ट नाम अगाडि सार्दैछन् होला । एउटै स्थलमा राम-रहिम दुवै भेटिने भएपछि त भक्तजनहरु आउँछन् कि भन्ने आश उनलाई होला ।
३. गैरकम्युनिष्टहरुले साथ दिने आश
अमेरिका-नेपालबीच भएको एमसीसी सम्झौताको विरुद्धमा न्वारनदेखिको तागत लगाएर उनले गरेको भाषणका कारण उनलाई ‘राष्ट्रवादी’ नेता मान्नेहरुको जमात तयार भएको छ । त्यो जमातमा कम्युनिष्ट विचार राख्नेहरुभन्दा गैरकम्युनिष्ट विचार राख्नेको संख्या धेरै छ । यद्यपि उनीहरु कम्युनिष्ट होऊन् वा गैरकम्युनिष्ट, कुनै न कुनै दलसँग आवद्ध छन् । रावलले पार्टी खोल्दैमा उनीहरु रावलकै पछाडि लामबद्ध भइहाल्छन् भन्ने कुराको कुनै ग्यारेन्टी छैन, तर रावललाई कम्युनिष्ट/गैरकम्युनिष्ट सबै अट्नसक्ने साझा चौतारी बनाउन सके आफू स्थापित भइहाल्छु कि भन्ने आश भएको हुनसक्छ ।
४. आफैंप्रतिको शंका
अरुले आफ्नो आलोचना गरेको सहनै नसक्ने र आत्मालोचना गर्नै नचाहने शीर्ष कम्युनिष्ट नेताहरुमध्ये रावल पनि अग्र स्थानमै आउँछन् । विरोधीलाई कसरी ‘साइड’ लगाउने भन्ने सवालमा केपी ओली र रावलमा धेरै भए १९-२० को फरक होला । फरक यति हो कि अहिले ओलीको हात माथि पर्यो, रावललाई निष्कासनसम्म गरियो । ‘रावलले मेरो राजनीति समाप्त गरे’ भन्दै आँशु झार्ने धेरै कम्युनिष्ट कार्यकर्ताहरु सुदूरपश्चिममा अहिले पनि छन् ।
कम्युनिष्ट घटकमा यताउता भइरहने नेता कार्यकर्ताहरुलाई उनको यो ‘निरंकुश’ शैलीको राम्रो ज्ञान छ । आफ्नो शैलीप्रति परिचित कम्युनिष्टहरुले जम्काभेटमा ‘नाईं’ भन्न नसके पनि साथ दिने छैनन् भन्ने थाहा छ उनलाई । फेरि नेपालीको बानी हो कि बलेको आगोमात्रै ताप्छन् । रावल भर्खर आगो बाल्न खोज्दैछन् । ‘कम्युनिष्ट’ मात्रै भन्ने हो भने फेरि नाङ्लो भर्न सक्दैन कि भन्ने आफैंमाथि शंका छ उनलाई । त्यसैले उनी गैरकम्युनिष्ट नाम अगाडि सार्दैछन् होला । एउटै स्थलमा राम-रहिम दुवै भेटिने भएपछि त भक्तजनहरु आउँछन् कि भन्ने आश उनलाई होला ।
खैर ! जेसुकै होस्, एमालेले पार्टीलाई भीम रावल चाहिँदैन भनेर औपचारिक घोषणा गरिसकेपछि एक सचेत राजनीतिक व्यक्तिले आफ्नो यात्राको निरन्तरताका लागि पनि नयाँ प्लेटफर्म बनाउन आवश्यक नै हुन्छ र कम्युनिष्ट नाममात्रै जोडेका अहिलेका दलहरुभन्दा गैरकम्युनिष्ट नाम धारण गर्दा कुनै समस्या छैन भन्ने कुरा कमरेड रावलले राम्रैसँग बुझेका होलान् !
रावलको मिसन भनेको कम्युनिष्ट गैरकम्युनिष्ट नै होईन । यिनको एकमात्र मिसन विदेशीको निर्देशनमा एमाले र ओलि कमजोर बनाउने हो । यिनका राष्ट्रियताका चर्का कुरा नक्कलि हुन् । असली रूप चाहिँ विदेशीको दलाल बनेर एमाले विरूद्व लाग्ने हो । माधवहरूलाई एस खोल्न उकास्ने, विधान बनाईदिने नै भिम रावल हो । यिनी त्योबेलादेखि ओलि विरूद्व लागे जब ओलिले चुच्चे नक्सा निकाले । प्रचण्ड, माधव, वामदेव र भिम रावलका मालिक एउटै हुन् ।