चितवनमा गाउँ पसेर गैंडाको आक्रमण : एक जनाकाे मृत्यु, ७ घाइते
चितवन । चितवनको पूर्वी क्षेत्रमा पर्ने खैरहनी नगरपलिकाको पर्सा बजार नजिकै निस्किएको गैँडाले एकाबिहानै घरमा आगो तापिरहेका खैरहनी १ का ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महतलाई घाइते बनायो ।
त्यसपछि बिहान ६ बजेदेखि नै मध्यगाउँको ज्यामिरे र चैनपुरको मकैबारीमा गैँडा बसेको खबर स्थानीयले प्रहरी निकुञ्ज पूर्वी सेक्टर कार्यालयमा पनि गरे । बिहान गैँडा गाउँ पसेको थाहा पाएपछि ४ वटा हात्ती, निकुञ्ज प्रशासनका टीम र प्रहरीसहित गएको टोलीले दिउँसो १ बजेसम्म लगाएर गाउँ बिचबाट जंगल पठाउने प्रयास गरे ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर सौराहाका संरक्षण अधिकृत सन्त मगरका अनुसार लदरी खोलाबाट झारेर निकुञ्ज जंगलतर्फ गैँडा ल्याउन प्रयास गरिएको थियो । तर, स्थानीय मानिसहरुको भीडका कारण गैँडालाई निकुञ्ज तर्फ पठाउन नसकेपछि कयरखोलाको माथिल्लो भेगमा रहेको शक्तिखोरतर्फबाट जंगल धपाएर निकुञ्ज र प्रहरीको टोली फर्कियो ।
पूर्व पश्चिम राजमार्गको तलतर्फ डिभिजन वन कार्यालय चितवनको क्षेत्र पर्छ । त्यसैले निकुञ्जका प्रशासनको टीम जंगलतर्फ गैँडा फर्काएपछि गैँडा पुनः बस्तीतर्फ पस्यो । बस्ती पसेको गैँडा रत्ननगर नगरपालिकाको १६, १४ र १२ वडामा जहाँ जहाँ मानिस भेटिन्छ हान्दै, गुडिरहेको गाडी समेत पल्टाएर अघि बढ्यो ।
गैँडाले आफ्नो बाटोमा भेटिएका जति मान्छेलाई हान्दै अघि बढ्दा रत्ननगर १६ का ७८ वर्षका डम्बर बहादुर थापालाई हान्यो । उनको दाहिने खुट्टामा चोट लागेको छ ।
त्यसपछि सोही वडाकी ७० वर्षीया कृष्णकुमारी थापालाई गम्भीर घाइते बनायो । उनको उपचारको क्रममा भरतपुर अस्पतालमा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।
गाउँ गाउँ अघि बढेको गैँडाले हानेर घाइते हुनेमा रत्ननगर १२ का ७२ वर्षका चेतनाथ चौलागाइको बाँया खुट्टामा र अनुहारमा चोट लागेर भरतपुर अस्पतालमा मध्यम अवस्थामा उपचार भइरहेको छ भने सोही वडाका ३९ वर्षकी सीता पोखरेलको टाउकोमा चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि रत्ननगर नगरपािलका १४ बस्ने बर्ष ६० की मीना गुरुङको बायाँ खुट्टामा चोट लागेको र भने सोही वडाका २५ वर्षका पुजन विकको बायाँ आँखामाथि चोट लागेको छ । उनीहरुदुबै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गाउँ गाउँ मनमौजी हिँडेको गैँडा अन्ततः दिउँसो साढे ३ बजे आसपासको समयमा टिकौली जंगलको इकोपार्क कटेर मिलीजुली सामुदायिक वनमा प्रवेश गरेको खबर आएको संरक्षण अधिकृत सन्त मगरले नेपाल प्रेसलाई बताए ।