अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि थप काम गर्न आवश्यक छ: गर्भनर अधिकारी – Nepal Press

अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि थप काम गर्न आवश्यक छ: गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकमा सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति नभएको बताएका हुन् ।

गर्भनर अधिकारीले भने, ‘मंसिरको रिपोर्टले पनि आर्थिक गतिविधिहरू केही सन्तोषजनक रहेको देखाएको छ । सार्वजनिक र निजी क्षेत्रबाट भएका प्रयासहरूलाई राष्ट्र बैंकले आर्थिक सहयोग प्रदान गरेको छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पु¥याएको छ ।’

उनले पछिल्लो समय राज्यमा औद्योगिक क्षेत्रको विकास हुँदै गएको दाबी गरेका छन् ।

‘२०४८ सालदेखि अहिलेको अवस्था हेर्दा उद्योगहरूको आकार ठूला भएका छन् । सिमेन्ट, रड जस्ता उद्योग फस्टाइरहेका छन्, जसले बैंकहरूमा ऋणको माग बढाएको छ । यो माग अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक मान्नुपर्छ’, उनले भने ।

गर्भनर अधिकारीले केही क्षेत्रमा संकटको चर्चा भए पनि नेपालले अन्तर्राष्ट्रिय स्तरमा ‘कन्ट्री रेटिङ’लाई कायम राखेको उल्लेख गरे ।

‘यो नेपालका लागि एउटा सफलता हो’, उनले भने ।

उनले योजनाहरू समयमा सुरु गरेर सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । मन्त्रालय र विभागहरू थप सक्रिय भएर काम गर्नुपर्ने उनको सुझाव छ ।

गर्भनर अधिकारीले आर्थिक सुधारका लागि प्रयासहरू जारी रहेको र थप समय लाग्ने बताए ।

‘ठ्याक्कै जादुको छडी जस्तो केही छैन । योजनाहरूलाई समयमै कार्यान्वयन गर्नु आवश्यक छ’, उनले भने ।

उनले पत्रकारहरूलाई तथ्यमा आधारित र अनुसन्धानमूलक समाचार लेख्न आग्रह गरे । गलत सूचनाका कारण जनतामा नकारात्मक धारणा बनिरहेकाले जिम्मेवारीपूर्वक लेख्नुपर्नेमा उनले जोड दिए ।

गर्भनर अधिकारीले भने, ‘तपाईंहरूले लेख्ने समाचार जनताको लागि हो । सही कुरा लेख्नुभयो भने जनताको धारणा सकारात्मक बन्छ, तर गलत लेखे नकारात्मक धारणा बन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *