‘प्रहरी हौं’ भन्दै किशोरीको अपहरण, केही घण्टामै यसरी समातिए संलग्न दुई पुरुष – Nepal Press

‘प्रहरी हौं’ भन्दै किशोरीको अपहरण, केही घण्टामै यसरी समातिए संलग्न दुई पुरुष

कैलाली । कञ्चनपुरमा प्रहरी भएको बताउँदै किशोरीलाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार राति १२ बजे भीमदत्त नगरपालिका–६ को शिव मन्दिर नजिकै नहरमा साथीसँग हिँडिरहेको अवस्थामा १६ वर्षीया किशोरीलाई अपहरण गरेको आरोपमा भीमदत्त नगरपालिका–१६ बस्ने ३५ वर्षीय महेश सिंह खत्री र ३३ वर्षीय धुर्व जोशीलाई पक्राउ गरेको हो ।

उनीहरु दुवै जनाले हामी प्रहरी हौँ भन्दै किशोरीलाई मोटरसाइकलमा राखेर अपहरण गरेका थिए । प्रहरीले आइतबार बिहान मात्र किशोरीलाई भीमदत्त नगरपालिका–१६ वसन्तपुरबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) उमेशराज जोशीले जानकारी दिए ।

किशोरी अपहरण गर्न प्रयोग गरेको बा.५५.प. ९६१३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

सम्साँझै अपहरणमा परिन् किशोरी

१३ गते साँझ करिब ७ः३० बजे किशोरी शिव मन्दिर नजिकै नहरमा साथीसँग हिँडिरहेकी थिइन् । ‘हामी पुलिस हौं, यति बेला कहाँ हो, पुलिस चौकी लैजान्छौँ’ भन्दै किशोरीलाई बा.५५.प. ९६१३ नम्बरको बिचमा राखेर दुई युवकले हुइँकाए । केही घण्टासम्म मोटरसाइकलमै रहेर दुई युवकले किशोरीलाई बजार परिक्रमा गराएका थिए । त्यसपछि महेश खत्रीको कटेजमा लगे ।

७ः३० किशोरी अपहरणमा परेको घटनाबारे प्रहरीले राति करिब १२ बजे मात्रै थाहा पाएको थियो । किशोरीसँगै रहेका युवकले ‘प्रहरी भन्दै किशोरीलाई प्रहरी चौकी लगिएको थियो ती किशोरी कहाँ छिन्’ भनेर सोध्दा मात्रै प्रहरीले प्रहरी भन्दै किशोरीलाई कसैले लागेको जानकारी पाएको थियो । पहिले किशोरीको फोन अफ थियो केही समयपछि फोन गर्दा किशोरीले आफू अपहरणमा परेको र कटेजमा रहेको जानकारी गराइन् ।

अपहरित किशोरीकै भनाइ लाई आधार बनाएर प्रहरी उक्त कटेजसम्म पुगेको थियो । ‘हामीले जानकारी पाएको करिब २ घण्टामै किशोरीको उद्धार गरेका थियौँ’, प्रहरी प्रवक्ता जोशीले भने, ‘पहिले किशोरीको उद्धार र त्यसपछि मात्रै अपहरणकारीको खोजी तर्फ हामी लाग्यौँ ।’ अपहरणकारीले सुरुबाटै मदिरा सेवन गरेका थिए । किशोरी अपहरण गरेर बन्धक बनाएपछि पनि उनीहरु मदिरा सेवन गर्न थाले ।

किशोरी उद्धारलगत्तै प्रहरीले धुर्व जोशीलाई पक्राउ गरेको थियो । धुर्वको बयानको आधारमा प्रहरीले महेश खत्रीलाई बिहान करिब ६ बजेतिर पक्राउ गरेको थियो ।

ती युवकहरू र किशोरीबीच कुनै चिनजान भएको नदेखिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक लिन नहुने कसूरमा जिल्ला अदालतबाट ७ म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर