मकवानपुरमा मान्छे मार्ने बाघ नियन्त्रणमा
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा मान्छेसहित सातवटा बाख्रालाई मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ ।
गत पुस १४ गते मनहरी गाउँपालिका वडा नंबर ५ बसन्तपुरमा घाँस काट्न बारीको छेउमा गएकी ७२ वर्षीया कान्छीमाया रुम्बालाई आक्रमण गरि मार्ने बाघलाई मंगलबार नियन्त्रणमा लिइएको हो ।
१४ गते मान्छेलाई आक्रमण गरि मारेको बाघले १५ गते विहान सोहि गाउँको सुर्यबहादुर मोक्तानको खोरको सातवटा बाख्रा मारिदिएको थियो ।
गाउँमा बाघको आतंक भएपछि चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा हात्तीसहित आएको टोलीले वाघलाई नियन्त्रणमा लिएको हो ।
बाघले मारेको बाख्रालाई बाघ जंगलतिर भागेको ठाउँतिर राखेर डार्ट टोली स्ट्यान्डबाइ बसेको थियो । चितवन राष्ट्रिय निकुन्ज तथा पर्सा राष्ट्रिय निकुन्जका प्राविधिकहरु, नेपाली सेना, जनप्रतिनिधिसहितको टोलीले मरेको बाख्रा देखाएर बाघलाई आकर्षित गर्ने र डार्ट गरेर नियन्त्रणमा लिएको हो ।