सशस्त्रका चार डीआईजीको म्याद थपिएन, पाँच दिनभित्र अवकाशमा जाने
काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत चार डीआईजीको म्याद थप गर्ने प्रस्ताव मंगलबारको मन्त्रिपरिषद्ले स्वीकृत गरेन ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकको सिफासिरका आधारमा गृह मन्त्रालयले मन्त्रिपरिषद्मा दर्ता गरेको उक्त प्रस्ताव पारित भएन, तर सोही मन्त्रालयको प्रस्तावअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङको सरुवा गर्ने प्रस्ताव भने स्वीकृत भएको छ ।
मन्त्रालयले सशस्त्रको डीआईजीका रुपमा चार वर्षे कार्यकाल पूरा गरेका शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङको एक वर्ष म्याद थपका निम्ति एक साताअघि नै मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । संगठन स्थापनाताका सेना र प्रहरीबाट समायोजित भएका अधिकृतहरुले हालसम्म संगठनको नेतृत्व गर्दै आएका छन् । ती डीआईजीको म्याद थप हुँदा फेरि पनि केही वर्षसम्म समायोजित टोलीकै हालिमुहाली चल्ने अवस्था हुन्छ । त्यसो हुँदा सशस्त्र प्रहरी बलकै अधिकृतका रुपमा सेवा प्रवेश गरेका कर्मचारीका हकमा अन्याय हुने भन्दै बलभित्र व्यापक असन्तुष्टि चुलिएको छ ।
‘नयाँले मौका पाउनुपर्छ भन्ने अफिसरहरुको माग रहँदै आएको छ’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘सशस्त्रकै अफिसरबाट आगामी नेतृत्व आउनुपर्ने पक्षले मन्त्रिपरिषद्लाई पनि प्रभावित पारे जस्तो बुझिन्छ ।’
अहिले म्याद थप्न सिफारिसमा परेका डीआईजीको म्याद थप नभए उनीहरु पाँच दिनपछि अर्थात् पुस २३ गते मध्यरात अवकाश हुन्छन् । त्यस्तो भयो भने सशस्त्र प्रहरीको इन्स्पेक्टर नियुक्तिको पहिलो व्याच (सिसं १) का मनिष थापासहितका ६ जना एसएसपीले डीआईजीमा बढुवा पाउँछन् ।
त्यसलगत्तै सोही व्याचमा भर्ना भई हाल डीआईजी रहेका पाँचमध्ये तीनले निकट भविष्यमै एआईजीको बढुवा पाउँछन्, तर डीआईजीमा पुरानै टोलीको म्याद थप हुँदा सशस्त्र सेवामा सीधा प्रवेश गर्ने अधिकृतहरुलाई मार पर्ने भनी संगठनभित्र असन्तुष्टि चुलिएको थियो ।