गोर्खा भर्तीका २१० वर्ष : जंगबहादुर गोर्खा भर्तीको विपक्षमा, सैन्य सहयोगको पक्षमा – Nepal Press

गोर्खा भर्तीका २१० वर्ष : जंगबहादुर गोर्खा भर्तीको विपक्षमा, सैन्य सहयोगको पक्षमा

काठमाडौं । बेलायतीहरुले गोर्खाहरुलाई बहादुरको बिम्बमात्रै देखाउने गर्छन् । त्यसो गर्दा बहारदुरहरुका पनि कमान्डरको रुपमा आफू झन् बहादुर देखिने उनीहरुको कूटनीति जस्तो देखिन्छ । त्यसैले बेलायतीहरुले लेखेका किताबहरुमा गोर्खाको बहादुरीको चर्चा हुन्छ, वेदनाको हुन्न ।

बेलायती सैनिक भएर १३ वर्ष काम गरेर सन् १९९३ मा अवकाश लिएका टिम आई गुरुङ भने बहादुरीको बिम्ब नकार्दैनन्, तर गोर्खाहरुको वेदनाको कुरा पनि छुटाउँदैनन् । सन् २०२४ मा प्रकाशन भएको पुस्तक ‘द गोर्खा ग्रिफ’ उनको त्यही वेदना पक्षको पुस्तक हो । उसो त उनले अंग्रेजीमा लेखेको बहुचर्चित किताब ‘आयो गोर्खाली’ पनि गोर्खाहरुको सोलोडोलो कुरा बुझ्न काफी छ ।

अनुसन्धान गरेर लेखिएको किताबमा उनले एक सैनिकको रुपमा देखेको भर्ती, एक खोजकर्ताको रुपमा खोजेको भर्ती इतिहास, त्यसका विभिन्न पाटा र पक्षहरु किताबमा राखेका छन् । गुरुङको ‘आयो गोर्खाली’ पुस्तकमा अटाइएका कुरा र अरु सूचनाबाट तयार गोर्खा भर्तीका १० रोचक कुरा यहाँ प्रस्तुत छ ।

१. सुगौली सन्धिमा गयल छ गोरखा भर्तीको मुद्दा

सन् १८१५ डिसेम्बर २ मा नेपाल र अंग्रेजको इस्ट इन्डिया कम्पनीले सुगौली सन्धिमा हस्ताक्षर गरे । ९ धाराको सन्धिमा कतै पनि गोर्खा भर्तीको कुरा गरिएको छैन । बरु नेपालले सिक्किममा हस्तक्षेप नगर्ने, आफ्नो भूमि छोड्ने जस्ता कुरा अटाएका छन् सन्धिमा । गोर्खा भर्तीको कुनै चर्चा छैन ।

सन् १९४७ नोभेम्बर ९ मा हस्ताक्षर गरिएको बेलायत, भारत, नेपाल त्रिपक्षीय सम्झौतामा भने गोर्खा भर्तीको कुरा अटाइएको छ । आठ बुँदे सम्झौतामा तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले नेपालको तर्फबाट हस्ताक्षर गरेका थिए ।

२. नेपाल-अंग्रेज युद्धको भगौडा सैनिकहरुबाट सुरु गोर्खा भर्ती

पश्चिम किल्लाको युद्ध मोर्चामा जोडिन्छ गोर्खा भर्ती । नेपालका जर्नेल अमरसिंह थापा र अंग्रेजतर्फका जर्नेल अक्टरलोनीले सन् १८१५ मे १५ मा एक सन्धि गरे । मे १० मा भएको हमलामा आफ्ना सैनिकहरु भागेर हत्तु भएपछि उनले सन्धि नगरी नहुने अवस्था आयो । सन्धिमा हालको हिमाचल प्रदेशको जैठक क्षेत्रका सबै किल्ला छोड्नुपर्ने, नेपाली सैनिकहरुले हतियार लिएर फर्कन पाउनेलगायतका बुँदाहरु थिए ।

नेपालले हालसालै जितेका क्षेत्रहरुका सैनिकहरुले भरिएको थापाको सैन्य मोर्चाका १६०० सदस्य भागेपछि उनले सम्झौता रोजे । लिखित सम्झौतामा नआएको, तर मौखिक सम्झौता भएको मुद्दा ती नै भगौडा सैनिकहरुको गोर्खा भर्ती थियो ।

३. बेलायतीको पक्षबाट गोर्खालीले लडेको प्रथम युद्ध मराठासँग

सन् १८१७ देखि १८१८ सम्म अंग्रेज र मराठा युद्ध भयो । युद्ध अंग्रेजले भारतीय उपमहादीप कब्जा गर्ने क्रममा गरेको अर्को युद्ध थियो । युद्धमा गोर्खालीहरु सहभागी भएका थिए । गोर्खाले साथ दिएर बेलायतीको तर्फबाट लडेको पहिलो युद्ध यही हो ।

४. जंगबहादुर गोरखा भर्तीको विपक्षमा, सैन्य सहयोगको पक्षमा

जंगबहादुर राणा गोर्खा भर्तीको विपक्षमा थिए । भर्तीमा लाग्नेहरुलाई उनी निरुत्साहित गर्थे, गद्दार भन्थे । बरु अंग्रेजलाई सैन्य सेवा दिने, तर नेपालमा भर्ती केन्द्र नदिने उनको लाइन थियो । सन् १८४८ मा शिखसँग युद्ध गर्दा सैन्य सहयोग प्रस्ताव गर्दा अंग्रेजले अस्वीकार गर्‍यो । सन् १८५७ मा सिपाही विद्रोहमा चैँ स्वीकार गर्‍यो । त्यसकै बलमा बाँके, बर्दिया, कञ्चनपुर र कैलाली जस्ता गुमेका नेपाली भूमाग जंगबहादुरले नेपालमा ‘नयाँ मुलुक’को रुपमा फिर्ता पाए ।

सन् १८५६ मा प्रधानमन्त्रीबाट राजीनामा दिई भाइ बमबहादुरलाई प्रधानमन्त्री बनाएर कास्की र लमजुङको श्री ३ महाराजा बन्ने जंगबहादुरको लाइनको एक उद्देश्य गोर्खा भर्ती रोक्ने पनि थियो । बमबहादुरको मृत्युले जंगबहादुर फेरि प्रधानमन्त्री बने । सिपाही विद्रोहीमा अंग्रेजलाई सहयोग गरेर जिताए ।

५. गोर्खा भर्तीको ७० वर्षपछि मात्रै नेपालमा भर्ती केन्द्र सञ्चालन

सन् १८१५ बाट गोर्खा भर्ती सुरु भयो । त्यसको भर्ती नेपालमा हुन्थेन वा हुन दिइएको थिएन, तर सन् १८८६ मा भने दिइयो । दिने कारण पनि राजनीतिक सौदाबाजीमा थियो । रणोद्वीप शमशेरलाई सन् १८८५ मा हत्या गरेर प्रधानमन्त्री भएका वीरशमशेरले आफूलाई अंग्रेजसँग मिलेर बागी पक्षले हटाउला भनेर उनले पहिलो पटक नेपालमै भर्ती खुला गरिदिए ।

६. जर्ज पाँचौंको नेपाल भ्रमणबाट मात्रै खुल्यो भिक्टोरिया क्रस पाउने बाटो

सन् १९११ मा बेलायती राजा जर्ज पाँचौं नेपाल भ्रमणमा आए । उनको भ्रमणले नै बेलायती सैनिकमा काम गर्ने नेपालीहरुलाई भिक्टोरिया क्रस पाउने मापदण्ड बन्यो । त्योभन्दा अगाडि नेपालीहरुलाई इन्डियन अर्डर अफ मेरिट नामक पदकमात्रै दिइन्थ्यो ।

७. नेपाली गोर्खाका १३ भिक्टोरिया क्रस, सबैभन्दा धेरै वर्माबाट

गोर्खा ब्रिगेडले २६ भिक्टोरिया क्रस (भीसी) पाएकोमा १३ वटा नेपालबाट गएका नेटिभ गोर्खाहरुले पाएका छन् । त्यो पाउने प्रथम नेपाली कुलवीर थापा हुन् । सन् १९१५ मा फ्रान्समा भएको युद्ध मोर्चाको क्रममा उनले भीसी पाएका थिए । प्रथम विश्व युद्धमा इजिप्टको युद्धमा लडेका कर्णबहादुर रानाले दोस्रो भीसी पाए ।

दोस्रो विश्व युद्धमा लडेको गोर्खाली फौजले १० भीसी पायो । जसमा बर्माबाट सबैभन्दा धेरै सात भीसी पाएको थियो । त्योभन्दा भिन्न सन् १९६५ मा बोर्नेओ युद्धमा रामबहादुर लिम्बूले भीसी पाएका थिए ।

८. नेहरुलाई मनाउन आन्डमन र निकोबर टापु भारतलाई दिएर गोर्खा भर्तीको बेलायती निरन्तरता

भारतको दुई टापु क्षेत्र छन् आन्डमान र निकोबार । ती दुरीका हिसाबले मेनल्यान्ड भारतभन्दा बर्मा (हालको म्यानमार)मा नजिक छ । तत्कालीन पाकिस्तान (जुन बेला अहिलेको बंगलादेश पूर्वी पाकिस्तानको रुपमा थियो)ले पनि दाबी गरेको थियो ती टापुहरु, तर नेहरुलाई बेलायती फौजमा भारतीय स्वतन्त्रतापछि पनि भर्ती जारी राख्ने क्रममा मनाउन ती टापु नजिकका बर्मा र पाकिस्तानलाई नदिएर भारतलाई दिइएको थियो । असद हुसेनको पुस्तक ‘ब्रिटिस इन्डियाज् रिलेसन्स विथ किङडम अफ नेपाल’मा उल्लेख गरिएको छ ।

९. भारत स्वतन्त्र भएपछि धोका दिएको भन्दै बेलायती अफिसरलाई थुकेका थिए गोर्खाहरुले

बेलायती अधिनमा भारत हुँदाका १० वटा गोर्खा रेजिमेन्टहरुमा चार बेलायत र ६ भारतमा हुने निर्णयमा पुगे । बेलायत जाने रेजिमेन्टहरुमा दोस्रो, छैटौं, सातौं र दशौं ब्रिगेड थिए । बाँकी प्रथम, तेस्रो, चौथो, पाँचौं, आठौं र नवौं ब्रिगेड भारतमै रहे । भारत स्वतन्त्र भएपछि बेलायतले धोका दिएको भन्दै ९५ प्रतिशतले भारत रोजेका थिए भने बिदाईमा आएका बेलायती कर्नेललाई नेपालीहरुले थुकेर बेलायतविरोधी नारा लगाउँदै आक्रोश पोखेका थिए ।

१०. गोर्खा भर्तीको वंशज दस्ता ‘द बोइज कम्पनी’

गोर्खा भर्तीका विभिन्न अरु दस्ता पनि छन्, थिए । त्यसका केही उदाहरणहरुमा एक हो द बोइज कम्पनी । यहाँ दुईखाले बोइज हुन्थे । एक लाइन बोइज, यी भनेका बाबु सैनिक भएर बाबुसँगैका छोरा थिए । र बोइज चैँ गोर्खा ब्रिगेडको द बोइज कम्पनीमा काम गर्नेहरु । लाइन बोइजहरुको बाबुलाई युद्धमा सहयोग गर्नेमात्रै नभएर युद्धकै मोर्चामा जोडिने पनि थियो ।

सन् १८५७ मा दिल्लीमा हिन्दू रावको घर सिज हुँदा २५ जनाले अर्डर अफ मेरिट पाएका थिए । त्यसमा १२ जना लाइन बोइज नै थिए । सन् १९४९ मा मलेसियामा लाइन बोइजहरु मिलाएर दि बोइज कम्पनी गोर्खा ब्रिगेडअन्तर्गत औपचारिक रुपमा खोलिएको थियो । सन् १९४९ को पहिलो औपचारिक व्याचमा रहेका १४० का उमेर समूह १४ देखि १५ वर्ष थियो । सन् १९६८ मा आएर मात्रै द बोइज कम्पनी बन्द भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *