बुटवलको नगरसभा शुरु : ३ विधेयक र ३ संशोधन प्रस्ताव टेबुल, बनायो नगर गान
रुपन्देही । बुटवल उपमहानगरपालिकाको सोह्रौँ नगर सभा शुरु भएको छ । बुधवार शुरु भएको सभामा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई अब्बल नगर बनाउनका लागि हरेक क्षेत्रको समानुपातिक विकासमा जोड दिएको बताए ।
उनले जनतासँग गरेका वाचाहरू पूरा गर्नका लागि सबै जनप्रतिनिधिहरू एकसाथ अगाडि बढिरहेको बताए । उनले नगरको विकासमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउँदै सबैको साथ जरुरी रहेको बताए ।
नगर सभाको बुधवारको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ संशोधनको प्रस्ताव टेबुल गरेकी छिन् भने सामाजिक विकास समितिका संयोजक प्रदीप कुमार श्रेष्ठले छाडा चौपाया व्यवस्थापन र नियन्त्रण गौशाला सञ्चालन ऐन संशोधन प्रस्ताव टेबुल गरेका छन् ।
यस्तै विधेयक समितिका संयोजक नरेन्द्र बस्नेतले नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन विधेयक, मेयर युवा रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन विधेयक र करारमा कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी विधेयक टेबुल गरेका छन् । बुधवार शुरु भएको नगर सभा बैठक यही पुस २९ गतेसम्मका लागि स्थगित भएको छ ।
बनायो नगर गान
बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ। खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो।
१४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको हो। सोही नगर गान बुधवारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज पाण्डेयले बताए।
नगर गानमा बुटवलको ऐतिहासिकता, कला संस्कृति र समावेशी विषयहरू समावेश छन्।
यस्तो छ नगर गान
चुरे पहाड, उर्वर तराई, तिनाउ कलकल
रामापिथेकश, बुद्धवल्ली गौरव बुटवल ।
बहु भाषा, धर्म संस्कार, थरिथरि जाति
वसन्तपुर, नुवाकोट मुस्कुराउँछन् माथि ।
मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटो
घिउ बेचेर नुनतेल साट्ने पुर्खाको यही बाटो ।
कृषि, उद्योग, व्यापार र पर्यटनको लहर
देशकै अब्बल शिक्षा, स्वास्थ्य आधुनिक सहर ।
प्राकृतिक सम्पदा र सभ्यताको खानी
सिद्ध भूमि बुटवलवासी हामी भाग्यमानी ।
हाम्रो खस्यौली
राम्रो बटौली
प्यारो बुटवल ।