किन हान्दैछन् प्रहरीले आफैलाई गोली ? – Nepal Press

किन हान्दैछन् प्रहरीले आफैलाई गोली ?

कैलाली । पौष १२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली हाने । पेस्तोलले निधार छेउमा गोली हाल्दा घाइते भएका न्यौपानेको अहिले बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

न्यौपानेले आफैलाई गोली हानेको ठिक एक महिना पहिले अर्थात् मङ्सिर १३ गते अछामको तुर्माखाद गाउँपालिका-३ भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले आफैलाई गोली हानेका थिए ।

एक महिनाको अन्तरालमा सुदूरपश्चिममा दुई प्रहरीले आफैमाथि गोली प्रहार गरे । सुदूरपश्चिम प्रदेश बाहिर असार ५ गते संघीय संसद् भवनमा कार्यरत नेपाल प्रहरीका जवान अजित गोलेको आफैलाई गोली हानेर आत्महत्या गरेका थिए ।

प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत रहेका उनले आफैँले शौचालय छिरेर आफैले बोकेको पेस्तोलले निधारमा गोली हान्दा घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसअघि दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी वसन्त केसी रहेको आफैलाई गोली हानेर आत्महत्या गरे ।

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत कवीन्द्र विक, स्याङ्जा जिल्ला कारागारमा कार्यरत नवलपरासीको त्रिवेणी नगरपालिका-६ का २५ वर्षीय जितेन्द्र थापा र जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक गोवर्द्धन खत्रीले पनि आफैलाई गोली प्रहार गरेर आत्महत्या गरे । त्यसअघि रौतहटको रामपुर खापमा सेन्ट्री बसेका प्रहरी जवान लालबाबु चौहानले पनि आफैलाई गोली हानेका थिए ।

मङ्सिर १३ गते अछाममा आफैलाई गोली हानेको घटनामा प्रहरीले छानबिन समिति नै गठन गरेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको प्रहरी उपरीक्षक (एसपी) विनोद शर्मा नेतृत्वको समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको थियो।

चन्दले मदिरा सेवन गरेर आफैँमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको जस्ता कारणले सङ्गठन राख्न उपयुक्त नदेखिएको भन्दै समितिले उनलाई बर्खास्त गर्न सिफारिस गरेको थियो। घटना भएको दिन समेत चन्दले प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार गगन चन्दमाथि गोली प्रहार गर्न खोजेको तर उनी भागेपछि आफैमाथि पेस्तोल प्रहार गरेको देखिएको छ ।

‘मापसे गरेर सुरुमा प्रहरी हवल्दारमाथि पेस्तोल प्रहार गर्न खोजेको देखिन्छ तर उनी त्यहाँबाट भाग्न सफल भएछन्,’ प्रहरी स्रोतले भन्यो, ‘पछि आफूलाई अमिताभ बच्चनको जस्तै एक्सन गर्न आउँछ भन्दै आफैँमाथि पेस्तोल ताकेको अवस्थामा पड्किएको देखिन्छ ।’ प्रहरी अनुसन्धानमा कारबाही गर्नु पर्ने देखिएपछि चन्दले आफै राजीनामा दिएका थिए ।

एकपछि अर्कोगरी किन प्रहरीले आफैलाई गोली हानिरहेका छन् त ? सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी गणेश चन्द विभिन्न तनावका कारण यस्तो घटनाहरू बढिरहेको बताउँछन् ।

‘सबै प्रकारको प्रेस छ । जागिर कानुन अनुसार गर्नु पर्ने अवस्था, परिवारको भेटघाटको अवस्था कम छ । आफूले सोचेको जस्तो भूगोलमा र अवस्थामा काम गर्नु पर्ने अवस्था नहुन सक्छ’ उनी भन्छन् ‘प्रेसरले मदिरा सेवन गर्ने र त्यसपछि यस्ता घटनाहरू हुने गरेको पाइन्छ ।’

प्रहरी नायव महानिरीक्षक चन्दले यस्ता प्रकारका घटनाहरू हुन नदिन पछिल्लो समय विभिन्न प्रयासहरू भइरहेको समेत जनाएका छन् । मानसिक समस्याका कारण पनि यस्ता घटना हुनसक्ने भन्दै मानसिक रोग विशेषज्ञमार्फत नियमित स्वास्थ्य परीक्षण समेत भइरहेको उनले बताए ।

‘हामीले प्रयास गरिरहेका छौ। हामीसँग पर्याप्त मानसिक रोगका चिकित्सकहरू हुनुहुन्छ । बेलाबेलामा तालिम केन्द्रमा कक्षा लिएर उहाँहरूबाटै स्वास्थ्य परीक्षण पनि गराइरहेका छौँ । चार महिना भन्दा बढी एकै ठाउँमा काम गर्न नपरोस् भनेर तीन महिना पछि वा तीन महिनामै बिदा दिने गरेका छौँ । नियमित घरपरिवारसँग कुरा हुन दिने वातावरण मिलाएका छौँ’ उनले भने, ‘यी सबै कामहरू भनेको प्रहरीमा सेवा गरिरहनु भएकाहरुलाई कुनै तनाव नहोस् र त्यस्ता अप्रिय घटनाहरू नहुन् भनेरै हो ।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले पछिल्लो समय आत्महत्याका घटना बढिरहेको भन्दै प्रहरी भित्र पनि त्यस्ता घटनाहरू हुन थालेको बताएका छन् । आत्महत्याको प्रमुख कारण मानसिक समस्या भएको भन्दै त्यस विषयमा प्रहरीले कार्ययोजना बनाएरै अघि बढिरहेको उनले बताए ।

‘पछिल्लो समय समाजमा आत्महत्या बढिरहेका छन् । प्रहरी सेवा भित्र पनि त्यस्ता घटनाहरू सुनिन थालेका छन् । आत्महत्याका पछि थुप्रै कारणहरू छन् । जस्तो प्रहरीलाई सबैभन्दा जटिल अवस्थामा काम गर्नु पर्ने अवस्था छ’ उनी भन्छन्, ‘मानसिक समस्याका कारण यस्ता घटनाहरू बढिहरेको हो । आत्महत्या न्यूनीकरण गर्न कार्ययोजना बनाएर हामी अघि बढिरहेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *