कृषि अनुदान क-कसले पाए खोजी गरी सार्वजनिक गर्छौं : अध्यक्ष तिमिल्सिना (भिडिओ)
‘किसानको पसिनामा रमाउने बिचौलियाका अब दिन गए
रुपन्देही। नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले सरकारी अनुदानको कसले लिएको छ सबै खोज्ने बताएका छन् । किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रवृत्ति बढ्दै गएको भन्दै उनले बिचौलियाको हातमा अनुदान जानबाट रोक्न कडा कदम चाल्ने बताए ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले बिहीबार गरेको साक्षात्कार कार्यक्रममा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष समेत रहेका तिमिल्सिनाले अनुदान लिनेहरूको रेकर्ड खोजेर आम समुदाय र पत्रकार माझ सार्वजनिक गर्ने चेतावनी दिए ।
अध्यक्ष तिमिल्सिनाले किसानको हक अधिकार विरुद्ध कुनै पनि सरकारसँग पनि साँठगाँठ नगर्ने ठोकुवा गरे । ‘मेरो आफ्नै पार्टीको सरकार हुँदा किसानको हक अधिकार विरुद्ध मैले कुनै सम्झौता गरेको छैन ।’ उनले भने, ‘किसानको अधिकार हनन भए जुनसुकै प्रतिरोध गर्न पनि तयार छु ।’
सञ्जालको अध्यक्ष भएपछि आफूले किसानलाई धानको मूल्य दिलाएको, कालीमाटी तरकारी तथा फलफूल बजारको लथालिङ्ग र मनोपोली अवस्था सुधार गरेको तिमिल्सिनाले जानकारी दिए ।
‘कालीमाटीमा वाइसिएलको रजगज थियो । मेरै नेतृत्वमा उनीहरूलाई हटाएर व्यवस्थित बनाएका छौँ’ उनले भने ।
तिमिल्सिनाले लम्की स्किनबाट पीडित किसानको लागि क्षतिपूर्ति र बिमाको लागि लडेको, किसानले पाउने दूध र उखुको मूल्यको लागि कडा संघर्ष गरेको बताए ।
किसान महासंघका अध्यक्ष तिमिल्सिनाले आन्दोलन र दबाबको नाममा कृषि उत्पादन सडकमा नफाल्न किसानलाई आग्रहसमेत गरे । विक्री नभएमा गरिब र विपन्न परिवारलाई दिन उनले अनुरोध गर्दै बढ्दो रासायनिक र विषादी प्रयोगले धेरै नागरिकहरूमा क्यान्सर जस्तो घातक रोगको संख्या बढ्दै गएकाले राज्यले समयमै जिम्मेवार भएर नियन्त्रण गर्न सुझाव दिए ।
उनले कृषिमा यान्त्रिकीकरण गरेर युवा पलायनलाई रोक्न विदेशको नीति भन्दा देशको भूगोलको अवस्था अध्ययन गरेर कृषि नीति बनाएर रोक्न तर्फ सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने औँल्याए ।
तिमिल्सिनाले किसान महासंघको महाधिवेशन जुनसुकै हालतमा हुने दाबी गरे । महासंघ र राष्ट्रिय किसान सञ्जालको आफूले नेतृत्व गरिसकेकाले पदको लोभ नभएको भन्दै पदको लोभमा कार्यकाल नलम्बाउने तिमिल्सिनाले बताए ।नेपाली कांग्रेसले अधिवेशन गर्न भनेमा आजको ३०–३५ दिनभित्र अधिवेशन गर्न आफू तयार रहेको बताए ।