शेरा दरबार ‘कब्जा’ बारे विकेश पुत्रको बकपत्र – Nepal Press

शेरा दरबार ‘कब्जा’ बारे विकेश पुत्रको बकपत्र

काठमाडौं । नुवाकोटको शेरा दरबार नेपाल ट्रष्टको सम्पत्ति हुनुपर्नेमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिवलाई दिइयो, माओवादीले कब्जा गरेर खाए भन्ने खालका समाचार नेपाल प्रेससहित विभिन्न सञ्चारमाध्यममा एकोहोरो रूपमा आएकाले यसबारेमा प्रष्ट पार्नुपर्ने देखियो ।

पहिलो कुरा त अहिलेसम्म आएका समाचारहरूमा शेरा दरबार माओवादी नेता तथा प्रचण्डका पीए विकेश श्रेष्ठको नाममा लगियो भनिएको छ, तर विकेश श्रेष्ठ वा त्यहाँ उल्लेखित कुनै पनि पात्रको भनाइ राखिएको छैन । पत्रकारिताको सामान्य सिद्धान्तअनुसार आरोपित पक्षको भनाइ राखिनुपर्ने हो ।

दोस्रो कुरा, जसरी शेरा दरबारको १८१ रोपनी जग्गा विकेश श्रेष्ठ, निजका छोरा मनोबल श्रेष्ठको नाममा लगिएको कुरा समाचारमा उल्लेख भएको छ, त्यो जग्गा पहिले कसको नाममा थियो ? व्यक्तिको नामबाट व्यक्ति वा फर्ममा गएको हो वा सरकारको नामको जग्गा अन्नपूर्ण फार्मिङमा गएको भन्ने तथ्य लुकाइएको छ ।

तेस्रो कुरा चाहिँ के प्रष्ट बुझ्न सकिन्छ भने यो जग्गा वा शेरा दरबारको प्रसंग प्रचण्ड जोडिएका कारण समाचार बनेको हो । प्रचण्ड नजोडिएको भए सायद हाम्रो परिवारको यो तहसम्मको बदनामी र आरोपित गर्नेगरी मिडिया लागि पर्ने थिएनन् होला । शेरा दरबार (वास्तवमा त्यहाँ दरबार नै थिएन) मा चरम राजनीतिकरणले हाम्रो परिवार भिक्टिम भयो ।

अहिले मिडियामा आएजस्तो नुवाकोटमा पृथ्वीनारायण शाहले बनाएको शेरा दरबार नै थिएन । हामीले बुझे अनुसार र त्यो शेरा दरबार भनिएको जग्गाको शुरुदेखिका सरकारी विवरण तथा कागजातहरू हेर्दा विभिन्न व्यक्तिको जग्गा तत्कालीन अधिराजकुमारी हेलेन शाह र विजया राज्यलक्ष्मी शाही नाममा खरिद भएको देखिन्छ ।

शेरा दरबार भनेर मिडियामा जुन फोटो आइरहेको छ, त्यो ठाउँमा दरबार कहिँ कतै थिएन । विभिन्न व्यक्तिका जग्गा किनेर अन्नपूर्ण गार्डेन बनाइएको थियो भनेपछि त्यहाँ दरबार हुने कुरै भएन । हामीले १० वर्षअघि लिएपछि त्यहाँ केही संरचना बने पनि हदबन्दीका कारण जग्गा रोक्का भएपछि ऋण लिन नपाएर काम सम्पन्न गर्न सकेका छैनौं ।

करिब २ सय रोपनी जग्गा २०२७ सालतिर हेलेन र बिजयाले किनेको र त्यसबेला राजा महेन्द्रकै सरकारले जग्गामा हदबन्दी लगाएपछि १९ रोपनी जग्गा राखेर बाँकी १८१ रोपनी जग्गा गौरीशंकर कृषि फार्मका नाममा लगिएको रहेछ । कृषि फार्मका नाममा राख्दा हदबन्दी नलाग्ने भएर त्यसो गरिएको होला । कम्पनीका शेयरधनी हेलेन शाहको ठेगाना छाउनी बंगाला र बिजया राज्यलक्ष्मीको ठेगाना नारायणहिटी दरबार राखिएको छ ।

२०२७ साल फागुन २८ गते दर्ता भएको गौरीशंकर कृषि फार्मको नाम परिवर्तन गरेर २०३६ साल असार ११ गते अन्नपूर्ण फार्मिङ राखिएको थियो । त्यसबेला होटल अन्नपूर्ण खुलिसकेको र राजदरबारकै मान्छेको लगानी रहेको सो होटलकै किचन गार्डेनका रूपमा शेरा दरबार भनिएको ठाउँको जग्गा प्रयोग गरिएको र नाम पनि अन्नपूर्ण फार्मिङ बनाइएको थियो रहेछ ।

शेरा दरबार भनिएको शेरा बगैंचा अर्थात अन्नपूर्ण फार्मिङ २०५२ सालमा अधिराजकुमारी हेलेन शाह र विजया राज्यलक्ष्मी शाहीले नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठलाई बिक्री गरे । अर्थात त्यसबेला पनि त्यो जग्गा राजदरबारको नभएर व्यक्तिले व्यक्तिलाई बेचेको तथ्य प्रमाण र कागजातहरूले बोल्छन् ।

२०३५ सालमा कर कार्यालय काठमाडौंले आयकर ऐन बमोजिम गौरीशंकर कृषि फार्म प्रालिकै नाममा दर्ता प्रमाणपत्र दिएको छ ।

हेलेन र विजयाले सो फर्म बेचेपछि त्यसबीचमा विभिन्न शेयरधनी आउनेजाने क्रम भएको देखिन्छ । २०५५ सालतिर सजनी प्रधान, सोहिनी श्रेष्ठ र ध्रुवलाल प्रधान शेयरधनीका रूपमा प्रवेश गरेको देखिन्छ । २०५८-५९ मा शेरा दरबारमा माओवादीले आगजनी गरेको भनेर २०६० सालमा नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठले १३ लाख क्षतिपूर्ति सरकारबाट लिएको समाचार त्यो बेलाका कान्तिपुर पत्रिकामै छापिएको छ ।

यो अवधिमा त्यो जग्गामा कृषिकै काम भएको थियो । २०७२ सालमा मेरो बुबा विकेश श्रेठ र हाम्रै नातेदार अजय सूर्यवंशी अन्नपूर्ण फार्मिङमा छिर्नुभएको हो । उहाँहरूले नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठबाट किन्नुभएको हो । ध्रुवलाल श्रेष्ठ कायमै थिए शेयरधनी । त्यहाँ बुबा आफैं कृषक भएरै कालो धान, तरकारी, फलफूल लगाउनुभएको हो । कुखुरा पनि पाल्नुभएको हो ।

२०७३ सालमा सुमन पारिक शेयरधनीका रूपमा थिए भने २०८० सालमा ध्रुवलाल प्रधान र सुमन पारिक निस्केपछि म मनोबल श्रेष्ठ भित्रिएँ बुबाको आग्रहमा । त्यसपछि यो लगभग हाम्रो परिवारको कृषि फार्म भयो । २०७३ सालमै हदबन्दी रोक्का भएकाले जग्गा प्लटिङ गरेर बेच्न लागेको भन्ने आरोपमा कुनै सत्यता हुने कुरै भएन ।

हामीले मालपोत कर, आयकर लगायत कम्पनीका सबै नियमहरू अनुसार अध्यावधिक गरेका छौं । यदि जग्गा सरकारी वा दरबारको हुन्थ्यो भने सरकारका निकायहरूले हामीसँग कर लिने थिएनन् होला । यसबीचमा हदबन्दी फुकुवाका लागि प्रक्रिया पूरा गरेर निवेदन दिएको विवरण मन्त्रालय र विभागमा छन् । विभागले नै फुकुवा गर्न मिल्ने भनेर मन्त्रालयलाई चिठी लेखेको छ । लगानी सम्मेलनभन्दा अघि केही नेपाल ऐन संशोधन अध्यादेश आएका बेला पनि निवेदन दिएका थियौं । विशेषगरी बैंकबाट ऋण लिन पाइएको छैन हामीजस्तै देशभरकै कम्पनीहरूले हदबन्दी रोक्काका कारण ।

हेर्नुस् निवेदन

र अन्तमा, शेरा दरबार प्रकरणमा जसरी विकेश श्रेष्ठलाई आरोपित गरिएको छ, यो राजनीतिकरणको कुरा भयो । विकेश श्रेष्ठ विगत १० वर्षभन्दा पहिलेदेखि नै माओवादी पार्टीमा हुनुहुन्न । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा स्वकीय सचिवालयमा काम गरेको सत्य हो, त्यसबाहेक अरु कुनै नाता छैन । हामी अहिले विशुद्ध व्यवसायमा संलग्न भएकाले प्रचण्ड र माओवादीसँग जोडेर प्रचार नगरिदिन आग्रह छ । यदि राज्यको कुनै निकायले फेरि छानबिन गरेर यो जग्गा ऐतिहासिकरूपमा दरबारकै थियो भन्ने प्रमाण जुटाएमा हामी स्वीकार गर्न तयार नै छौं । राज्यका नियम कानूनबमोजिम नै व्यक्तिबाट व्यक्तिमा किनबेच भएको जग्गा भएकाले हामी विश्वस्त छौं ।

हामीले यसबारेमा प्रेस काउन्सिल नेपालमा पनि निवेदन दिइरहेका छौं । नेताहरूको राजनीतिक स्वार्थ र आरोप प्रत्यारोपमा हामीलाई भिक्टिम नबनाइयोस् । हाम्रो लागि केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा सबै बराबर आदरणीय नेता हुन् । आशा छ पत्रकारिताको मान्यता अनुसार हाम्रो पक्षको यो खण्डन वा स्पष्टीकरणलाई नेपाल प्रेसले स्थान दिनेछ ।

(अन्नपूर्ण फार्मिङका सञ्चालक मनोबल श्रेष्ठले नेपाल प्रेसमा प्रकाशित पृथ्वीनारायण शाहको शीतलकालीन शेरा दरबार कसरी पुग्यो प्रचण्डका स्वकीय सचिवको नाममा ? भन्ने समाचारमाथि दिएको स्पष्टीकरण जस्ताको तस्तै राखिएको)


प्रतिक्रिया

One thought on “शेरा दरबार ‘कब्जा’ बारे विकेश पुत्रको बकपत्र

  1. जग्गा पहिले सेरा दरवार कै होला पछि दरवारको दवाबमा रैकर नम्बरि भयो शक्ति हुनेले प्रपन्च मिलाएर मेसो बनाए । प्रष्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *