एमालेमा क्षमायोग्य थिएनन् भीम रावलका कृत्यहरू
नेकपा एमालेले निष्कासन गरेपछि बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. भीम रावलले एमाले अध्यक्ष केपी ओलीमाथि विषबमन नै गरे । ज्यानमारा मुद्दामा कारागार बसेको, संसद विघटन, पार्टीको एघारौं महाधिवेशन, भारतीय खुफिया एजेन्सी र‘अ प्रमुखलाई भेटेकोदेखि विभिन्न कालखण्डमा भएका घटनाको सिलसिलेवार बुँदा बनाएर ओलीमाथि प्रश्न गर्ने रावलमात्र होइन, विभाजनमा जाने कम्युनिष्ट नेताहरूबीचको वाकयुद्ध उदेकलाग्दो हुने गरेको छ ।
सँगै बस्दा, स्वार्थसिद्ध हुँदा र पदमा रहँदासम्म चाटाचाट तथा स्वार्थ नमिलेर छुट्टिनु पर्दा काटाकाट गर्ने कम्युनिष्ट नेताहरूको चरित्र डा. रावलमा पनि दोहोरिएको छ । ५० वर्षअघि जेलभित्रै राधाकृष्ण मैनालीबाट पार्टी सदस्यता लिएर कम्युनिष्ट यात्रा शुरू गरेका रावलले पञ्चायती शासन व्यवस्थामा लगाइने झुट्टा मुद्दा ‘ज्यानमारा’ कै उपमा ओलीमाथि पनि लगाइदिए । बहुदलीय प्रजातन्त्रका लागि झापा आन्दोलनमा सरिक भएर पञ्चायतविरुद्ध लागेबापत १४ वर्ष जेलनेल भोगेका नेतालाई ‘पञ्च’ ले झैँ ‘ज्यानमारा’ केसको उपमा दिएर आफ्नो कद आफैँले काटेका छन् ।
अहिले सामाजिक सञ्जाल र एमालेविरोधी मिडियामा हटकेक बनिरहेका रावलले एघारौं महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि मनोनीत गरिएको सल्लाहकार पद स्वीकार गरी नेतृत्वले लिएको नीतिमा सहयोगी बन्दै पार्टीलाई अब्बल बनाउन पहल गरेको भए निष्कासनमा पर्ने थिएनन् । गत आमनिर्वाचनमा आफैँले टिकट पाउँथे ।
वि.सं. २०७५ जेठ ३ मा एमाले-एमाओवादी एकीकरणपछि बनेको नेकपामा आफू सचिवालयमा नपरेपछि ओलीसँग टाढिदै गएर आफ्नो प्रभाव क्षेत्रमा समानान्तर पार्टी गतिविधि सञ्चालन गर्दै आएका रावल चितवनमा सम्पन्न एघारौं महाधिवेशनमा १ हजार ८४० मतका विरुद्ध २२३ मत ल्याएर ओलीसँग अध्यक्षमा पराजित भएका थिए ।
एमालेका पूर्वउपाध्यक्ष समेत रहेका रावलले सल्लाहकारको मनोनयन अस्वीकार गर्ने, समानान्तर गतिविधि संचालन गर्ने, निर्वाचनका समयमा पार्टीका उमेदवारलाई पराजित गर्ने जस्ता हर्कत गर्दै आएकाले त्यसैको सिलसिलाको रूपमा एमालेले निष्कासन गरेको थियो । उनको निष्कासन कति जायज वा नाजायज समयले देखाउला, तर निष्कासनमा परेपछि नेतृत्वविरुद्ध विषबमन गर्ने कम्युनिष्ट चरित्र उनमा अझ चर्को देखिएको छ ।
कुनै बेला रावल ओलीका सबैभन्दा नजिक पनि थिए । पहिलो कम्युनिष्ट सरकार बन्दा मनमोहन अधिकारी प्रधानमन्त्री, ओली गृहमन्त्री र रावल पर्यटन राज्यमन्त्री थिए । माधव नेपाल नेतृत्वको सरकार बन्दा ओलीकै कोटाबाट शक्तिशाली गृहमन्त्री बनेका थिए । नेपाल र ओली जता लाग्दा स्वार्थ पूरा हुन्छ उतै लाग्ने रावल पार्टीका उपाध्यक्ष र अन्य प्रशस्त अवसरहरू पाएका नेता हुन् । उनी समानान्तर गतिविधि चलाउन थालेपछि मात्र पार्टीको छायाँमा परेका हुन् । खरो स्वभाव र वाक्पटुताका कारण पार्टी कार्यकर्ताबाट रुचाइँदै आएका ६८ वर्षीय रावललाई निष्कासन गर्दा दुःख मनाउ गर्नेहरूको मन अमिल्याउँदै नेतृत्वमाथि तुच्छ आलोचना र गाली गलौजमा उत्रिंदा ‘मुते न्यानो’ मात्र हुने हो ।
ओलीमाथि निकृष्ट आरोप लगाउने रावल आफैँ शक्तिशाली हुँदा इतरका नेतालाई सकेसम्म पेल्थे । उनले विगतमा गरेका गुटबन्दीको फेहरिस्त लामै छ । आफ्नो आङको केही नदेखी अरुका जुम्रा देख्ने रावलले गठन गर्ने भनिएको वैकल्पिक शक्तिमा समेत सबैलाई समेटेर लैजान सक्छन्, नेतृत्वदायी भूमिकामा टिकिरहन्छन् भन्ने आधारचाहिँ पृष्ठभूमि हेर्दा देखिँदैन ।
नेपालमा फुट र विभाजन कम्युनिष्टहरूको चरित्र बन्दै आएको छ । मन मिल्दासम्म हरेक गल्तीमा पनि लुपुलुपु चाट्ने र मन मिल्न छाडेपछि वर्षौं अघिदेखिको तुष एकैपटक विषबमन गर्नेमा रावल पहिलो भने होइनन् । भूमिगत कालमा होस् वा बहुदलीय व्यवस्थापछि स्वेच्छाले पार्टी छाड्ने, विभाजन गर्ने वा निष्कासनमा पर्ने सबैले अपनाउने तरिका एउटै छ, गालीगलौजको भाषा, शैली उस्तै छ । अझ पछिल्लो समय सामाजिक सञ्जालमा आउने छाडापन रुचाउनेहरूका लागि त खुराक नै बन्ने गरेका छन् त्यस्ता नेताहरू ।
पार्टी विभाजनपछि तत्कालीन नेकपा मालेका महासचिव वामदेव गौतमलाई एमालेले टुँडिखेलबाट एक नम्बर भ्रष्टाचारी घोषणा गरेको थियो । त्यसबेला पार्टी नेतृत्वमा थिए, माधव नेपाल । गौतमले एमाले फुटाएपछि बहुमत आउने अवस्थाबाट पार्टी दोश्रो हुन पुग्यो । बदलामा एमालेले एक सय जना भ्रष्टाचारीको नाम घोषणा गर्ने कार्यक्रम गरेर वामदेवलाई एक नम्बरमै राखिदियो । उनै गौतमपछि एमालेमै आए र लामो सहकार्य गरे । अहिले नेपालकै पार्टी नेकपा एसमा प्रवेशको तयारीमा छन् ।
कुनै बेला रावल ओलीका सबैभन्दा नजिक पनि थिए । पहिलो कम्युनिष्ट सरकार बन्दा मनमोहन अधिकारी प्रधानमन्त्री, ओली गृहमन्त्री र रावल पर्यटन राज्यमन्त्री थिए । माधव नेपाल नेतृत्वको सरकार बन्दा ओलीकै कोटाबाट शक्तिशाली गृहमन्त्री बनेका थिए । नेपाल र ओली जता लाग्दा स्वार्थ पूरा हुन्छ उतै लाग्ने रावल पार्टीका उपाध्यक्ष र अन्य प्रशस्त अवसरहरू पाएका नेता हुन् ।
यो घटनाले देखाउँछ कि गालीगलौज पनि पछि सहकार्य गर्नसक्ने गरी गर्नुपर्छ । अहिले गरिएको गालीगलौज भोलि गर्ने र खाने दुवैलाई हीनताबोध हुने गरी नहोस् । जस्तो कि एक नम्बर भ्रष्टाचारी घोषित वामदेवसँग पछि ओली र नेपाल दुवैले सहकार्य गर्न पुगे । भ्रष्टाचारी नै हुन् भने किन सहकार्य गरे त ? भन्ने नैतिक प्रश्न उनीहरूमाथि रहीरहन्छ, रहीरहनेछ ।
पछिल्लो समय एमाले अध्यक्ष ओली सबैभन्दा गालीगलौजको सामना गर्न बाध्य नेता हुन् । गालीगलौज र सराप लाग्ने भए उनी उहिल्यै सडिसक्थे । तर, ती सबै पचाएर सामना गर्न र प्रतिकार गर्न सामथ्र्य राखेकैले उनको आत्मविश्वास गलेको देखिँदैन ।
फुटको राजनीति नेपालका कम्युनिष्ट पार्टीमा जस्तो नेपाली कांग्रेस, राप्रपा जस्ता दलहरूमा अलि कम देखिन्छ । फुट भैहाले पनि कम्युनिष्टहरूमा जस्तो विषबमन गर्ने प्रवृत्ति ती दलका नेतामा देखिँदैन ।
हुन त कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल पनि आफ्नै सहकर्मीबाट गद्दार घोषित भएका थिए । यद्यपि घोषणा गर्ने मोहविक्रम सिंहहरूले त्यो फिर्ता लिइसकेका छन् । दुई वर्षअघि एमाले छाड्नु अघि घनश्याम भुसालले पनि नेतृत्वमाथि त्यस्तै लाञ्छना लगाएका थिए । नेकपा एस गठन गर्दा माधव नेपाललगायतले लगाएका आरोप पनि निकृष्टताले भरिएका थिए । नेकपा विभाजनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएका आरोप उस्तै थिए । अहिले पनि दाहालले एमालेसँगको गठबन्धन टुटेर सत्ताच्युत हुनुपर्दाको पीडा विषबमनबाटै पोखिरहेका हुन्छन् ।
पद वा शक्ति सधैँ आर्जन भइराख्ने विषय होइन । राजनीतिमा त झन् सम्भव नै हुँदैन । प्रायः सबै दलका नेताहरू सत्ता र शक्ति आफूमै रहिरहोस् भन्ठान्छन् क्यार । जसले गर्दा सत्ता छोड्नुपर्दा, नेतृत्व छोड्नुपर्दा, अवसर नपाउँदा वा अरुले पाउँदा सहन गर्न सक्दैनन् । अनि शब्दकोषमा खोजेरै निष्कृष्ट गालीगलौजमा उत्रिन्छन्, आरोप प्रत्यारोपमा उत्रिन्छन् ।
नेतृत्व वा सत्ताको विरोध र असन्तुष्टि स्वाभाविक पनि मान्नुपर्छ । कहिलेकाहिँ विरोध वा असन्तुष्टि प्रकट गर्न नदिंदा त्यो गुम्सिएर निकृष्टताको रूपमा विष्फोट पनि हुने गर्छ । कम्युनिष्ट पार्टीहरूका तुलनामा कांग्रेस वा अन्य पार्टीमा नेतृत्व र सत्ताको आलोचना अलि खुकुलो हुने हुँदा उकुसमुकुस हुन पाउँदैन । जसले गर्दा गालीगलौज वा आरोप लगाएपनि कम्युनिष्ट नेताहरूले जस्तो निष्कृष्टताको पार गर्दैन क्यार ।
एमालेमा मात्र होइन, यस्तो गालीगलौज माओवादी केन्द्रमा पनि देखिन्छ । माओवादी छाडेर वैकल्पिक शक्ति निर्माण अभियान चलाएका बाबुराम भट्टराई माओवादी अध्यक्ष दाहालप्रति उसैगरि खनिएका हुन्छन् । नेत्रविक्रम चन्द, मोहन वैद्यहरूको पनि अवस्था उही हो । मानौं, संसारभरका अपजस जति नेतृत्वकै कारण भएको हो ।
शक्ति र सत्ता एउटा नेतामा मात्र केन्द्रित हुँदैन । कुनै बेला कांग्रेसमा देउवा गिरिजाप्रसाद कोइरालाको पेलाइमा थिए । सत्ता उन्मादमा उनले पार्टी विभाजन नगरेका पनि होइनन् । समयक्रमसँगै उनी मूल काँग्रेसमै मिसिए र अहिले संस्थापन पक्षको नेतृत्व गरिरहेका छन् ।
नेपालमा फुट र विभाजन कम्युनिष्टहरूको चरित्र बन्दै आएको छ । मन मिल्दासम्म हरेक गल्तीमा पनि लुपुलुपु चाट्ने र मन मिल्न छाडेपछि वर्षौं अघिदेखिको तुष एकैपटक विषबमन गर्नेमा रावल पहिलो भने होइनन् ।
कम्युनिष्ट पार्टीभित्र माओवादी केन्द्रका अध्यक्ष दाहालबाहेक अन्य दलमा नेतृत्व फेरिंदै आएको छ । एमालेमा १५ बर्ष माधव नेपालले पार्टी नेतृत्व गरे, शक्ति संघर्षमा हारेपछि पार्टी विभाजनको नेतृत्व गर्न पुगे । झलनाथ खनालले पनि पार्टीको नेतृत्व गरेका थिए, उनी पनि शक्तिकै लागि विभाजनमा सरिक भए ।
एघारौं महाधिवेशनबाट भारी बहुमतका साथ ओली अध्यक्ष भएका हुन् । उनको नेतृत्व आगामी महाधिवेशनसम्म सर्वस्वीकार्य हुनैपर्छ । आगामी महाधिवेशनमा पनि कार्यकर्ताले छाने भने कसैले टाउको दुखाएर केही हुनेवाला छैन । अध्यक्षमा चुनिए भने पार्टी उनैको नीतिमा चल्नेछ । विकल्पमा अरु आए भने आउनेले आफ्नो नीतिमा पार्टी चलाउने छन् ।
उसो त फुटेर वा छाडेर जानेहरूलाई अध्यक्ष ओलीबाट हुने अभिव्यक्ति निकै कडा हुने गरेका छन् । राजनीतिमा नयाँ नयाँ शब्द प्रयोगमा ल्याएर बहसै छेडाउने सामर्थ्य अरुमा भन्दा ओलीमा अरु ज्यादा छ ।
गालीगलौज र आरोप-प्रत्यारोपको शैली कम्युनिष्ट नेताहरूले फेर्न जरुरी नै देखिन्छ । स्वार्थ मिल्दा, अवसर पाउँदा भगवान देख्ने र त्यस्तै अवसर अरुले पाउँदा अयोग्य देखेर दानवकै रूपमा चित्रित गर्नेहरू सबै गलत नै हुन् । दूधले नुवाएझैँ पवित्र नेतृत्वकर्ता कहिल्यै हुन सकिँदैन, हामीले खोज्नु बेग्लै कुरा हो । थोरधेर गल्ती कमजोरी सबैका हुन्छन् । त्यसलाई सकारात्मकरूपमा सुधार गर्न सुझाव दिनु उचित हुन्छ ।
एघारौं महाधिवेशनबाट भारी बहुमतका साथ ओली अध्यक्ष भएका हुन् । उनको नेतृत्व आगामी महाधिवेशनसम्म सर्वस्वीकार्य हुनैपर्छ । आगामी महाधिवेशनमा पनि कार्यकर्ताले छाने भने कसैले टाउको दुखाएर केही हुनेवाला छैन ।
अहिले सामाजिक सञ्जाल र एमालेविरोधी मिडियामा हटकेक बनिरहेका रावलले एघारौं महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि मनोनीत गरिएको सल्लाहकार पद स्वीकार गरी नेतृत्वले लिएको नीतिमा सहयोगी बन्दै पार्टीलाई अब्बल बनाउन पहल गरेको भए निष्कासनमा पर्ने थिएनन् । गत आमनिर्वाचनमा आफैँले टिकट पाउँथे ।
आफूले टिकट नपाए पनि पार्टीले उठाएको आधिकारिक उमेदवारलाई हराउन होइन, जिताउन लाग्थे । पार्टी संकटमा परेका बखत प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएर भाग्नुभन्दा ओलीसँग रहेका बिमतिलाई थाँती राख्दै सहयोग गर्थे । रावलले एमालेभित्र रहेर गरेका कृत्यहरू पनि क्षमायोग्य छैनन् ।