कास्कीमा रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी – Nepal Press

कास्कीमा रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी रहेको छ ।

मंगलबार र बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबारदेखि जाहेरवाला सहकारीपीडित पक्षका कानून व्यवसायीको बहस सुरु हुने जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरू भएको थियो । बुधबार भएको बहसमा महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपीनराज तिवारीले बहस गरे । जिल्ला न्यायाधिवक्ता काफ्लेले जाहेरवालाका तर्फबाट कानून व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु हुने बताइन् ।

‘प्रतिवादी तर्फका कानून व्यवसायीहरुको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ’, उनले भनिन् ।

थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जना विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

उनीमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान भइरहेको छ । तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडियामा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ ।

नेपाल प्रहरीका पूर्वडीआइजी जोशीलाई गत असोज ६ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान हुँदै आएको थियो । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *