गौशालामा मृत भेटिएकी सुस्मिताको प्रेमीले हत्या गरेकाे प्रहरीकाे ठहर – Nepal Press

गौशालामा मृत भेटिएकी सुस्मिताको प्रेमीले हत्या गरेकाे प्रहरीकाे ठहर

काठमाडौं । गौशाला, पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको हत्या उनकै प्रेमीले गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट अनुसन्धानरत प्रहरीले जनाएअनुसार, सुस्मिताको हत्या उनकै प्रेमी देवबहादुर थापाले गरेका हुन् । उनले नशालु पदार्थ सेवन गराई वा कुन विधिले हत्या गरेका हुन् भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने ती प्रहरीले बताएका छन् ।

जापान जाने तयारीका लागि भाषा कक्षामा सहभागी सुस्मिता र देवबहादुर प्रेमी, प्रेमिका थिए । देवबहादुर केही समय जापान बसेर फर्किएका हुन् । ओखलढुंगा, सिस्नेरी स्थायी ठेगाना भएका थापा काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका, आलापोटमा बस्दै आएका थिए । मृतक सुस्मिताको घर पनि आलापोटमै हो ।

उनीहरू पुस १६ गते राति साढे १० बजे पिंगलास्थानस्थित होटल बागमतीको कोठा नं. ३०८ मा छिरेका थिए । १२ बजे थापा कोठबाट बाहिर निस्किए । त्यसक्रममा उनले बाहिरबाटै चुक्कुल लगाएको प्रहरीले जनाएको छ ।

लामो समयसम्म कोठा नखुलेपछि होटलमा रहेको मास्टर किबाट कोठा खोलियो । त्यसबेलासम्म युवतीको मृत्यु भइसकेको थियो ।

कोठाभित्र रेडबुलका केही बट्टामात्रै भेटिएको छ ।

‘कुनै धारिलो हतियार वा हत्या गर्ने कसुरमा प्रयोग हुने अन्य सामान बरामद भएको छैन’, अनुसन्धानरत प्रहरीले बताए ।

बाहिरबाट ढोका लगाएर भागेको, युवतीको मोबाइल पनि साथमै लगेका कारण हत्या थापाबाटै भएको प्रहरीको दाबी छ । उनी हालसम्म फरार छन् । प्रहरीका अनुसार, अनुसन्धान विधिअनुसार उनी पहिचान नजिक छन् ।

प्रहरीका अनुसार थापा मंसिर ३० गते जापानबाट काठमाडौं आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *