ओलीको प्रतिवेदन- राजनीतिक अवस्थाको गम्भीर विवेचना, कांग्रेससँग मिल्नुको औचित्य पुष्टि गर्ने प्रयास
सरकारको काम पर्याप्त नभएको एमालेको निष्कर्ष
काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको ६ महिनाको कामको समीक्षा गरेको छ।
स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सकारात्मक प्रयास गरिरहेको भएपनि पर्याप्त नभएको बताए।
सरकारको कामबारे निष्कर्ष सुनाउँदै ज्ञवालीले भने,‘यतिमात्रै काम पर्याप्त छैन । सरकारले अझ बढी पुस गरोस्, सरकारले अझ बढी गति देओस्, दुईवटा दल मिलेर बनेको, अरू पार्टीको समर्थनमा समेत बनेको शक्तिशाली सरकार हो । त्यसले त्यहीअनुरूप नै प्रभावकारी ढंगले दिनुपर्छ भनेर हामीले सुझाव दिएका छौं ।’
उनले पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदनमा पनि कांग्रेससँग मिल्नुको कारण उल्लेख भएको बताए।
उनले भने, ‘प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको गम्भीर विवेचना गरिएको छ। यो नयाँ सरकार बनेपछि बस्न लागेको पहिलो बैठक हुनाले कांग्रेस र नेकपा एमालेको बीचमा किन नयाँ सहकार्य गर्नुपरेको हो ? यसको औचित्य, आवश्यकता र यसले सिर्जना गरेका अवसरहरू के हुन् ? त्यसको विषयमा चर्चा गरेका छौँ ।’
प्रतिवेदनमा पनि सरकार गठनयताका ६ महिनाको कामको समीक्षा गरिएको बताए । उनले थपे,‘सरकारले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको, केही महत्त्वपूर्ण कामहरू भएको थुप्रै कामहरू गर्न बाँकी रहेको हुनाले बाँकी काम छिटै सम्पन्न गर्न, डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ।
पछिल्लो समय बढ्न लागेको अराजकता, मुलुकलाई अस्थिरतातिर लैजान खोज्ने प्रवृत्तिलगायत सबै विषयमा पनि प्रतिवेदनमा उल्लेख भएको बताए ।