असल अभिभावकत्वको अभावमा पिल्सिएका सचिनहरू – Nepal Press

असल अभिभावकत्वको अभावमा पिल्सिएका सचिनहरू

सम्भवतः धेरैले आमिर खान स्टारर भारतीय फिल्म ‘तारे जमिन पर’ हेरेको हुनुपर्छ । यो फिल्म डिस्लेक्सिया नामक बिरामीले ग्रस्त आठ वर्षीय बालक इशानको कथा हो ।

यो बिरामीले इशानलाई पढ्न वा लेख्नमा समस्या पैदा गर्छ । यही बिरामीका कारण ऊ अत्यन्तै कमजोर विद्यार्थीमा दरिन्छ । प्रतिभावान हुँदाहुँदै ‘कमजोर छु’ भन्ने मनोविज्ञानले उसलाई यति धेरै ग्रस्त बनाउँछ कि ऊ डर, अत्यास र डिप्रेसनको शिकार बन्छ ।

जब रामशंकर निकुम्भ नामक अस्थायी टिचर उसको संगतमा आइपुग्छ, तब ऊ एकाएक बदलिन्छ । डिस्लेक्सियाबाट मुक्त हुँदै उसले आफूमा भएको क्षमताको सुवास विद्यालयमा फैलाउँछ । आफ्नो जिन्दगीमा फैलाउँछ । सारा मानिसहरूको बीचमा फैलाउँछ ।

आमिर खान निर्देशित यस फिल्ममा एउटा संवाद छ, ‘आफ्नो महत्वकांक्षा अवोध बच्चाको नाजुक काँधमा भिराइदिनु भनेको बालश्रमभन्दा खतरनाक अपराध हो ।’

भाइरल मनोविज्ञानले ग्रस्त पिता तेजेन्द्र परियार ‘कलौटे’को महत्वकांक्षाभित्र च्यापिएका बालक सचिन परियारको आज संसारबाट बिलाए । महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको छ ।

चलचित्रका काल्पनिक पात्र इशानसँग एक वास्तविक प्रतिभाको तुलना त्यति तर्कसंगत नहुन सक्छ । तर, फिल्मका पात्रहरूले पनि कहिलेकाहीँ जनजीवनमा ठूलो प्रभाव छोडेका हुन्छन् । त्यसैले इशानको सन्दर्भ यहाँ निकालिएको हो ।

सचिन र इशानमा केही कुरा फरक छ । इशान डिस्लेक्सियाका कारण इन्ट्रोभर्ट थिए । सचीन एस्ट्रोभर्ट थिए । सचीनलाई मानिसहरूसँग बोल्न, कुरा गर्न धक मान्नुपर्ने अवस्था थिएन । मानिसहरूका अगाडि गीत गाउनु, मन छुने शैलीमा संवादहरू बोल्नुमा अप्ठ्यारो थिएन । तर, सचीन र इशानबीचकोे मुख्य समानता के हो भने दुवै फरक क्षमताका धनी थिए ।

आफ्नो बच्चालाई क्षणिक भाइरल बनाउने लोभमा अभिभावक पर्नु हुँदैन । बचले जब कुनै प्रतिभामा आफूलाई राम्रोसँग निखारिसक्छ, स्वतः सबैको नजरमा पर्छ । उसलाई भाइरल बनाइरहनु पर्दैन । त्यो बच्चाले स्वतः सारा संसारलाई आफ्नो क्षमता र प्रतीभाको स्वाद चखाउँछ । र समाजलाई सही तरीकाले अगाडि बढाउँछ ।

सचिनले राम शंकर निकुम्भजस्तो शिक्षक भेटेनन् । आफूमा निहीत क्षमतालाई सही तरीकाले माझ्न र तिखार्न पाएनन् । बरु पिता तेजेन्द्रले सचीनको क्षमतालाई दुरुपयोग गरे । सचीनलाई कमाइ खाने भाँडो बनाउन खोजे । उनले छोरालाई पैसा फल्ने रुख सोचे । तेजेन्द्र यो रुखबाट पैसा टिप्न मात्रै लागिपरे । त्यो कलिलो रुखमा मलजल र गोडमेल गर्नतिर ध्यान दिएनन् । आज तिनै कलौटेको खराब अभिवाकत्वको शिकार भए सचीन ।

सचीनको यो कथा लेख्दै गर्दा एक इटालियन फिल्मको याद आयो । रोबर्टो बेनिग्नी निर्देशित यो फिल्म दोस्रो विश्वयुद्धको पेरिफेरिमा छ । नाजीको कन्सट्रेसन क्याम्पमा छोरा सहित पुगेका मुख्य पात्र गुयडो ओरेफिसले आफूले यातना पाउँदा पाउँदै पनि नाबालक छोरालाई त्यसको भनक नै दिँदैन । बरु उसले आफूहरूले खेल खेलिरहेको भनेर छोरालाई बताउँछ । यदि छोरा रोएमा, क्याम्पको अर्कोतिर रहेकी आमा खोजेमा, भोक लाग्यो भनेमा खेलमा प्वाइन्ट घट्ने बताउँछ । यदि हजार प्वाइन्ट पुर्याएको खण्डमा ट्यांक पाउने बताउँछ । यसरी गुयडोले आफू नाजीहरूको अमानवीय व्यवहारको सिकार भए पनि बच्चालाई त्यसको कुनै भनक नदिन हरसम्भव प्रयास गर्छ ।

‘लाइफ इज ब्युटिफुल’को कथाले अन्य धेरै कुरा भने पनि यहाँ असल प्यारेन्टिङको सन्दर्भ मात्रै उप्काउन खोजिएको हो । बच्चालाई कसरी हुर्काउनुपर्छ ? बच्चालाई कस्तो वातावरण दिने ? बच्चाको प्रतीभालाई कसरी मगमगाउने बनाउने ? असल अभिभावकत्व पाएका भए सचीनले सडक पेटीमा बसेर पैसा मागेर हिँड्नु पर्दैन थियो । ‘मैले यो पाठको आशय बुझिनँ, मलाई सिकाउनुस्’ भनेर शिक्षकलाई अनुरोध गर्नुपर्ने उमेरमा ‘मलाई पैसा दिनुस्’ भनेर हात थाप्नुपर्ने थिएन ।

एउटा बच्चालाई कति पैसा चाहिन्छ ? एउटा बच्चाको आवश्यकता के के हुन् ? बिहान बेलुका दुई छाक खानु, न्यानो लुगा लगाउनु, केही चकलेटहरू खान पाउनु, विद्यालय जान पाउनु, साथीहरूसँग खेल्न पाउनु ! साधारणतया बच्चाहरूका प्रमुख आवश्यकता यिनै हुन् । तर, यी साधारण आवश्यकताका लागि पनि उनले सडकमा भौतारिनुपर्यो । सचीन बालक थिए, उनले बालकजस्तै रहन पाउने अधिकारलाई आफ्नै बाबुदेखि युट्यूवरसम्मले कालो बुटले कुल्चिदिए ।

त्यही कुल्चाइमा निसास्सिएका सचिन अब हामीबीच रहेनन् । फर्साइलो, मीठो बोल्ने अवोध अनुहार केवल सम्झनामा सिमित भएको छ । सचिनलाई मनोरञ्जनको वस्तुजस्तो ठान्ने हामी पनि कतै न कतै उनको दुर्दशाप्रति जिम्मेवार छौ । उनी पनि तपाईं÷हाम्रो बच्चाजस्तै राम्रो वातावरणको हकदार छन् भन्ने सोच्न भुल्यौं । उनको अवोधपनालाई व्यापारको विषय बनाइयो ।

मैले केही समयअघि एक स्टोरी गरेको थिएँ । नेपालप्रेसमा ‘आमाको छत्रछायाँमा हुर्किएका निकेश’ शीर्षकमा छापिएको थियो । दोलखाका निकेश श्रेष्ठ १८ महिनाको हुँदखेरि नै मुटुमा प्वाल छ भनेर डक्टरले भनेका थिए । यसको उपचार गर्न कोरिया जाँदा त्यहाँ थाहा भयो, निकेशको मुटुमा प्वाल मात्रै छैन, ऊ कान पनि सदाको लागि सुन्दैन ।

तर, निकेशकी आमा सरुना श्रेष्ठले हरेस खाइनन् । माविमा पढाइरहेकी सरुनाले शिक्षण पेशा हापिन् । निकेशसँगै बहिरा स्कुल पढ्न सुरु गरिन् । सँगै दोलखामा बहिरा विद्यालय पनि संचालनमा ल्याइन् । अहिले निकेश सांकेतिक भाषामा बोल्छन् । नयाँ बानेश्वर चोकमा अरबिका कफी सप हाँक्छन् । केहीलाई रोजगारी सृजना गरेका छन् ।

निकेशद्वारा कसरी यी सब सम्भव भयो ? यसको एकै उत्तर छ,– निकेशले पाएको अभिभावकत्व । जुन अभिभाकत्व सचिनले पाउन सकेनन् । सचिनलाई विस्तारै विरामीले च्याप्दै लग्यो । समयमा सही उपचार पाउन सकेनन् । त्यही बिरामीले सचिनलाई चुँड्यो ।

बच्चालाई जस्तो वातावरणमा हुर्कायो ऊ त्यस्तै बन्छ । निकेशले जस्तो राम्रो वातावरण पाउनु हरेक बच्चाको अधिकार हो । तर, सचीनको त्यही नैसर्गिक अधिकार खोसियो ।

सचिन अब हामीबीच रहेनन् । फर्साइलो, मीठो बोल्ने अवोध अनुहार केवल सम्झनामा सिमित भएको छ । सचिनलाई मनोरञ्जनको वस्तुजस्तो ठान्ने हामी पनि कतै न कतै उनको दुर्दशाप्रति जिम्मेवार छौ । उनी पनि तपाईं÷हाम्रो बच्चाजस्तै राम्रो वातावरणको हकदार छन् भन्ने सोच्न भुल्यौं । उनको अवोधपनालाई व्यापारको विषय बनाइयो ।

२०७८ सालको गनगणना अनुसार नेपालको कूल जनसंख्याको २७ दशमलव नौ प्रतिशत एकदेखि १४ वर्ष उमेर समूहका छन् । अर्थात् ८१ लाख १५ हजार पाँच सय ७५ बालबालिका १४ वर्षमुनिका छन् । यी सबै बालबालिकासँग कुनै न कुनै प्रतिभा छन् ।

बालबालिकाको यो संख्या अबको अढाइ–तीन दशकपछिको सिंगो नेपालको अनुहार हो । यिनीहरूलाई जसरी हुर्काइन्छ, अबको अढाइ तीन दशकपछिको नेपालको अनुहार त्यस्तै बन्छ । यी लाखौं बच्चालाई राम्रो र सभ्य वातावरणमा हुर्काउनु हामी सबैको दायित्व पनि हो । किनभने अहिले यिनले जस्तो वातावरण पाउँछनु, भोलि यी बच्चाहरू त्यस्तै बन्ने हुन् ।

यी ८१ लाख बच्चाहरू सबै आ–आफ्नै खाले विशिष्ट क्षमता र प्रतिभा लिएर आएका छन् । आफ्नो प्रतिभाको सुवास फैलाउन पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । त्यसैले यी ८१ लाख बालबालिकाहरूलाई अवोध सचिन जसरी ‘पैसा फल्ने रुख’ हुनबाट जोगाउनु हरेक अभिभावकको जिम्मेवारी हो ।

आफ्नो बच्चालाई क्षणिक भाइरल बनाउने लोभमा अभिभावक पर्नु हुँदैन । बचले जब कुनै प्रतिभामा आफूलाई राम्रोसँग निखारिसक्छ, स्वतः सबैको नजरमा पर्छ । उसलाई भाइरल बनाइरहनु पर्दैन । त्यो बच्चाले स्वतः सारा संसारलाई आफ्नो क्षमता र प्रतीभाको स्वाद चखाउँछ । र समाजलाई सही तरीकाले अगाडि बढाउँछ ।

अन्तमा ‘तारे जमीन पर’कै एक डाइलग छः– ‘यो संसारमा यस्ता यस्ता हिरा जन्मेका छन्, जसले सारा दुनियाँकै नक्सा बदलिदिएका छन् । किनभने उनीहरूले यो दुनियाँलाई आफ्नै नजरबाट देख्ने र पर्गेल्ने अवसर पाए ।’

र, हामीले ८१ लाख सचीनहरूलाई आफ्नै नजरबाट यो दुनियाँलाई हेर्ने अवसर सृजना गरिदिनुपर्छ । हार्दिक श्रद्धासूमन सचिन !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *