प्रचण्डको राजनीतिक प्रतिवेदनमा माओवादी रुपान्तरण र पुनर्निर्माणको संकल्प
मदन भण्डारी र हुलाकी राजमार्ग केन्द्रित भएर ६ महिना अभियान चलाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन तयार पारेका छन् ।
केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नको लागि बसेको स्थायी कमिटीको बैठकमा आफ्नो प्रतिवेदनबारे सामान्य ब्रिफिङ गरेको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए ।
उनले भने, ‘अध्यक्षको राजनीतिक प्रतिवेदनमा वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक बिषयहरु समेटिएका हुन्छन् ।’ पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गर्नुहुन्छ । त्यसमा आगामी कार्ययोजना र संगठनात्मक विषय समेटिएका हुन्छन् ।’
देशलाई गम्भीर संकटबाट बचाउन दुईवटा अभियान चलाउनुपर्ने बैठकमा जानकारी गराएको समेत बताए ।
उनले भने, ‘एउटा मदन भण्डारी लोकमार्गमा आधारित र अर्को हुलाकी राजमार्ग केन्द्रित भएर ६ महिना जनतामा गएर के चाहेका छन् ? के खोजेका छन् ? यी समग्र कुराको अध्ययनसहित सिक्ने सिकाउने र रुपान्तरणको प्रक्रियामा जानुपर्छ ।’
प्रचण्डको प्रतिवेदनमा पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेटिनेछन् ।
आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक पहिलो पटक फेस गर्दैछन् । केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरेका थिए ।
एमाले र कांग्रेस मिलेपछि सरकारबाट बाहिरिएको परिस्थितिलाई पार्टी निर्माण गर्न अवसरको रुपमा लिने माओवादीको निष्कर्ष छ । यही केन्द्रीय कमिटीको बैठकबाट संगठन निर्माणको अभियानबारे निर्णय पनि गर्दैछ ।
माओवादीमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छाड्नुपर्नेदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकमा आएको सुझावलाई दस्तावेजमा समेट्ने तयारी गरेका छन् । शर्माको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पनि छलफलमा लैजाने प्रचण्डले आश्वासन दिएपछि पार्टीभित्र देखिएको तरंग हल भएको थियो ।
माओवादीले यही केन्द्रीय कमिटीको बैठकबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपासँग एकता गर्ने निर्णय गर्ने तयारी पनि गरेको छ ।
आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउनुपर्नेमा नेताहरूको जोड छ ।
यो केन्द्रीय कमिटीको बैठकमा ८२५ जना सहभागी हुँदैछन् । माओवादीमा विशेष महाधिवेशनमा गएर विधानअनुसार पदाधिकारी र केन्द्रीय कमिटीको संख्या घटाउनुपर्ने दबाब बढ्दो छ ।
चटकेले नयाँ नयाँ चटक देखाउँछ । पदबाट हटनुपर्दा फिटफिटी भाको छ।ओलि पदमा भएकाले गर्दा नेपालमा फिटफिटीमा परेकाहरू- प्रचण्ड, प्रभू साह, ऋषि धमला र दुर्गा प्रसाईं । दुर्गा अहिले सुस्ताएका छन् । यी सबैलाई नचाउने मालिक एउटै छ फेरि ।