एकल आमा र भाइको सहारा बन्न नपाउँदै अस्ताइन् सुस्मिता, शोकमा छ आलापोट – Nepal Press

एकल आमा र भाइको सहारा बन्न नपाउँदै अस्ताइन् सुस्मिता, शोकमा छ आलापोट

काठमाडौं । मायाका साथ ‘स्वस्तिका’ नामले बोलाइने सुस्मिता खड्का अब आलापोट आसपासका बासिन्दाका लागि सम्झनामा मात्र सिमित रहिन् । उनको भौतिक देह अहिले पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा क्रमशः खरानीमा परिणत हुँदैछ ।

बिहीबार गौशाला, पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिताको निधनले खड्का परिवारलाई असह्य भार परेको छ । एक्ली आमा क्यामुकी साहारा थिइन् उनी ।

१४ वर्ष पहिले बुबा कमलको निधन हुँदा उनी जम्मा ७ वर्षकी थिइन् । उनीभन्दा माथिका दुवै दिदी विवाह गरेर भक्तपुरस्थित पतिको घर गए । कागेश्वरी मनोहरा– १, आलापोट, सुवेदी गाउँको घरमा आमा क्यामु र उनीभन्दा सानो भाइमात्रै भए ।

पतिबिनाकी एक्ली क्यामुका निम्ति तीन छोरी र एक नावालक छोरा हुर्काउने कष्ट सानो थिएन । छरछिमेक, इष्टमित्र भन्नेले पनि त्यत्तिकै किन कष्टमाथि ‘हैंसे’ गर्थे र ? सुस्मिताका मामा तथा क्यामुका भाइ उत्तम खड्का भन्छन्, ‘दिदी र भाञ्जाभाञ्जीको संरक्षण हामीले नै गर्नुपर्यो ।’ क्यामुको माइती र घरको दूरी जम्मा ८–१० मीनेटमा पर्छ ।

जिल्ला काठमाडौं भए पनि आलापोट, सुवेदी गाउँ भनेको अहिलेसम्म ग्रामीण परिवेशकै ठाउँ हो । सानासाना कुराका राम्राभन्दा नराम्रा हल्लाले बजार पाउने । दुई दिदीको विवाहपछि सुस्मिता नै थिइन्, आमा र भाइको दुःख टार्ने । हाम्रा समाज नै यस्तो छ कि, छोरीले गरिखाएको पनि राम्रो नजरले हेर्दैन । यी सबै उल्झन झेल्दै झेल्दै उनी जापान जाने तयारीमा लागिन् ।

सुस्मिताको हत्या आरोप लागेका देवबहादुर थापा त्यहीँका बासिन्दा हुन् । उनका बाबुआमा ओखलढुंगाबाट त्यहाँ आएपछि घर बनाएर नयाँ बस्तीमा बस्छन् । सुस्मिता र देवबहादुरको परिवारबीच पारिवारिक घनिष्ठता नै थियो ।

तर, देव र सुस्मिताबीच प्रेम सम्बन्ध छ भन्ने अनुमान पनि कसैले गरेका थिएनन् । देव तीन वर्षपहिले जापान गएका हुन् । गाउँमा अहिले पनि उनका बुबा, आमा र दाजु बस्छन् । ‘केटा आएको हामीलाई थाहै थिएन, भान्जीको सिओई आउन बाँकी छ भन्नेमात्रै सुनेका थियौं’, मामा उत्तमले भने ।

एउटी स्वाभिमानी, स्वाबलम्बी युवतीका रुपमा सुस्मिता स्थानीयबीच परिचित रहेको इन्द्रायणीका बासिन्दा लक्ष्मण खड्का बताउँछन् । ‘२०–२१ वर्षकी एउटी छोरी मान्छेले परिवारको समस्त दुःख हर्छु भनेर जापान जाने निधो गर्नु आफैंमा सुखद् कुरा थियो’, उनले भने ।

सबै प्रक्रिया समाप्त भएपछि जापानबाट सुस्मिताको सिइओ त आउला, तर जापानले सुस्मितालाई भेट्न नपाउने नै भयो ।

याे पनि पढ्नुस्: गौशालामा मृत भेटिएकी सुस्मिताको प्रेमीले हत्या गरेकाे प्रहरीकाे ठहर

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *