बझाङमा दुई दुर्घटना : एकै घरका तीनसहित पाँच जनाको मृत्यु
कैलाली । बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा ५ जनाको ज्यान गएको छ ।
बझाङको तलकोट गाउँपालिका स्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका ३ जनासहित ४ जना र मष्टा गाउँपालिका- १ काेटदेवलमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
दुर्घटनामा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमबहादुर धामीको ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रहरीका अनुसार जीप चालक केदारस्यु गाउँपालिका १ का ३३ वर्षीय सम्शेर मल्लको पनि घटनास्थलमै मृत्यु भएको छ। बमबहादुर धामीको छोरीको भने उद्धार गरेर थप उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार से १ ज ८४३ नम्बरको जीप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा तलकोट गाउँपालिकाको धमेनामा दुर्घटना भएको हो। जीप झन्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ। दुर्घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बझाङकाे मष्टा गाउँपालिका- १ काेटदेवलमा जिप दुर्घटना १ जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय जिप चालक धर्म थापा रहेको प्रहरीले जानकारी दिएको छ।
भातेखाेलाबाट रनाडा जानेक्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप मष्टा गाउँपालिका-१ काेटदेवलमा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिप सडक भन्दा १ सय मिटर तल खसेकाे समेत प्रहरीले जानकारी दिएको छ । जिपमा चालक थापा मात्रै सवार रहेको मष्टा गाउँपालिका-१ का वडाअध्यक्ष रामचन्द्र राेकायाले बताए ।