नीति आयोगको उपाध्यक्षमा राना, भण्डारी र चन्द सदस्यमा नियुक्त
कैलाली । सुदूर पश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा जीवन राना नियुक्त भएकी छन् ।
मन्त्री परिषद्को बैठकले रानालाई नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । त्यस्तै शेर बहादुर भण्डारी र हिरा चन्द नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भएका छन् ।
द सोसियो कल्चर अफ राना थारु विषयमा विद्यावारिधि प्राप्त रानाले एजुकेसन प्लानिङ म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन् । राना थारु समाजकी पूर्व अध्यक्ष राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् ।
सदस्यमा नियुक्त भएका भण्डारी पनि नेपाली कांग्रेस निकट हुन् । अर्का सदस्य चन्द भने नेकपा एमाले निकट हुन् ।
मुख्यमन्त्री शाहले बुधवार नै रानालाई उपाध्यक्ष पदको शपथ खुवाए । त्यसपछि उपाध्यक्ष रानाले नवनियुक्त सदस्यद्वय भण्डारी र चन्दलाई शपथ खुवाइन् ।
यसअघि उपाध्यक्ष गणेश विक थिए भने सदस्यहरूमा डा। जगरसिंह रावल र दीपिका भट्ट थिए ।
तत्कालीन गठनादेश खारेज गरेर नयाँ गठनादेश अनुसार उपाध्यक्ष र सदस्य नियुक्त गरिएको हो ।
यसअघि उपाध्यक्षसहित तीन सदस्य रहेको प्रदेशको नीति तथा योजना आयोग अब पाँच सदस्यीय भएको छ ।
उपाध्यक्ष र दुई सदस्य नियुक्त भएपछि अब थप दुई सदस्य नियुक्त हुने छन् ।