ज्यानमारा बन्दै सुदूरका सडक, दुर्घटना न्यूनीकरणमा ध्यान दिन सरकारलाई एमाले नेता महरको आग्रह – Nepal Press

ज्यानमारा बन्दै सुदूरका सडक, दुर्घटना न्यूनीकरणमा ध्यान दिन सरकारलाई एमाले नेता महरको आग्रह

कैलाली । बिहीबार (गएराति) बझाङको मष्टा र तल्कोट गाउँपालिकामा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला प्रतिनिधिसभा इन्चार्ज ऐन महरले ज्यानमारा सडकहरूको सुधारमा सरकार र जनप्रतिनिधिहरूलाई ध्यान दिन आग्रह गरेका छन् ।

मष्टा गाउँपालिका–१ कोटदेवलमा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप दुर्घटना परेर मष्टा गाउँपालिका–१ रनाडा घर भएका चालक ४२ वर्षीय धर्म थापाको मृत्यु भएको छ ।

त्यसै गरी, तल्कोट गाउँपालिका–२ स्थित धमेनामा से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना परेर ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर केदारस्युँ गाउँपालिका–१ रायलका जीप चालक ३२ वर्षीय समशेर मल्ल, तलकोट गाउँपालिका–४ घर भएका ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीय आमा जौमती देवी धामी र उनकी ६ बर्षीया छोरी आकृति धामीको मृत्यु भएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले यस घटनाप्रति दुःख व्यक्त गर्दै यात्रा गर्दा मृत्युवरण गर्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।

देशभरका ज्यानमारा सडकहरूको सुधारमा तत्कालीन कदम चाल्नुपर्ने उनको भनाइ छ । ‘यस प्रकारका दुर्घटनामा अझै कति जनाको ज्यान जाने हो । ग्रामीण सडकमा दिनहुँ यस्ता दुर्घटनाका खबर आइरहन्छन् । सडकको सुरक्षा मर्मत र सुधारका लागि सरकार र जनप्रतिनिधिहरूले यस विषयमा संवेदनशील भएर काम गर्नुपर्छ’महरले भने ।

सुदूरपश्चिमका पहाडी जिल्लामा प्रत्येक वर्ष साना ठूला दुर्घटना पनि सयौँको ज्यान गइरहेको छ । दुर्घटनाको छानबिन गरी त्यस्ता घटना फेरि हुन नदिने गरी सरकारले नीति बनाउनु पर्ने महरले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *