राप्रपाले महेन्द्र शालिकदेखि पृथ्वी शालिकसम्म एकता ऱ्याली गर्ने, पृथ्वी जयन्तीमा चियापान गर्ने – Nepal Press

राप्रपाले महेन्द्र शालिकदेखि पृथ्वी शालिकसम्म एकता ऱ्याली गर्ने, पृथ्वी जयन्तीमा चियापान गर्ने

काठमाडौँ। ३०३ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले पौष २७ गते दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता ऱ्याली गर्ने भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरू समेत ऱ्यालीमा सहभागी हुनेछन् ।

विभिन्न भेसभुसा र झॅाकी सहितको हुने ऱ्याली पृथ्वी शालिकमा पुगेर नेताहरूले राष्ट्रनिर्माताको सम्मानमा पुष्पगुच्छा चढाउने कार्यक्रम रहेको छ ।
सोही दिन राप्रपाले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न पेशागत संघसंस्थाका प्रमुखहरू, कलाकार, खेलाडी लगायत सामाजिक जीवनका विभिन्न व्यक्तिहरूलाई निमन्त्रणा पठाएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

आम निर्वाचनपछि राप्रपा समेत सहभागी प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा निर्णय गरेको थियो । राप्रपाले ०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको प्रवक्ता श्रेष्ठले बताए ।

यसै गरी पृथ्वी जयन्तीकै अवसरमा राप्रपा सम्बद्ध प्राज्ञिक परिषदले पौष २५ गते काठमाण्डौंमा राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदानका बारेमा विचार गोष्ठीको आयोजना समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर