आर्थिक अनियमिततामा मुछिएका स्वकीय सचिवलाई लेखा समिति सभापतिले हटाए
विराटनगर । आर्थिक अनियमिततामा मुछिएपछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट हटाएका छन् । एमबीबीएस परीक्षामा नाम निकालिदिने भन्दै अनिलले रकम लिएको बाहिरिएको थियो ।
उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई गत भदौमै परमादेश दिएको थियो । उक्त परमादेश पुस ११ मा प्रमाणीकरण भएको छ ।
पोखरेलले संघीय संसद सचिवालयलाई स्वकीय सचिवलाई पोखरेललाई हटाएको जानकारीसहितको पत्र पठाएका छन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रबार पत्र पठाएका थिए ।
पोखरेलले संसद सचिवालयमा लेखेको पत्रमा भनिएको छ, ‘निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।’
‘माथिसम्म पहुँच रहेको’ र एमबीबीएसमा नाम निकालिदिने भन्दै लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव अनिल पोखरेलले दीक्षा चौधरीको नाम एमबीबीएसको प्रवेश परीक्षामा निकालिदिने भन्दै बाबु बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएर ५० लाख ऋण लिएको लिखत बनाई चौधरीलाई हस्ताक्षर गराएको पीडितको भनाइ छ ।
पोखरेलले चौधरीबाट रकम लिएको स्वीकार गरेका छन् । तर, त्यो रकम एमबीबीएसमा नाम निकाल्न नभएको उनको दाबी छ । पीडितले आफू ठगिएपछि इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका थिए ।
अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् । उनी २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका थिए ।