८१ वर्षे क्यान्सर पीडितले पाइनन् ८ वर्षअघि बेचेको घरजग्गाको पूरा रकम, जनप्रतिनिधिहरु निरीह
रुपन्देही । बुटवल उपमहानगरपालिका- ८ सुख्खानगरकी ८१ वर्षीया अमृता सुनारले ८ वर्षअघि बेचेको घरजग्गाको पूरा रकम अहिलेसम्म पाएकी छैनन् । आफ्नो क्यान्सर उपचार गर्न अमृताले आठ वर्षअघि १ करोड १८ लाखमा घरजग्गा बेचेकी थिइन् । २०७३ साल माघ २१ गते बुटवल- ११ देवीनगर करुणपथ बस्ने जानकी बराहलाई उनले घरजग्गा बेचेकी थिइन् ।
चार छोरामध्ये साइँलो छोरा दुर्गासँग बस्दै आएकी अमृता घर बेचेपछि अहिले अलपत्र परेकी छन् । भएकाे घरजग्गा बेचेकाले अमृता मानसिक बिरामी छोरा दुर्गा सँगै सडकमा आएकी छन् ।
छिमेकीको चिनजानका आधारमा अमृताले कुनै बलियो लिखत वा कागजपत्र नबनाई आफ्नो नामको घरजग्गा जानकीलाई बेचेकी थिइन्, तर कारोबार भएको ८ वर्ष बित्दा पनि घरजग्गाको पूरा रकम नपाएको उनले गुनासो गरिन् । उनले अझै ८४ लाख रुपैयाँ पाउन बाँकी रहेको बताइन् ।
‘घरजग्गा बेच्दा सुरुमा ३४ लाख रुपैयाँ पाएँ । बाँकी रकम अहिलेसम्म नपाउँदा सडकमा आउनुपरेको छ’, अमृताले भनिन्, ‘आफू क्यान्सर रोगले पीडित, छोरा डिप्रेसनको बिरामी, भएको घरजग्गा दलालले खाइदियो । न्याय खोज्न जाउँ प्रमाण छैन भनेर ढोकैबाट फर्काउँछन् ।’
वडा र नगरपालिकाको न्यायिक समितिमा गएर वडाध्यक्ष तथा उपमेयरसँग कुरा गर्दा पनि आफूले बाँकी रकम नपाएको उनको गुनासो छ ।
‘वडामा रकम लिनु दिनुपर्ने कागज धेरै पटक बनाइयो, तर त्यहाँबाट निकास नआएपछि न्यायिक समितिमा गए पनि अहिलेसम्म केही भएन’, उनले भनिन्, ‘प्रहरीमा, वडामा रकम दिन्छु भनेपनि अरु समयमा घर किनेकी जानकीले आफूले कानून सबै जानेको भन्दै उल्टै धम्काउने गरेकी छन्, आफ्नो बाँकी रकम माग्दा उनका परिवारले नै धम्काउँछन् ।’
अमृताले न्यायका लागि बुटवल- ८ को वडा कार्यालयमा निवेदन दिएपछि पटक-पटक छलफल र सहमति भए, तर कार्यान्वयन भएन । वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले अमृता पीडित भएको बताए । न्याय दिलाउने आफ्नो पटक-पटकको प्रयास असफल भएको उनी बताउँछन् ।
वडापछि बुटवल उपमहानगरको न्यायिक समितिमा पुगेकी अमृताले त्यहाँबाट पनि न्याय पाउन सकेकी छैनन् । न्यायिक समितिकी संयोजक एवं उपमेयर सावित्रादेवी अर्यालले अमृता वास्तवमै अन्यायमा परेको भए पनि प्रमाण र आधारहरु नपुगेकाले आफूले न्याय दिलाउन नसकेको बताइन् ।
‘पटक-पटक पीडितहरुसँग मैले भेटेर कुराकानी गरें’, उनले भनिन्, ‘तर न्याय दिलाउन प्रमाण पुग्ने देखिएन । पर्याप्त प्रमाण र आधारहरु नभेटिएका कारण इजलासमा लैजान सकिनँ ।’
उपमेयर अर्यालले अमृता पीडित नै भएको देखिए पनि न्याय दिलाउन आफूहरुबाट कुनै उपाय नलागेकाे औंल्याइन् ।
अमृताकाे घरजग्गा किन्ने जानकी कानून व्यवसायी हुन् । वडा, नगरपालिका र प्रहरीमा उजुरी परेपछि जानकीले बाँकी ८४ लाख रुपैयाँको सट्टा नवलपरासीको सुनवल नगरपालिका- ८ मा रहेको ७ कट्ठा ६ धुरको जग्गा दिने भनी प्रलोभन देखाएको अमृताको परिवारले बताएको छ ।
तर उक्त जग्गा खाेज्न जाँदा नभेटिएपछि आफूहरु ठगिएको भन्दै अमृताको परिवारले बुधबार पत्रकार सम्मेलनसमेत गरेका छन् ।
अमृता र जानकीबीच घरजग्गा किनबेचको कारोबार गराउने मुख्य व्यक्ति जानकीकै भाइ भएको र दिदीभाइ मिलेर आफूहरुको घरजग्गा कम मूल्यमा हडप्न लागेको अमृताका परिवारहरुले आरोप लगाएका छन् ।
उनीहरुका अनुसार जानकीले भेट तथा फोन सम्पर्कमा कानूनी रुपमा आफू बलियो भएको र जे पनि गर्नसक्ने धम्कीपूर्ण भाषा प्रयोग गर्ने गरेकी छन् । करोडौं रुपैयाँको कारोबार गर्दा पनि स्पष्ट कागजपत्र नबनाउनुले जानकी र उनका भाइको ठग्ने नियत स्पष्ट भएको उनीहरुको भनाइ छ ।
अमृताले सुरुमा कारोबार गर्दा कागजपत्र बनाउनुपर्ने बताउँदाबताउँदै जानकीले आफू कानून व्यवसायी भएकाले कुनै कागजात बनाइरहन नपर्ने भनेर विश्वास दिलाएको अमृताकी छोरी कर्णमाया सुनारले बताइन् । विश्वासकै भरमा करोडौंको घरजग्गा पास गरिदिएपछि जानकीसँग बाँकी रकम माग्दा विभिन्न बहाना बनाउने र आफू कानून व्यवसायी भएकाले कसैले केही गर्न नसक्ने भन्दै उल्टै धम्की दिने गरेको उनकाे भनाइ छ ।
‘आमा बिरामी हुनुहुन्छ, भाइ पनि बिरामी छन्, घर किनेको मान्छेले पूरा रकम दिएको छैन । झुक्काएर घरजग्गा पास गरेर लिइसक्यो । वडाको कागजमा उनीहरुले रकम दिन बाँकी रहेको स्वीकार गर्छन्, तर दिने बेलामा उल्टै धम्की दिन्छन्’, कर्णमायाले भनिन्, ‘भएको घरजग्गा बेचिहालियो, अहिले त सडकमा आउने भयौं ।’
अमृताका नाति सुमित खड्काले पनि जानकी र उनको भाइले घर बेचेको सबै रकम नदिँदा आफूहरुको सडकबास भएको र बाँकी रकम माग्दा उल्टै धम्की दिएकाले आफूहरु असुरक्षित भएको बताए ।
सहमतिअनुसार आफूहरुले जग्गा तथा बाँकी रकम पाउन नसकेको र यथार्थ थाहा पाएर पनि जनप्रतिनिधिहरुले न्याय दिलाउन नसकेपछि अन्तिम विकल्पको रुपमा मिडिया गुहार्न आएको उनले बताए ।
यता जानकीले भने घरजग्गा खरिद गर्ने कारोबार गर्दा ३५ लाख नगद र बाँकी रकम बराबर जग्गा दिएको उल्लेख गरिन् । जानकीका श्रीमान टीकाराम गौतामेले पनि आफूहरुले सबै रकम भुक्तानी दिइसकेको दाबी गरेका छन् ।
‘अमृतासँग कुनै पनि कारोबार बाँकी छैन’, उनले भने, ‘अमृताले पाउनुपर्ने बाँकी ८४ लाख रकम विक्रमलाई बुझाएको र विक्रमले अमृतालाई जग्गा दिने सहमति गरेका छन् ।’