दुई लाख नभएर छोरासहित वीर अस्पतालमा अड्किरहेकी पार्वती धामी

१८-१९ दिनअघि १४ वर्षीय रोशन धामी आईसीयूमा भ्यान्टिलेटरमा थिए । सुनसान रातमा भित्ते घडीको काँटाले निकाल्ने खट्-खट् आवाज झैं रोशनको एक मुठी सास वीर अस्पतालको आईसीयूमा घिटिक-घिटिक गरिरहेथ्यो ।
भ्यान्टिलेटरमा अक्सिजन माक्सबाट रोशनभित्र छिरिरहेको अक्सिजनसँगै छिर्थिन् आमा पार्वती धामी । मनमनै भगवान पुकार्थिन् । कूल देवता पुकार्थिन् । छोरा रोशन पहिले जस्तै मुस्कुराउन सकोस् भनेर प्रार्थना गर्थिन् । छोराको एक झलक हेर्न बिरामी कुरुवा कक्षमा छटपटिन्थिन् ।
एक अवोध आमाले छोराको जीवन रक्षाका खातिर गर्न सक्ने नै यति थियो । बाँकी त मेडिकल साइन्स र डक्टरहरूको हातमा थियो । भर्खरै आठ कक्षामा पढिरहेका किशोर रोशनको जीवन सही औषधोपचारको भरमा अड्किएको थियो ।
०००
रोशनका बाबु राजेन्द्र धामीलाई मदिरा भए पुग्थ्यो ।
छोरा अस्पतालमा पाइपबाट अक्सिजन तानिरहेका थिए, बाउ राजेन्द्र कतै भट्टीमा मदिरा ! पार्वती अस्पतालको विशाल भवनमा अतालिँदै थिइन्, श्रीमान् राजेन्द्र गल्लीतिर नशाले लरबरिँदै थिए ।
एकातिर ११ वर्षीय छोरी धापासीको फुपूको कोठामा, अर्कातिर छोरा अस्पतालको बेडमा । अनि श्रीमान् चाहिँ भट्टीमा । कहिल्यै काठमाडौं नटेकेकी पार्वतीले के के पो गर्न सक्थिन् र ! यो अत्यासलाग्दो सहरमा पहिलोपटक छिरेकी उनलाई केही थाहा थिएन । र, पनि हरेस खाएर जिम्मेवारीबाट भाग्ने छुट उनलाई थिएन ।
स्कुल पढ्न पाइनन् । १५ वर्षकै उमेरमा विवाह भयो, डिलासैनी गाउँपालिका,- ७ धामी गाउँ, बैतडीका राजेन्द्रसँग । १७ वर्षकै उमेरमा रोशनलाई जन्म दिइन् । तीन वर्षपछि एक छोरीलाई जन्म दिइन् । अहिले जम्मा ३१ वर्षकी भइन् । तर, दुःखले थिचेकाले होला, ४० हाराहारीकी देखिन्छिन् ।
श्रीमान्ले भट्टीतिरै छाडेर बिरामी छोरो लिएर अस्पताल छिरेकी पार्वतीलाई डाक्टरले भने, ‘रोशनको कान पाकेको छ । कानको पीप बगेर दिमागमा जमेर बसेको छ । एकदमै चाँडो अप्रेसन गर्नुपर्छ, नत्र गाह्रो हुनसक्छ ।’
०००
बैतडीको धामी गाउँमा सबैकुरा ठिकठाक चलिरहेकै थियो ।
वस्तुभाउ, खेती किसानीमै व्यस्त थिइन् पार्वती । श्रीमान् जे जसो भए पनि घर व्यवहार चलाइरहेकी थिइन् उनले । छोरा र छोरीलाई दुई छाक खुवाएकै थिइन् । आफू घरको काममा घोटिएर छोरा र छोरीलाई स्कुल पठाइरहेकी थिइन् ।
तर, गत कात्तिकमा रोशन अचानक बिरामी भए ।
रोशनको कान एकदमै बेस्सरी दुख्न सुरू गर्यो । रोशन छटपटिन थाले । उनलाई नजिकैको दार्चुलाको गोकुलेश्वर अस्पतालमा लगियो, त्यो पनि धामी गाउँबाट चार-पाँच घण्टाको बाटो हिँडेर । रोशनको कान पाकेको रहेछ । दाहिने कानको प्वालबाट पीप निस्कियो !
स्वास्थ्यकर्मीले केही औषधि दिए ।
रोशनलाई चार पाँच दिन औषधि चलाइयो । तर, बीसको उन्नाइस भएन । झन्झन् बिरामी हुँदै गए । झन झन रुन थाले । रुँदारुँदै ओछ्यानमा थला परे ।
थला परेपछि के गर्ने त ?
अलि राम्रो अस्पताल लौजाने सुझाव गाउँले र स्वास्थ्यकर्मीले दिए । राम्रो अस्पताल कहाँ छ त ? डिलासैनीबाट एक दिनको बाटो धनगढीमा ! अनि पैसा ? कुटो कोदालो मात्रै गरिरहेकी पार्वतीसँग कहाँबाट हुनु ! बालबच्चाको लुगाफाटो, नुनतेलका लागि हजुरबाको वृद्धभत्ताको भर थियो । हजुरबा बितेको पनि अहिले त १३ महिना भइसक्यो । हजुरबा बितेपछि पार्वतीको हातले हजारको नोट समाउन निकै हम्मेहम्मे पर्थ्यो ।
अनि उनले भएको अलिकति खेत गाउँमै बन्धकी राखिन्, २० हजार रूपैयाँ लिइन् ।
यही पैसा लिएर पार्वतीले गाउँबाट चार-पाँच घण्टा हिँडेर छोरालाई गोकुलले ल्याइन् । गोकुलेबाट नाइट बस चढेर पार्वती बिरामी छोरासँग धनगढी लागिन् । गाडी चढेको दुई तीन घण्टामै रोशन बेहोस भयो ।
धामीगाउँबाट १३ घण्टाको बाटो पार गरेर रोशनलाई धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरियो ।
अस्पतालको आईसीयूमा पुगेका रोशनलाई त्यहाँ एक महिना जति राखियो । एक महिनामा उसलाई एन्टिबायोटिक दिइयो । त्यहाँ डक्टरले भने, ‘अहिले औषधि चलाइरहँदा हुन्छ । बिस्तारै अप्रेसन गर्दा हुन्छ ।’
०००
एक महिनामा अढाई लाख जति त अस्पतालको बिलमात्रै निस्कियो ।
कहाँबाट ल्याउने यत्रो पैसा ? पार्वती पैसाको बिल सुनेरै झण्डै ढलिन् । तर, यताउता आफन्तहरूसँग ऋणपान गरिन् । सँगै रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेलले एक पोस्ट गरिदिए । त्यहाँबाट ५४ हजार भन्दा बढी सहयोग उठ्यो । पार्वतीलाई ठूलो राहत भयो ।
जसोतसो माया मेट्रो अस्पतालको बिल बुझाइन् ।
रोशन अस्पतालबाट डिस्चार्ज भए । तर, उसलाई फेरि गाह्रो भयो । रातारात काठमाडौं ल्याइयो । पहिला टिचिङ अस्पताल लगियो । त्यहाँ त अप्रेसनका लागि एक वर्षपछि मात्रै पालो आउने रहेछ ! अनि रोशनलाई वीर अस्पताल ल्याइयो । गत पुस १ गते भर्ना गरियो ।
चेकजाँचपछि डक्टरले भने, ‘३ गते अप्रेसन गर्नुपर्छ ।’
‘तर, ३ गते अप्रेसन गर्न सकेनौं,’ पार्वती गाह्रो मानीमानी बोलिन्, ‘अप्रेसनको लागि चाहिने औषधिबाहेक चाहिने ५५ हजार पैसा थिएन । औषधिलाई झनै अप्रेसनकै दिन ४० हजार चाहिने थिएछ । त्यो पैसा खोज्न समय लाग्यो । अनि ऋणपान गरेर पैसा खोजेपछि मात्रै ४ गते बाबुको अप्रेसन भयो ।’
०००
अहिले रोशनको स्वास्थ ठिक छ ।
उसको दिमागबाट पीप झिकिएको छ । कान पनि सुन्छन् । दिमागमा पनि समस्या देखिएको छैन । बरु गाउँको स्कुल र कक्षाकोठा मिस गरिरहेका छन् । उसको डक्टर बन्ने सपना छ ।
नर्मल बेडमा सारिएका रोशनलाई डक्टरले चार दिनपछि डिस्चार्ज गरिदिन्छु भनेका छन् ।
तर, डिस्चार्ज हुने पैसा कहाँबाट ल्याउने ? पार्वतीलाई केही थाहा छैन । अहिले नै मेडिकलमा एक लाख २० हजार जति बिल पुगिसकेको छ । अझै चार दिन बस्दा कति खर्च हुने हो, पार्वतीलाई थाहा छैन । अस्पतालले कतिको डिस्चार्ज बिल थमाउने हो, त्यो पनि पार्वतीलाई थाहा छैन ।
अनि पैसाको व्यवस्थापन कसरी गर्नुहुन्छ नि ?
पार्वती अकमकिँदै भन्छिन्, ‘खै… धनगढीको अस्पतालमा पनि पैसा नभएर डिस्चार्ज भएपछि पनि चार-पाँच दिन बाबुलाई त्यहीँ राखेको । यहाँ पनि त्यत्रो पैसा कहाँबाट ल्याउने होला… !’
पार्वती आँट देखाउँछिन्, ‘अब आफन्तसँगै ऋणपान माग्छु । कसै न कसैले त देलान् नि ! अनि त्यो पैसा यतै ज्याला मजदुरी गरेर तिर्छु ।’
अस्पतालबाट डिस्चार्ज भएर मात्रै पार्वतीको दुःख सकिँदैन । काठमाडौंबाट झण्डै दुई दिन लाग्छ बैतडीको धामी गाउँ पुग्नु । गाडी भाडा मात्रै ४५ सय छ । सँगै बाटोमा तीन ठाउँ त भात मात्रै खानुपर्छ । काठमाडौंबाट चारजना जानुपर्छ ।
घर पुगेपछि पनि पार्वतीलाई सुख छैन । २० हजारमा बन्धकी राखेको खेत निखन्नु छ । पार्वती सुनाउँछिन्, ‘खेत फर्काउन सकिनँ भने त छोराछोरीलाई के खुवाएर पाल्नु !’
०००
Nabin jee 10-20 k i will give
मलाई कल गर्नुस् न हजुर,
9851108376
वा, उहाँको भतिजा पंकज धामीको नम्बर,-
9851274788
Nepal ma paisa nahune le upachar garna napaune nai ho? Desh ma almost 30 years dekhi communist Sarkar chha tara manchhe upachar garna nasakera yesto awastha chha.
बैंकको खाता नंवर राखी दिएको भए राम्रो हुन्थ्यो ।