परिणाममुखी काम गर्न सबै सीडीओ र सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिसँगको भर्जुअल बैठकमा उनले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सीमित स्रोत साधनकाबीच पनि गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले निर्देशन दिँदै भने, ‘अहिले चुनौतीका रुपमा देखा परेका तीन वटै विषय एक–अर्कासित सम्बन्धित छन् । त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस ।’ सीमामा हुने अपराध, चोरी,शिकारी नियन्त्रण, भ्रष्टाचार न्युनीकरण र आर्थिक अनियमिततामा शून्य सहनसिलताको नीति अपनाउन उनले आग्रह गरे ।
मन्त्रालयले कानूनी, नीतिगत र संरचनात्मक सुधारका काम अगाडि बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिँदै भने, ‘शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी हामीसित छ । विकास, स्मृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा हुनैपर्छ ।’
त्यसैगरी गृहसचिव गोकर्णमणि दुवाडीले नतिजा देखिनेगरी काम गर्न निर्देशन दिए । उनले सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिँदै गुनासोरहित सेवाप्रवाहमा ध्यान दिन जोड दिए । त्यसैगरी विपद् व्यवस्थापनका लागि पूर्वतयारी प्रभावकारी बनाउन गृहसचिव दुगाडीले निर्देशन दिँदै भने, ‘सार्वजनिक सम्पतिको संरक्षण र अतिक्रमण हटाउने विषयमा पनि जोड दिएर लाग्नुहोस । जिम्मेवारी र दायरामा रहेर काम गर्नुपर्छ ।’
भर्चुअल बैठकमा गृह मन्त्रालयको विभिन्न महाशाखाका प्रमुख, सुरक्षा निकायका प्रमुख, र देशभरका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला सुरक्षा समितिका पदाधिकारी सहभागी थिए ।