भूकम्पले चर्किएको भवनमा पठनपाठन, जोखिममा विद्यार्थी – Nepal Press

भूकम्पले चर्किएको भवनमा पठनपाठन, जोखिममा विद्यार्थी

कैलाली । बझाङको जयपृथ्वी नगरपालिका -११, टाउतोला स्थित नाननदेव आधारभूत विद्यालयका विद्यार्थीहरू भूकम्पले चर्किएको भवनमा पठनपाठन गर्न बाध्य भएका छन् ।

२०८० असोज १६ गते आएको भूकम्पले विद्यालयको भवनमा क्षति पुर्‍याएपछि विद्यार्थीहरूले डरै डरले अध्ययन गर्नुपरेको अवस्था छ ।

विद्यालयका प्रधानाध्यापक बउकास शाहीका अनुसार ६३ जना विद्यार्थी रहेको यो विद्यालयमा भूकम्पका कारण चर्किएको भवनमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । उनले स्थानीय सरकार र सम्बन्धित निकायलाई समस्या समाधानका लागि पटक पटक जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएको गुनासो गरे।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र रोकायाले विद्यालय भवन पुनर्निर्माणका लागि वडा, नगरपालिका र प्रदेश सरकारसँग अनुरोध गरे पनि अहिलेसम्म कुनै पहल नभएको बताए ।

उनका अनुसार चर्किएको भवनमा पठनपाठन गर्दा विद्यार्थीहरू जोखिममा परेको छन् ।

कक्षा २ मा अध्ययनरत छात्र उत्सव रोकायाले भने, ‘हामी डराउँदै पढिरहेका छौँ । विद्यालयको भवन भत्किएला भन्ने डरले ध्यान पढाइमा जाँदैन ।’

स्थानीय अभिभावकहरूले पनि विद्यालयको पुनर्निर्माणका लागि पहल गर्न सरकारसँग अपिल गरेका छन् । यस समस्याले विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको स्थानीय राम सार्कीले बताए ।

वडाको बजेटले भवन निर्माण गर्न नसकिने भएकाले असार मसान्त सम्म मर्मत सम्हार गर्ने भनेर योजना बनाएको जयपृथ्वी नगरपालिका ११का वडाध्यक्ष सर्जन थापाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर