‘प्रज्ञामा २७ बुँदे योजनासहित आएको थिएँ, तर स्रोतको सीमितताले गर्दा काम गर्न गाह्रो भयो’ – Nepal Press
नेपाल टक

‘प्रज्ञामा २७ बुँदे योजनासहित आएको थिएँ, तर स्रोतको सीमितताले गर्दा काम गर्न गाह्रो भयो’

प्रज्ञा-प्रतिष्ठानको आख्यान विभाग प्रमुख अमर न्यौपाने भन्छन्- यसले कसैलाई लेखक बनाउने होइन, अवसर सृजना गरिदिने हो

काठमाडौं । ‘पानीको घाम’, ‘सेतो धरती’, ‘करोडौं कस्तुरी’ र ‘गुलाबी उमेर’ !

हजारौं पाठकहरुको प्रिय लेखक बन्न अमर न्यौपानेलाई यी चार किताब नै काफी भइदिए । शिक्षक बनेर ह्वाइटबोर्डमा मार्कर धसारिरहेका उनले जसै किताबका पन्नाहरुमा कलम धसार्न थाले, न्यौपानेको जीवनको कोर्स नै बदलियो ।

ज्ञानको ज्योति बाँडेर विद्यालयका स-साना विद्यार्थीको मन जितेका न्यौपानेले आख्यानको सुवास फैलाएर पाठकहरुलाई मग्न बनाए । शिक्षकबाट लेखकको अवतारमा स्वरुप बदलेका न्यौपानेले पद्मश्री पुरस्कारदेखि मदन पुरस्कारसम्म जिते ।

बितेको १४ वर्षमा न्यौपानेले कमाएको भनेकै उल्लेखित किताबबाट हजारौं पाठकहरुको प्रेम हो । तिनै पाठकहरुको प्रेमपूर्ण इमेल, म्यासेज, फोन कलहरुले न्यौपानेको ओंठमा आजकल पनि मुस्कान भरिरहेको हुन्छ । तिनै पाठकहरुको मायाले न्यौपानेको हरेक दिन अर्थपूर्ण बनिदिन्छन् ।

हजारौं पाठकको मनमा डेरा जमाएर बसेका न्यौपानेको अचेलको ठेगाना हो, नेपाल प्रज्ञा-प्रतिष्ठान । बिहान १० देखि दिउँसो ४ बजेसम्म न्यौपाने प्रज्ञा-प्रतिष्ठानको आख्यान विभाग प्रमुखको च्याम्बरमा भेटिन्छन् । त्यही च्याम्बरमा बसेर नेपाली आख्यानबारे चिन्तनमनन गर्नु, नव-पुस्तालाई कसरी आख्यान लेखनमा प्रोत्साहन गर्न सकिन्छ भनेर सोच्नु, आख्यानमा नेपाली कला, संस्कृति, जातजाति, भूगोल, सभ्यता, इतिहासलाई सुन्दर ढंगले समेट्न सकिन्छ भनेर छलफल गर्नु ! झण्डै दुई वर्षदेखिको न्यौपानेको दैनिकी यसरी नै बितिरहेको छ ।

किनभने न्यौपाने नेपाल प्रज्ञा-प्रतिष्ठानमा प्राज्ञ छन् । नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्यप्रेमीको सिंहदरबार हो भन्दा फरक पर्दैन । किनभने नेपाली साहित्यको उन्नति र प्रगतिका खातिर सरकारी तवरबाट पहलकदमी लिने कुनै संस्था छ भने त्यो नेपाल प्रज्ञा-प्रतिष्ठान नै हो । त्यसैले त अग्रजदेखि अनुज पुस्तासम्मले नेपाल प्रज्ञा-प्रतिष्ठानप्रति अपेक्षाहरु राख्छन् । सँगै नेपाल प्रज्ञा-प्रतिष्ठानको तिखो आलोचना पनि गर्छन् ।

यी सबै विषयलाई समेटेर प्राज्ञ न्यौपानेसँग कुराकानी गर्न म प्रज्ञा-प्रतिष्ठान गएँ । प्रज्ञा-प्रतिष्ठानको डबलीमा स्कुले बच्चाहरु फोटो सेसनमा व्यस्त थिए । सायद कुनै विद्यालयको केही कार्यक्रम थियो । ती बच्चाहरु हेर्दै सोचें, ‘यी बच्चाहरुलाई भविष्यमा साहित्यप्रति अभिरुचि जगाउने काम पनि सायद प्रज्ञा-प्रतिष्ठानको जिम्मेवारीभित्र पर्छ, तर प्रज्ञा-प्रतिष्ठानको कार्यक्रम चाहिँ के के छ हँ ?’

म सरासर भर्‍याङ चढेर प्राज्ञ न्यौपानेको च्याम्बरमा गएँ । मृदुलभाषी न्यौपानेले मुसुक्क हाँसेर आतिथ्य दर्शाए । हामीले इन्द्रबहादुर राईदेखि वैरागी काइँला, तेस्रो आयामदेखि लीला लेखनसम्म कुराकानी गर्‍यौं । माधवप्रसाद घिमिरेदेखि सत्यमोहन जोशीसम्मका गफ गर्‍यौं ।

अनि हामी औपचारिक कुराकानीमा प्रवेश गर्‍यौंः

– प्राज्ञ भएर आख्यान विभाग प्रमुखको जिम्मेवारी लिइरहँदाको अनुभव कस्तो भइरहेको छ ?

एकदमै धेरै काम गर्ने योजना बनाएर प्रज्ञा-प्रतिष्ठानमा आएको थिएँ, तर बजेटकै कारणले गर्न सकिरहेको छुइनँ । आफूले चाहेका राम्रा काम गर्न आर्थिक कुरा एकदमै महत्वपूर्ण हुन्छ, त्यही चाहिँ यहाँ छैन ।

– अनि सरकारले १३-१४ करोड बजेट छुट्याइदिएको छ । हल भाडाबाट प्रज्ञा-प्रतिष्ठानको थप आम्दानी हुन्छ हैन र ?

यो पुरानो संस्था भएकाले तलब भत्तामै पैसा धेरै जान्छ । २०१४ सालमा स्थापना भएको संस्था भएकाले पेन्सन दिनुपर्ने हुन्छ । यहाँका आजीवन सदस्यहरुलाई मासिक रुपमा सेवा सुविधा दिनुपर्छ । अहिले प्रज्ञा-प्रतिष्ठानमा डेढ सय बढी कर्मचारी हुनुहुन्छ, उहाँहरुलाई सरकारी सेवा सुविधाअनुसार तलब दिनैपर्‍यो । यी यावत् कारणले अन्य सृजनात्मक क्षेत्रमा गर्नुपर्ने खर्च कम हुन्छ । सायद कुनै वेला सरकारले राम्रो बजेट छुट्याउला, त्यसपछि अझै थप राम्रो काम गर्न सकिन्छ ।

– सरकारले धेरै बजेट कहिले छुट्याउला त ?

खै, त्यो त सरकारलाई थाहा होला !

– प्रज्ञा-प्रतिष्ठान त जहिल्यै आलोचित भइरहेको हुन्छ, किन ?

मैले व्यक्तिगत रुपमा प्रज्ञा-प्रतिष्ठानका केही किताबहरु किनेर लिएँ होला, तर यहाँ प्राज्ञहरु बस्ने ठाउँमा कहिल्यै उक्लन परेको थिएन । म त एकान्तमा बसेर साधना गरिरहेको, समाजको अध्ययन गरिरहेको मान्छे । त्यसरी नै मेरो जीवन चलिरहेको थियो । अनि कुलपतिसहितको हामी ११ जनाको टीम यहाँ आएपछि आर्थिक रुपमा कमजोर भए पनि सकेको काम गरिरहेका छौं । त्यसैले हामी आशावादी हुनुपर्छ ।

– नेपाल प्रज्ञा-प्रतिष्ठानको आलोचना गर्नेहरुले प्रतिष्ठानको सीमितता नबुझेर गरेका हुन् कि यस संस्थासँग बढी नै अपेक्षा राखेर गरेका हुन् ?

यस्तो हो, मलाई चाहिँ के लाग्छ भने सृजनात्मक आलोचनाको एकदमै स्वागत गर्नुपर्छ ।

– प्रज्ञा-प्रतिष्ठानको बाध्यता र विवशता नबुझेर आलोचना गरेका हुन् कि अपेक्षा बढी भएर हो ?

दुईटै हो । म पनि आलोचना नै गर्थें । मलाई पनि यहाँको आन्तरिक कुरा केही थाहा थिएन, तर प्राज्ञ भएर आएपछि के बुझें भने यो भनेको सरकारी निकाय हो, यसले कसैलाई लेखक बनाउने होइन । लेखक बन्न चाहनेहरुलाई सहजीकरण गरिदिने हो । लेखकलाई अवसर सृजना गरिदिने हो ।

– अनि तपाईंहरु आएपछि चाहिँ प्रज्ञा-प्रतिष्ठानले कति अवसर सृजना गर्‍यो ?

हेर्नु, मैले त यहाँ आउनेवेला २७ वटा बुँदा बनाएको थिएँ । धेरै ठूलो सोचेर बुँदाहरु बनाएको थिएँ । कति थोक गर्न सकिन्छ होला भन्ने लागेको थियो, तर सकिएन ।

– तपाईं आफैं पनि आख्यान विभाग प्रमुख भएको हिसाबले कति लेखक तपाईंको विभागद्वारा लाभान्वित भए ?

यति नै भनेर वस्तुगत रुपमा त भन्न मिल्दैन । मेरै पहिलो किताब ‘पानीको घाम’ जीटीजेड नामक संस्थाको प्रोजेक्ट थियो । अहिले त्यो संस्था जीआईजेड भएको छ ।

जर्मनीको नगरपालिकाले २० हजार युरो दिएर, ६ महिनाको लागि घर दिएर लेखकलाई अध्ययन गर्न दिँदोरहेछ । त्यो परियोजनाअन्तर्गत मैले ‘पानीको घाम’ लेखेको हो । त्यो किताबमार्फत मैले पद्मश्री पुरस्कार पनि पाएँ ।

त्यस्तै प्रोजेक्टहरु प्रज्ञा-प्रतिष्ठानबाट सातै प्रदेशमा वर्षमा एक-एक जनालाई फेलोशिप दिए कति गजब हुन्थ्यो ! पाँच-पाँच लाख वा दश-दश लाखको फेलोशिप दिएर हाम्रो गाउँको कथा लेख्नुपर्छ, सध्यता लेख्नुपर्छ, संस्कृति लेख्नुपर्छ भनेर प्रज्ञा-प्रतिष्ठानबाट एक करोड बजेट छुट्याउन पाए कस्तो मज्जा हुन्थ्यो, तर त्यसो गर्न सकिएको छैन ।

– त्यसो गर्न नसकेको चाहिँ किन ?

आर्थिक रुपले कमजोर भएर हो । एउटा विभागमा पाँच-सात लाख हुन्छ । त्यतिले कति गर्नु ? मेरो विभागले प्रत्येक प्रदेशमा एक दिने आख्यान महोत्सव चाहिँ गर्ने गरेको छ । पोहोर सुदूरपश्चिम र लुम्बिनीमा भयो । अहिले चाहिँ कर्णाली र गण्डकीमा हुन्छ होला ।

– तपाईंले त प्रज्ञा-प्रतिष्ठानको कामै छैन जसरी भन्नुभयो नि ?

होइन, काम किन नहुनु ! यहाँ रिसर्चमूलक काम भएको छ । भाषाको बारेमा शब्दकोष परिमार्जनको काम भइरहेको छ । मातृभाषाको कार्यक्रम भइरहेको छ । यो अझै ग्रान्ड गर्नुपर्थ्यो, तर बजेट छैन ।

– प्रज्ञा-प्रतिष्ठानको आलोचना हुँदा ‘यो ठाउँ भनेको लेखकहरु तलब भत्ता खान नै सेटल्ड हुने ठाउँ हो’ मात्रै भनिन्छ नि ?

बजेट नभएपछि सरकारले काम गर्न सकेन, अनि यो देशमा सरकार नै चाहिएन भने जस्तो हो के त्यो त, तर त्यसो होइन नि त ! यसलाई राम्रो बनाउने पो हो त ! प्रज्ञा-प्रतिष्ठान चाहिएन भन्ने होइन ।

– यहाँ प्राज्ञ भएर जाने लेखकहरुलाई राजनीतिक च्यानल मिलाएर गएको भन्ने आरोप लाग्छ । त्यो कति स्वाभाविक र कति अस्वाभाविक हो ?

यहाँ हुने त राजनीतिक नियुक्ति नै हो । त्यो भन्दैमा सबै लेखक राजनीतिक पार्टीका हुँदैनन् । यहाँ राजनीतिक सदस्य नभएका, कुनै पार्टीमा नचिनिएका प्राज्ञहरु पनि छन् । जस्तो म चिनिएको छैन ।

– प्रज्ञा-प्रतिष्ठानलाई हिजोदेखि हेरेर, भोगेर आउनुभयो । आज प्राज्ञ बनेर छिर्नुभयो । बाहिरबाट जुन तवरको आलोचना हुन्छ, त्यस हिसाबले प्रज्ञा-प्रतिष्ठान आवश्यक छ कि छैन ?

म २०६० अगाडिसम्म प्रज्ञा-प्रतिष्ठानको कार्यक्रम हेर्नलाई मात्रै दर्शक बनेर चितवनबाट आएको छु । हलमा मान्छे नअटार उभिएर, सिँढीमा बसेर हेरेको छु । त्यसकारणले गर्दा प्रज्ञा-प्रतिष्ठानको महत्व नहुने कुरा भएन । प्रज्ञा-प्रतिष्ठानले निकालेका किताबहरु, विभिन्न भाषाहरुको शब्दकोषलगायत कामहरु गजब छन् । प्रज्ञा-प्रतिष्ठानकै कारण मैले ती किताब पढ्न पाएँ नि त !

– तपाईं प्राज्ञ हुन आवश्यक थियो कि थिएन ?

(लामो हाँसो) । यो त भन्दिनँ भाइ ! मलाई कस्तो लाग्छ भने ‘तपाईं लेखक हुन आवश्यक थियो कि थिएन, तपाईं लेखक हो कि होइन’ भनेर सोध्दा ‘म लेखक हो’ भनेर भन्न पनि मलाई अप्ठेरो लाग्छ । किनभने मैले यो परीक्षा दिएको होइन । मैले किताब ‘पानीको घाम’, ‘सेतो धरती’ राम्रो लेखेको हो भन्न मिल्छ र ? मिल्दैन नि !

– तपाईंले माधव घिमिरेदेखि वैरागी काइँलासम्मलाई प्रज्ञा-प्रतिष्ठानमा देखेर आउनुभयो । प्रज्ञा-प्रतिष्ठानको तिखो आलोचना गर्नेहरु पनि देखेर आउनुभयो । यी सबै कुरालाई राम्रोसँग बुझेको मान्छे तपाईं । के कारणले प्राज्ञ हुनुभयो ?

मैले बाहिरबाट मात्रै प्रज्ञा-प्रतिष्ठानलाई हेरेको थिएँ । भित्रबाट मैले बुझेको थिएन, तर यो अवसर आयो । अनि एक पटक भित्रै गएर हेरौं न त भनेर आएको हुँ । भोलि आइएला कि नआइएला ! यदि आइहालियो भने अहिले बुझेको अनुभवले त्यसवेला काम गर्ला ।

म केही गर्न सक्छु कि भनेर आएको हुँ । म लेखिरहेको मान्छे, सृजना गरिरहेको मान्छे हो । म साहित्यकार हो । अनि साहित्यकारहरु आउने ठाउँ नै यही हो ।

– अहिले दुई वर्ष प्राज्ञ भएर काम गरिसक्दाको अनुभवमा प्रज्ञा-प्रतिष्ठान कस्तो रैछ त ?

प्रज्ञा-प्रतिष्ठानको आफ्नो एकदमै धेरै साधन छन्, तर आर्थिक स्रोत कम छ । मैले यति महसुस गरेको छु ।

– तपाईं प्राज्ञ भइसकेपछि तपाईंको लेखन के भइरहेको छ ?

लेखनका लागि समय कम भएको छ । समय नै हुन्न । बिहान यहाँ आयो । साँझ घर फर्कियो । परिवारसँग गफगाफ गर्नैपर्‍यो ।

– तपाईंले अहिले आख्यान विभाग हाँकिरहँदा विभागले गरेको गर्व महसुस हुने काम केही छ ?

गर्व महसुस हुने काम गर्नै बाँकी छ ।

– उसो भए लेखक अमर न्योपानेले नियुक्तिमात्रै खाइरहेको हो त ?

मलाई गर्व गर्ने काम गर्न स्रोतको कारणले गाह्रो भएको छ, तर केही न केही काम गर्ने योजना चाहिँ छ ।

– विभागमा इमर्जिङ लेखकलाई दिने बजेट नै हुन्न भने त लेखकलाई गरिखाऊ भनेर थन्काउने ठाउँबाहेक प्रज्ञा-प्रतिष्ठानको अर्को उपादेयता देखिएन नि ?

त्यस्तो त भन्न मिल्दैन । आँपको रुखको एउटा पाटोमा अलि फल लागेन भनेर रुखै काटेर फाल्ने त होइन नि ! अर्को वर्ष राम्रो हुन्छ नि त ! अर्को वर्ष राम्रो बजेट आउला नि त !

– बीसौं वर्षदेखि प्रज्ञा-प्रतिष्ठानको हालत यस्तै छ त ?

एकदमै थोरै बजेटमा काम गर्न गाह्रो हुने रहेछ । मैले चाहिँ व्यक्तिगत रुपमा नयाँ पुस्ताका लेखकहरुलाई यसरी लेख्नुस् भनेर सल्लाह दिने गरेको छु । आज पनि कर्णालीको साथीले भेट्न आउँछु भन्नुभयो । उहाँले डोल्पाको कथा लेख्ने भन्नुभयो । मैले भनें, ‘पहिला बाटोको ट्रयाक खोल्नुस् । अनि ग्रावेल गर्नुस् । अनि पिच बनाउनुस् ।’

देशका विभिन्न ठाउँमा जाँदा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा अनुज पुस्तालाई एकदमै सल्लाह सुझाव दिने गरेको छु । अहिले प्रज्ञा-प्रतिष्ठानमा आएपछि गद्य साहित्य विभागको माध्यमबाट ठाउँ-ठाउँमा गएर लेखनको लागि सृजनात्मक कक्षाहरु लिने गर्छु ।

– यो काम त प्रज्ञा-प्रतिष्ठानभन्दा बाहिरै भएर पनि गर्न सक्नुहुन्थ्यो नि ?

गर्थें, तर अहिले प्राज्ञको रुपमा अझै राम्रोसँग गरिरहेको छु ।

– प्राज्ञ भएर त्यस्तो काम गर्दा र प्राज्ञ नभई गर्दा कति तात्विक फरक महसुस भयो ?

त्यस्तो तात्विक फरक केही हुँदैन । प्रज्ञा-प्रतिष्ठानबाट योजना बनाएर आर्थिक सहयोगको रुपमा पनि काम गर्न सकियो भने चाहिँ फरक पर्ला ।

– राजनीतिक पार्टीमा खुलेर नलाग्दा पनि तपाईंलाई प्राज्ञ सिफारिस गरियो है ?

त्यो त मलाई सोध्ने नै होइन (हाँसो)

– विगतदेखि जुन पार्टीको सरकार बन्छ, त्यही पार्टीसँग सम्बद्ध कवि लेखकहरु प्रज्ञा-प्रतिष्ठानमा आउने परिपाटी छ । तपाईंलाई चाहिँ राजनीतिक पार्टीमा नखुल्दा पनि प्राज्ञ सिफरिस गरियो । किन ?

मलाई थाहै छैन ।

– तपाईं यतिकै आउने भन्ने त हुँदैन नि !

यस्तो हो, म लेखक भनेर थाहा छ नि त ! छनोट कमिटीलाई थाहा थियो होला । कहिलेकाहीँ सन्तुलन मिलाउने पनि हुन्छ होला । देशभरिका सबै ठाउँ र भेगको मान्छे ल्याउने सन्दर्भ होला । अनुभवी अग्रज पुस्ता र युवा पुस्ताको प्रतिनिधित्व गराउने कुरा होला ।

– माओवादी पार्टी सरकारमा हुँदा तपाईंलाई प्राज्ञ सिफारिस गरियो । तपाईंले पार्टीलाई लेबी बुझाउनुपर्छ कि पर्दैन ?

पर्दैन । मैले भनें नि केही गर्नुपर्दैन (हाँसो) ।

– माओवादी पार्टीले सुरु गरेको दश वर्षे विद्रोहलाई चाहिँ कसरी लिनुहुन्छ ?

राजनीति र साहित्यमा फरक छ । साहित्यमा प्रत्येक व्यक्तिको वैचारिकी र शैली फरक हुनुपर्छ । नत्र त मैले किन लेख्ने ? तर राजनीतिमा त्यसो होइन । राजनीतिमा नेतृत्व हुन्छ । उसको नेतृत्वमा अनुशासनमा अरु कार्यकर्ता रहनुपर्छ, तर साहित्य बीपी कोइरालाले भने जस्तो अरुले नहिँडेको बाटो हिँड्न चाहन्छ । आफ्नो बाटो आफैं बनाउन चाहन्छ । हामीले जिन्दगी हिँड्ने बाटो पनि अलग हुन्छ ।

मेरो ‘पानीको घाम’मा विद्रोहको कथा पनि छ, तर मैले फरक तरिकाले चित्रण गरेको छु । किनभने लेखकले वकिल बनेर वकालत गर्ने होइन । लेखकले कुनै विचार, आन्दोलनको पक्ष र विपक्षमा वकालत गर्दैन । अन्तिममा कथाको कन्क्लुजन दिन न्यायाधीशको काम गर्दैन, फैसला सुनाउँदैन । नराम्रो पात्रलाई पनि लेखकले सिर्फ देखाउने मात्रै हो । अब माओवादीले सुरु गरेको विद्रोहबारे के भन्ने र ! संविधानले सशस्त्र विद्रोह भन्छ, उहाँहरु जनयुद्ध भन्नुहुन्छ । जे नाम दिए पनि कुरा त्यही हो ।

– त्यसो त होइन होला, ‘सशस्त्र’ र ‘जनयुद्ध’मा त फरक छ होला ?

अर्थ फरक छ, तर माओवादीले पनि बनाएको हो नि संविधान ! ऊ पनि सहभागी हो नि त । हामी यता नजाऔं । लेखकले कुनै कुरालाई यसरी चित्रण गर्छ कि उसले पाठकीय स्वतन्त्रतालाई आक्रमण गर्दैन । पाठकको पाठकीय निर्णय गर्न पाठकलाई नै दिन्छ । उसले केवल घटना, समाजको मनोविज्ञान, परिवेश र जीवन्ततालाई लेख्छ । उसले कुनै पक्षको वकालत गर्दैन । अन्तिममा न्यायाधीश बनेर फैसला पनि गर्दैन ।

– लेखक अमर न्यौपानेले वकालत नगर्ने गरी देखेको दश वर्ष चाहिँ कस्तो हो ?

त्यो विद्रोहको दुवै पक्ष छ । त्यसको उज्यालो पक्ष पनि छ, अँध्यारो पक्ष पनि छ । अँध्यारो पक्ष भनेको यसले गरेको विनाश पनि छ । कहिल्यै क्षतिपूर्ति नहुने मानवीय क्षति पनि छ र यसले दिएको सन्देश र परिवर्तन पनि छ ।

– तपाईंको ‘गुलाबी उमेर’ आएको पाँच वर्ष भइसक्यो । यो बीचमा नयाँ किताब आएन है ?

मैले पाण्डुलिपि धेरै लेखें, तर फाइनल एडिट गर्न बाँकी छ । व्यवहारिकता, काम, घरले गर्दाखेरि अलि ढिलो भएको छ ।

– पाँच वर्षको ग्याप छोटै हो ?

यो लामो हो नि ! मेरो व्यक्तिगत स्वभाव कस्तो छ भने म धेरै योजना बनाउँछु । पाइपलाइनमा धेरै किताब छन् । आउँदाखेरि उपन्यास आउँछ ।

– तपाईं प्राज्ञ हुँदा नै आउँछ ?

आउँछ ।

– प्राज्ञ हुँदा लेखनमा कति डिस्टर्ब भइरहेको छ ?

डिस्टर्ब त भएको छ । मेरो प्लान त कति धेरै छ लेखनको । इन्जिनियरले घर बनाउनुअघि जुन डमी बनाउँछ नि, त्यस्तो डमी त कति छन् कति । मलाई लगातार काम गर्न पाएँ भने क्या मज्जा आउँछ । ‘सेतो धरती’ लेख्दा एक महिनामा चार दिनमात्रै गेटबाट बाहिर निस्किएँ होला । त्यसरी लगातार काम गर्दा डिस्ट्राक्सन हुँदैन । फ्लो पनि मिल्छ । काम गर्न मजा पनि आउँछ ।

– तपाईंको लेखनको टेक्निक के हो ?

मैले प्रत्येक किताबमा फरक फरक टेक्निक अपनाएको छु । ‘पानीको घाम’ लेख्न म नेपालगञ्ज जाने भएँ । नेपालगञ्ज गएपछि कस्तो किताब लेख्ने त ? डिजाइन त बनाउनुपर्‍यो नि ! मानौं मैले घरको डिजाइन गरें । अनि फिल्डमा गएर गिटी, बालुवा, रड, झ्याल खोज्न नेपालगञ्ज जाँदैछु । मैले झ्यालमा सालको साटो अर्कै काठ पाएँ होला, तर मैले डिजाइनमा चाहिँ फिट गरें ।

म लेखनमा सबैभन्दा पहिला डिजाइन फिक्स गर्छु । केका लागि लेख्छु भनेर गोल प्वाइन्ट बनाउँछु । अनि त्यसलाई चाहिने पात्र, परिवेश खोज्छु । रिसर्च गर्छु । ‘सेतो धरती’ लेख्नुको पछाडि ८-९ वर्षदेखि दिमागमा आइरहेको एउटा लाइन थियो ।

लाइन के थियो भने भागेर होइन, भोगेरमात्रै जीवन सन्तुष्ट हुन्छ । तिर्खाएको मानिसलाई पानी पिएपछि मात्रै तिर्खा मेटिन्छ । उसलाई पानी देखाएर तिर्खा मेटिँदैन । पानीबारे बताएर उसको तिर्खा मेटिँदैन । पानीमा के के तत्व छ, जान्नुपर्दैन, तिर्खा मेटाउनलाई त्यो पानी पिउनुपर्छ ।

यो लाइन दिमागमा थियो । यसलाई कथा चाहियो नि त ! यसका लागि मलाई बाल विधवा पात्र सबैभन्दा उपयुक्त लाग्यो । पछि मैले त्यो पात्र भेटें पनि । उहाँलाई देवघाटमा भेटें । उहाँ त्यस्तो पात्र, जसको सात वर्षमा विवाह भएर नौ वर्षमा विधवा भएको छ । ऊ नितान्त ब्रह्माण परिवारको । कठोर नियममा हुर्किएको छ । देवघाटमा कपाल मुण्डन गरिरहनुपर्छ । शारीरिक परिवर्तन हुँदा पनि त्यही वस्त्र लगाइरहनुपर्ने । त्यसरी थिचिएको पात्र, अर्को विद्रोह गरेर जीवन भोगेको पात्र र अर्को चाहिँ सामाजिक संस्कारको कारण विद्रोहै नगरिकन जीवन भोगेको पात्रलाई लिएर किताब लेखें ।

‘पानीको घाम’मा डिजाइन के थियो भने प्रत्येक मान्छे स्वतन्त्र छन्, तर प्रत्येक मान्छे विभिन्न कारणले बाँधिएका छन् । कोही परिवारका कारण, कोही देशका कारण, कोही प्रेमका कारण, कोही पैसाका कारण बाँधिएका छन् । प्रत्येक मान्छे स्वतन्त्र हुँदाहुँदै एक-अर्कामा बाँधिएका छन् । मान्छे बन्धनभित्र स्वतन्त्र छ । यतिसम्म कि पृथ्वी त स्वतन्त्र छैन ! सूर्यलाई एक मिनेट फरक नपारिकन ग्रहहरुले घुमाउनु छ । हरेक ग्रह बाँधिएका छन् एक-अर्कामा र पनि अलग-अलग छन् । मान्छे पनि त्यस्तै हो ।

– अब प्राज्ञ हुन चाहिँ पुग्यो कि अझै थप हुने ?

अहिले चाहिँ म साक्षी भावमा छु । कामको कुरा गर्दा मैले पहिला पनि प्राज्ञिक नै गरेको हो । यहाँ आएर पनि गरिरहेकै छु । अब पनि गर्ने प्राज्ञिक काम नै हो । जहाँ भए पनि प्राज्ञिक काम गर्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *