भारतको सरकारी जागिर छाडेर मातृभूमिमा रमाएका ऋषिराम
प्रविधिसँगै स्थानीय उत्पादनको बजारीकरणमा यसरी जोडिए
रुपन्देही । पर्वतको पैयु गाउँपालिका वडानम्बर ४ का ऋषिराम वश्याल भारतमा सूचना प्रविधिमा स्नातक गरेर त्यहाँको रेलवेमा आर्कषक जागिर पाएका थिए ।
उनका बुवा पनि भारतमै सरकारी जागिरे थिए तर जन्मभूमिमा आफूले सिकेको सीपबाट केही नयाँ काम गरेर अगाडि बढ्ने उद्देश्यका साथ अध्ययनपछि उनी नेपाल फर्कने निर्णय लिएका हुन् ।
उमेरले ४२ पुगेका ऋषिरामका समकक्षीहरु गाउँमा बिरलै भेटिन्छन् । वृद्धवृद्धाहरु मात्रै भएको गाउँमा बसेर अहिले उनले प्रविधि सिकाउँदै गाउँका उत्पादनलाई ब्राण्ड बनाएर बेच्न थालेर नयाँ अभियान थालेका छन् ।
नेपालमा भविष्य छैन भनेर विदेशिने लहर चलेको वेला उनी भारतमा रेल वे को आकर्षक जागिर छोडेर नेपालमै केही गर्छु भनेर फर्केर थालेको यो अभियानले धेरै युवालाई सचेत मात्रै बनाएको छैन अध्ययन गरेर नेपालमै पनि केही गर्न सकिन्छ भन्ने बलियो उदाहरण पेश गरेका छन् उनले ।
अहिले गाउँमा ऋषिरामको यो अभियानबाट बाहिर जानेहरु पनि प्रविधि र सीपमा दक्ष बनेर जानसक्ने भएका छन् । त्यसो त ऋषिराम भारतमा अध्ययन गरेर नेपाल आउँदा गाउँमा कुनै विद्युत्को सुविधा नै थिएन । त्यस्तो ठाउँमा उनले आफै विद्युत्को उत्पादन गरेर कम्प्युटर शिक्षा दिन थालेका थिए । उनी अध्ययनका लागि १९९६ मा भारत गएको र २००२ मा अध्ययन सकाएर गाउँमै फर्केको बताउँछन् ।
‘पढ्न मैले सबै भारतमा पढेको हुँ, २३ वर्षको उमेरमा उताबाट यहाँ आएको हुँ, यहाँ काम थालेको पनि २० वर्ष भइसकेछ, अध्ययन सकाएर आएको, गाउँमा कम्प्युटरको केही शुरूवात नै थिएन । त्यसका लागि जरुरी पर्ने विजुली बत्ती नै थिएन । त्यो अवस्थामा स्थानीय प्रविधि प्रयोग गरेर आफ्नो ब्यक्तिगत लगानीमा गाउँमै १० किलोवाट विजुली निकालेर कम्प्युटर चलाउन थालेर अनौठो अनुभव संगालेको हुँ’ ऋषिराम भन्छन् ‘यो काम गर्नका लागि पनि मसँग कुनै रकम थिएन, यस्तो कामका लागि कसैले रकम पत्याउने कुरा पनि थिएन, यसको खर्चपर्चका लागि विवाहमा पाएको औठी वेचेको थिएँ । यसोगर्दा गाउँलेहरू छक्क परेका थिए तर गाउँमा पढ्ने बालबालिकाले पनि उज्यालोमा पढ्ने अवसर पाए, यसमै सन्तुष्ट भएँ ।’
त्यसो त उनले गाउँमा बस्दा एउटा मात्रै काम पनि गरेनन् । आम्दानी हुने र सिप सिकाउने धेरै काममा उनी जोडिएका कारण पनि सफल भएर टिक्न सकेको बताउँछन् ।
‘कम्प्युटर र हाइड्रो मिल्दो क्षेत्र भएकाले मलाई धेरै सजिलो भयो, गाउँमा आवश्यक पर्ने धेरै सानाखाले मेशिन आफै बनाउन जानेकाले मलाई धेरै काममा सजिलो भयो, अहिले कृषि क्षेत्रमा पनि त्यो सिपले निकै सहयोग गरेको छ’उनले भने‘फिजिक्स क्यामेष्ट्रीमा स्नातक गरेको हुँ, प्रविधिका विषयमा कम्प्युटरका विषयमा उतै पढेर आएको हुँ, त्यो सिकाइलाई मातृभूमिकै लगाउँ भनेर यहीँ काम गरेँ, म निकै सन्तुष्ट छु ।’
विद्यालय तहमा यसखालको पढाई नहुने, गाउँको उत्पादनको बजार ग्यारेन्टी नहुने, बाहिरी मेशिनरी समान अत्यधिक महंगो हुने र लगानी बढी हुँदा मुनाफा नभएका कारण धेरै मान्छेहरु कृषिमा आकर्षित नभएको उनको बुझाई छ ।
‘राजनीतिक तहमा, सरकारको नेतृत्व तहमा र कर्मचारीको नेतृत्व तहमै यसको बुझाई निकै कमजोर छ, प्राविधिक शिक्षाको अगुवाई कसैले गर्न सकेनन्, कृषिलाई उत्पादनमा ध्यान दिन सकेनन्, अब अनुदान उत्पादनमा दिनुपर्यो लगानीमा होइन’ उनले भने–‘सबै सिस्टम बिग्रेको छ, यसका लागि प्राविधिक जनशक्ति आवश्यक छ ।’
पहिले गाउँमा आफूले पढाएको, सिकाएको पढ्ने सिक्ने मान्छे भएपनि अहिले त्यो पिँढी नभएकाले चिन्ता बढाएको तर आफू नथाकेको ऋषिको भनाइ छ । ‘भारतमा सुविधासम्पन्न जागिर छाडेर यहाँ आएँ, अहिले यहाँ युवाशक्ति नै छैन, मलाई नै आवश्यक जनशक्ति यहाँ छैन, गाउँमा त यो विषय सुन्ने मान्छे पनि नहुने भयो अब । दक्ष जनशक्ति सबै बाहिर जाँदा गाउँमा वृद्धहरुको मात्रै बस्ने स्थान भयो’ उनले भने–‘स्थानीय स्रोतको सदुपयोग भएन, एकैजनाको हुटहुटीले मात्रै नहुने रहेछ मिसनको रुपमा धेरैले साथ दिए मात्रै उत्पादन र बजारीकरणको क्षेत्र बलियो बन्ने हो ।’
२० वर्षअघि गाउँमा कसैले नपत्याएको काम कम्प्युटर ईन्स्टिच्युट खोलेर सो काम सिकाउन थालेपछि अलिअलि पैसा भयो र पछि इन्टरनेटसमेत उपलब्ध गराउन थालेको उनले स्मरण गरे ।
‘नयाँ काम गर्ने हुटहुटी २२/२३ वर्षदेखिकै थियो । अहिले ४२ वर्षका भएँ । गाउँमा वेरोजगारी भएर युवा पलायन भएको मलाई चित्त बुझिरहेको छैन’ ऋषि भन्छन् –‘दुई वर्षअघि गाउँमा वेरोजगारी कम गर्न र अवसर सृजना गर्न सकिन्छ कि भनेर गाउँका केही युवालाई राखेर कुरा नयाँ काम गर्ने प्रस्ताव राखेँ, नयाँ काम थाल्ने र धेरै जनालाई रोजगार सृजना गर्ने उनको उद्देश्य थियो । जहाँ आवश्यकता त्यहाँ उपाय भनेजस्तै थोरै लगानीमा कोदो, आटो अदुवा, वेसारजस्ता गाउँका उत्पादनलाई पोखरा लगेर वेच्ने काममा सवै तयार भएपछि त्यही काम थालेको हुँ ।’
२५ जनालाई जोडेर कामको शुरू गरेपनि अहिले दुई जना मात्र उनीसँगै रहेका छन् । ‘अरू सवै थाकेर निस्के, कच्चा पदार्थ खोजेर पिस्ने र प्याकेजिङ गर्ने काम शुरू भयो । कोदो, फापर, चामलको पिठो, मकैको आटो, टिमुर, तेजपात, रायोको गुन्द्रुक, मस्यौरा, सिस्नोको धुलो आदिको कारोवार शुरू गरेको छु, बजार पोखराले मात्र धानेको छ । नजिकका अन्य बजारमा पनि जान थालेको छ’ उनले भने ।
‘गतवर्ष १८ लाखको कारोवार भएको थियो, पहिलो वर्षको सफलताले यो वर्ष ५० लाखको व्यापार गर्ने अनुमान गरेको छु । आजसम्म मेरो लगानी १० लाख जति पुगेको होला, यो भन्दा धेरैलाई अनौठो लाग्ला तर सत्य हो । मैले साना मेशिन आफै बनाएको छु बाहिर किन्ने मूल्यभन्दा निकै कम रकममा बनाएको छु ।’ उनले भने ‘यसबाट थाहा हुन्छ नविन सोच र बजारीकरणमा सफल हुँदा लगानी पनि धेरै चाहिदैन । मलाई यतिमै चित्त बुझेको छैन । किसानलाई आत्मनिर्भर नवनाएसम्म देश उघो लाग्दैन, न त उनीहरूले हामीलाई चाहिएको वस्तु दिन सक्छन् ? त्यसको लागि स्थानीय सरकारले नै यस्ता अभियान चलाउनुपर्छ ।’
ऋषिरामले कम्प्युटरको अध्यापन, विद्युत् उत्पादनसँगै अहिले अर्गानिक खाद्य प्रशोधन तथा प्याकेजिङ उद्योग चलाएपछि थप चर्चामा छन् । उनको यो अभियानलाई श्रीमति सिता भूर्तेल यसको व्यवस्थापनमा सघाउँछिन् । एक छोरा र छोरी कलेज पढ्न थालेका छन् ।
ऋषिराम मातृभूमिमा बसेर काम गर्न पाएकोमा सन्तुष्ट छन् । ‘सबैभन्दा ठूलो सन्तुष्टि हो नि, पैसो त मैले भारतमै जागिर गरेर कमाउन सक्थेँ, अहिलेसम्म रिटायर्ड भएर राम्रै पैसो लिएर आउनसक्थेँ तर मेरो मनले यही गर्ने सोच्यो, यसमै सन्तुष्ट छु सबै कुरा पैसोसँग तुलना हुँदैन’ उनले भने ।
ऋषिरामले गतवर्षदेखि उनले अकवरे खुर्सानीको परीक्षणमा लागेका छन् । ‘परीक्षण अवधिमा ४ सय वोट लगाएको थिएँ । त्यो सफल भएपछि धरानबाट प्रतिकिलो १८ हजार पर्ने बिउ ल्याएर आधा किलोको व्याड राखेँ । विरूवा वडा र पालिकालाई भनेर निःशुल्क वितरण गरेँ । खरिद गर्ने ग्यारेन्टी थियो । प्रयाप्त उत्पादन भयो । प्रतिकिलो २ सय रूपैयाँमा खरिद गरिदिएपछि किसानहरू पनि खुशी भए’ उनले भने–‘त्यो खुर्सानी विक्री हुने सम्भावना थिएन । ड्रायरमा सुकाएर विक्री गर्ने योजना बनाइयो । वजारीकरणका सिलसिलामा रूपन्देहीकै शक्ति फुड इण्डष्ट्रिजमा पठाएको हो । सुकाएको खुर्सानी १५ सयमा बिक्री गरेँ ।’ उनी भन्छन्–‘हाम्रो लगानी १२ सय भेटेको थियो । यसवाहेक प्याकेजिङ गरेर विदेशमा पठाएका छन् । राम्रो रेस्पोन्स आएको छ । अव विदेशमै पठाउने कुरामा विश्वस्त छु ।’
ऋषिराम अहिले आफूले सिकेको सीप सिकाउन र यसरी आफूले गरेका उत्पादनको बजारीकरणका लागि देशमा विभिन्न स्थानमा लाग्ने मेलामा प्रचार प्रसारमा जाने गरेका छन् । उनलाई विभिन्न संघसंस्थाले जलविद्युत्बारे जानकारी दिन, कृषि उत्पादनबारे जानकारी दिन र प्रविधिबारे जानकारी दिन बोलाउने गरेका छन् ।