कालिका मानवज्ञान माविको ‘फुड फेष्टिभल’
विद्यार्थीले पकाए अभिभावकले खाए
रुपन्देही । सामुदायिक विद्यालयमा देशमै उत्कृष्ट नतिजा ल्याउँदै आएको बुटवल १० स्थित कालिका मानवज्ञान माविमा फूड फेष्टिबल आयोजना गरिएको छ । अहिले यो विद्यालयमा साढे ८ हजार विद्यार्थी अध्ययनरत छन् भने नतिजा पनि त्यसैगरी राम्रो आइरहेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पाक कला प्रस्तुत गर्दै विभिन्न परिकार बनाएर अभिभावकहरुलाई खुवाएर आफ्नो प्रयोगात्मक शिक्षालाई उनीहरुले प्रदर्शन गरेका हुन् । बुटवल १० कालिकानगरमा सेक्टर १ र रामनगरमा रहेको सेक्टर २ मा एकै दिन अर्धवार्षिक परीक्षाको परीक्षाफल प्रकाशन सँगै फूड फेष्टिबल आयोजना गरिएको संयोजक इबराज तिवारीले जानकारी दिए ।
उनका अनुसार विद्यालयबाट नै लगानी गरेर विद्यार्थीहरुको पाक कलालाई प्रस्तुत गर्ने गरी यो कार्यक्रम आयोजना गरिएको हो । विद्यालयमा आयोजना गरिएको फेष्टिबलमा सहभागी विद्यार्थीहरुले नतिजा लिन विद्यालयमा आएको अभिभावकहरुले आफ्ना विद्यार्थीले पकाएको परिकार चाख मानेर उपभोग गरेका थिए ।
विद्यालयले खानाका परिकारहरुको मेन्यू बनाएर विभिन्न स्टल निर्माण गरी विद्यार्थीहरुले परिकार बनाएका हुन् । फ्रेन्च फ्राई, भेज पकौडा, चिकन रोष्ट, चिकन चिल्ली, मःम, खिर, अचार, प्याज पकौडा, हलुवा अचार, पनिर पकौडा, कफी, पर्पकन, सेलरोटी अचार, बटुकलगायतका परिकारहरु बनाएर प्रदर्शन तथा बिक्री गरेको संयोजक तिवारीले जानकारी दिए ।
खाना महोत्सवमा कक्षा ११ को होटल म्यानेजमेन्ट अध्यायन गर्दै गरेका विद्यार्थीहरुले समेत आफ्नो सीप र कौशल प्रस्तुत गरेका थिए । कक्षा ७ देखि कक्षा ११ सम्मका विद्यार्थीहरुको सहभागितामा खाना महोत्सव गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।
विद्यार्थीहरुमा रहेको पाक कला प्रदर्शन, सिकाई उपलब्धीको लागि यी र यस्ता प्रदर्शनी विद्यालयले आयोजना गर्दै आइरहेको थापाको भनाइ छ । साथै बाल कक्षा देखि कक्षा १० सम्मको दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशनसमेत गरिएको विद्यालयका परीक्षा संयोजक युवराज कण्डेलले जानकारी दिए ।
विद्यालयको सेक्टर २ रामनगरमा पनि नतिजा प्रकाशनसहित खाना महोत्सव सम्पन्न गरिएको अतिरिक्त क्रियापकलाप संयोजक रेजिन केसीले जानकारी दिइन् । विद्यालयमा पुस्तक प्रदर्शनसमेत राखिएकाले विद्यार्थीहरुले चाख दिएर विद्यालय कोर्ष र अतिरिक्त पुस्तकसमेत किन्नुको साथै प्रदर्शनमा चाख दिएर सहभागिता जनाएको सेक्टर २ इन्चार्ज कृष्ण गौतमले जानकारी दिए ।
सेक्टर २ का विद्यार्थीहरुले खानाका थप परिकारमा भट्मास साँदेको, चुकौनी, आलु चना लगायतका परिकार बनाएका थिए । न्युनतम ३० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँको खानाको परिकार निर्माण गरेको विद्यालयका अतिरिक्त क्रियाकलपा संयोजक विवेकराज पोखरेलले जानकारी दिए ।
विद्यालयमा नेपाल नियमित रक्तदाता संघको संमन्वयमा वृहत रक्तदान गरिएको थियो । जसमा विद्यार्थीहरुले उत्साहपूर्वक रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।