रिटर्नी फेडेरेसनको दोस्रो राष्ट्रिय महाधिवेशन चैत १५ र १६ मा हुने – Nepal Press

रिटर्नी फेडेरेसनको दोस्रो राष्ट्रिय महाधिवेशन चैत १५ र १६ मा हुने

काठमाडौं । रिटर्नी फेडेरेसनले आफ्नो दोस्रो राष्ट्रिय महाधिवेशन चैत १५ र १६ गते गर्ने तय गरेको छ । फेडेरेसनको केन्द्रीय सचिवालयको २९औं बैठकले उक्त निर्णय गरेको हो ।

सातवटै प्रदेश कमिटीका अध्यक्षहरु र सबै आयोग अध्यक्षहरुको समेत सहभागिता रहेको बैठकले चैत १५ र १६ मा दोस्रो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने अध्यक्ष अधिकारीको प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।

यसअघि २०७९ चैत ११ र १२ मा फेडेरेसनको प्रथम महाधिवेशन काठमाडौंमा भएको थियो । फेडेरेसनको विधानले प्रत्येक २ वर्षमा महाधिवेशन आयोजना हुने व्यवस्था गरेको छ ।

बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा फेडेरेसनका इन्चार्ज डा. कृष्णबहादुर केसीले फेडेरेसनका सबै गतिविधि चित्तबुझ्दो हिसाबले अघि बढिरहेकाले सहज ढंगमा महाधिवेशन सम्पन्न हुने र त्यसका लागि संगठनले अघि सारेका सदस्यता विस्तार, कमिटी विस्तार र सबै कमिटीको अधिवेशन समयमै सम्पन्न गर्न जिम्मेवारीभित्र रहेका सबैले संवेदनशील भएर बाँकी रहेको समयमा भरपुर योगदान गर्नुपर्नेमा जोड दिए ।

बैठकले विधान संशोधन प्रस्ताव उपसमितिको संयोजकमा अनुशासन आयोगका अध्यक्ष दिलकिरण खजुम र महाधिवेशन निर्देशिका निर्माण उपसमितिको संयोजकमा कार्यवाहक महासचिव भरत शिवाकोटीलाई जिम्मेवारी तोकेको छ ।

बैठकमा अध्यक्ष अधिकारीले संगठनले रिटर्नीहरुको राजनीतिक, सामाजिक र आर्थिक समायोजनका तीन वटै क्षेत्रका कामलाई गति दिन रिटर्नी फेडेरेसन, रिटर्नी नेटवर्क र सहयोगी इन्भेस्टमेन्ट कम्पनी लिमिटिेड समग्र रिटर्नी अभियानको ओदानका तीनवटा खुट्टाको रुपमा लिएर अघि बढ्नु आजको आवश्यकता, जिम्मेवारी र न्यूनतम सांगठनिक दायित्व ठहर्ने हुँदा यसैको आधारमा तीन वटा निकायबीचको अन्तरसम्बन्ध स्थापित गर्दै संगठनमा आवद्ध सबै सदस्यहरुलाई तीन वटै अभियानमा अनिवार्य जोडिएर अघि बढ्न निर्देशन दिए ।

बैठकले केही आयोगमा रिक्त रहेको पदपूर्ति गर्नुका साथै सदस्यता विस्तारसँग जोडिएका संगठनका सबै विषयलाई माघ १५ सम्मको लागि निरन्तरता दिने निर्णयसमेत गरेको छ ।

यतिवेला फेडेरेसनको स्थानीय तह कमिटी र जिल्ला कमिटीका अधिवेशन धमाधम आयोजना भैरहेका छन् । फेडेरेसनले एक महिना महाधिवेशन तयारीका लागि समय व्यवस्थापन गर्दै त्यसअघि जिल्ला र प्रदेश कमिटीका सबै अधिवेशन सम्पन्न गरिसक्ने योजना अघि सारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर