मगर साहित्य महोत्सवको निरन्तरताका लागि छुट्टै कोष स्थापना – Nepal Press

मगर साहित्य महोत्सवको निरन्तरताका लागि छुट्टै कोष स्थापना

रुपन्देही । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा गत मंसिर २१ र २२ गते बुटवलमा सम्पन्न प्रथम मगर साहित्य महोत्सवको शनिबार समीक्षा सम्पन्न भएको छ । महोत्सवमा भएका विभिन्न गतिविधिको समीक्षासहित कार्यक्रम सम्पन्न गर्न संकलित आम्दानी तथा खर्चसमेत सार्वजनिक गरिएको छ ।

मगर महिला संघ रुपन्देहीकी अध्यक्ष निर्मला थापाले आगामी वर्षमा समेत सम्मेलनलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन् ।

महोत्सवले मगर समुदायका इतिहासबारे नयाँ पुस्तालाई जानकारी गराउनुका साथै वर्तमान अवस्था र भविष्यको यात्राका बारेमा समीक्षा गर्ने अवसर प्राप्त भएको उनले उल्लेख गरिन् ।

समीक्षा बैठकमा नेपाल मगर सघका सह–अध्यक्ष दलबहादुर विरकट्टा मगरले महोत्सव ऐतिहासिक र सफल भएको उल्लेख गरे ।

सामाजिक र राजनीतिक रुपमा मगर समुदायको मुद्दालाई उठान गर्ने मात्र नभई आर्थिक रुपमा समेत पारदर्शी भएर महोत्सव सफल देखिएको उनको भनाइ छ ।

महोत्सव आयोजक समितिका प्रवक्ता शंकर गाहाले लामो समयको अभ्यास, अनुभव र व्यक्तित्वहरुको सहयोगले कार्यक्रम सफल भएको उल्लेख गरे ।

मगर समुदायको संस्कार, संस्कृति र पहिचानलाई जोगाउँदै पुस्तान्तरणका लागि नयाँ दस्तावेज थप्ने काम महोत्सवले गरेको उनले बताए ।

महोत्सव आर्थिक समितिमा संयोजक देवेन्द्र रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै महोत्सव सफल बनाउन संस्थाले २० लाख बढी खर्च अनुमान गरे पनि कुल १७ लाख ३५ हजार ७१० रुपैयाँ खर्च भएको प्रतिवेदन पेश गरे ।

संस्थाले कार्यक्रम सफल बनाउन क्यूआर कोडबाट १ रुपैयाँ दान अभियानदेखि विभिन्न सरकारी निकाय, स्थानीय सरकार, सामाजिक संघ–संस्था, विदेशका विभिन्न मुलुकमा रहेका व्यक्तिहरुबाट कुल २२ लाख ९४ हजार ६२२ रुपैयाँ रकम संकलन भएको प्रतिवेदनमा उल्लेख गरे । यसबाहेक प्रतिबद्धता प्राप्त भएको ४ लाख बढी रकम उठ्न बाँकी रहेको संयोजक रानाले जानकारी गराए ।

महोत्सवबाट बचत भएको रकमलाई छुट्टै कोष स्थापना गरी आगामी वर्षमा समेत निरन्तरता दिइने बताइएको छ । महोत्सवमा मातृ भाषामा कविता बाचन प्रतियोगिता, सामाजिक, आर्थिक, सांस्कृतिक तथा ऐतिहासिक विषयमा ७ वटा प्यानल डिस्कशन, चित्रकला प्रदर्शनी, पुस्तक विमोचन, पुस्तक प्रदर्शनी, साँस्कृतिक झाँकी तथा कला प्रदर्शनलगायतका गतिविधि सञ्चालन गरिएको थियो ।

यसैगरी आदिकवि जितबहादुर सिंजाली तथा रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरी वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका पूर्वसम्पादक खिलध्वज थापा मगरलाई सम्मान गरिएको थियो । महोत्सवमा स्थापना गरिएको गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कारबाट नेपाल मगर संघ सहअध्यक्ष गंगा खासुमगरलाई प्रदान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर