नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा श्रेष्ठ चयन
काठमाडौं । नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा मनोजबाबु श्रेष्ठ चयन भएका छन् ।
महासंघको शनिवार सम्पन्न तेस्रो महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति निर्विरोध रूपमा चयन गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्ष दुई जना कमल अग्रवाल र हरि गौतम र प्रथम उपाध्यक्षमा दुई जना लक्ष्मी खड्का र हरि पाण्डे चयन भएका छन्।
यस्तै दुई महिलासहित १३ उपाध्यक्षमा क्रमशः गणेशकुमार न्यौपाने, गोरख बहादुर थापा,कुसुम महर्जन, दीपकचन्द्र प्रधान, रामप्रसाद अवाल, जयकृष्ण शर्मा, प्रावती पौडेल भट्ट, धीरेन्द्र रिजाल, मिलन श्रेष्ठ, शिव प्रसाद ढकाल, सागर शाक्य, रामकुमार तिमिल्सिना र लेखनाथ पौडेल चयन भएका छन् ।
यसैगरी महासचिवमा नवीन लुइँटेल, उपमहासचिवमा रामकुमार पण्डित, नारायण प्रसाद न्यौपाने र नवराज भण्डारी, कोषाध्यक्षमा हिमलाल खराल, सहकोषाध्यक्षमा यमुना श्रेष्ठ र राजमनि भट्टराई र त्रिलोचन सुवेदी चयन गरिएको छ । किशोरकुमार गौतम, केदार न्यौपाने लगायत सात सचिवमा चयन गरिएको छ ।
विसं २०७३ मा स्थापना भएको महासंघमा देशभरका २२ संघहरू आबद्ध छन् । हाल महासंघमा देशभरका १० हजारभन्दा बढी सदस्य आबद्ध रहेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उनले साना तथा घरेलु उद्योगी व्यवसायीहरूको हकहित र अधिकारका लागि काम गर्ने बताए। उनले व्यवसायीहरूका समस्या समाधानका लागि पहल गरिने बताए।